काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ बुधबार फेरि ह्वात्तै बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ तोलामै ९०० रुपैयाँ बढेको छ। यो बढोत्तरीसँगै प्रतितोला छापावाल सुन ८८ हजार ६०० रुपैयाँ र तेजाबी सुन ८८ हजार १६० रुपैयाँ कायम भएको छ। यो भाउ नेपालकै इतिहासमा उच्च पनि हो।

हिजो पनि सुनको तोलामा २०० रुपैयाँ बढ्दै छापावाल सुन ८७ हजार ७०० रुपैयाँ र तेजाबी सुन ८७ हजार २६५ रुपैयाँ कायम भएको थियो। 

अस्ति सोमबार तोलामा १०० रुपैयाँ बढेर छापावाल सुन प्रतितोला ८७ हजार ५०० रुपयाँ र तेजाबी सुन ८७ हजार ६५ रुपैयाँ कायम भएका थियो। 

लकडाउनको ७५ दिनपछि आइतबार कारोबार खुल्दा कारोबार एकैपटक तोलामा १० हजार ४०० रुपैयाँ बढेर प्रतितोला छापावाल सुन ८७ हजार ४०० रुपैयाँ कायम भएको थियो। तेजाबी सुन भने १० हजार २६० रुपैयाँ बढेर प्रतितोला ८६ हजार ९६० रुपैयाँ कायम भएको थियो। 

गत वर्ष चैत ११ गतेदेखि मुलुकभर कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन जारी राखिएको छ। लकडाउनअघि गत वर्ष चैत १० गते प्रतितोला छापावाल सुन ७७ हजार रुपैयाँ र तेजाबी ७६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। 

यसैगरी चाँदीको भाउ मंगलबार स्थिर रहँदै ९३० रुपैयाँ नै कायम भएको छ। हिजो सोमबार चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेर ९३० थियो। 

अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय सुनको भाउमा उछालको अवस्था देखिएको छ। कोरोनाभाइरस महामारीका कारण विश्व अर्थतन्त्र अधोगतिमा गएपछि लगानीकर्ताहरुले ‘लगानीको स्वर्ग’ मानिएको पहेँलो धातुमा सुरक्षित लगानी गर्ने क्रम बढेपछि भाउमा उछाल आएको हो।

विश्लेषकहरु सुनको भाउमा अचाक्ली बढोत्तरी हुनुले विश्व अर्थतन्त्र कहालीलाग्दो मन्दीतर्फ धकेलिएको संकेतका रुपमा बुझ्ने गर्छन्। विश्व बजारको त्यही प्रभाव नेपालको सुनचाँदी बजारमा समेत परेको हो।