काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ तोलाको ९० हजार रुपैयाँ नजिक पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा एकैदिन १ हजार रुपैयाँ बढेको छ। यो बढोत्तरीसँगै प्रतितोला छापावाल सुन ८९ हजार ६०० रुपैयाँ र तेजाबी सुन ८९ हजार १६० रुपैयाँ कायम भएको छ। यो भाउ नेपालकै इतिहाससम्म हालसम्मकै उच्च पनि हो। 

हिजो बुधबार सुनको भाउ तोलामा एकैदिन ९०० रुपैयाँको बढोत्तरी भएको थियो। यो दिन प्रतितोला छापावाल सुन ८८ हजार ६०० रुपैयाँ र तेजाबी सुन ८८ हजार १६० रुपैयाँ कायम भएको थियो। 

गत मंगलबार पनि सुनको तोलामा २०० रुपैयाँ बढ्दै छापावाल सुन ८७ हजार ७०० रुपैयाँ र तेजाबी सुन ८७ हजार २६५ रुपैयाँ कायम भएको थियो। सोमबार तोलामा १०० रुपैयाँ बढेर छापावाल सुन प्रतितोला ८७ हजार ५०० रुपयाँ र तेजाबी सुन ८७ हजार ६५ रुपैयाँ कायम भएका थियो। 

लकडाउनको ७५ दिनपछि आइतबार कारोबार खुल्दा कारोबार एकैपटक तोलामा १० हजार ४०० रुपैयाँ बढेर प्रतितोला छापावाल सुन ८७ हजार ४०० रुपैयाँ कायम भएको थियो। तेजाबी सुन भने १० हजार २६० रुपैयाँ बढेर प्रतितोला ८६ हजार ९६० रुपैयाँ कायम भएको थियो। 

लकडाउनबीच गत आइतबारबाट सुनचाँदी कारोबार खुलेसँगै सुनको भाउ तोलामै १२ हजार ६०० रुपैयाँ बढिसकेको छ।

गत वर्ष चैत ११ गतेदेखि मुलुकभर कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन जारी राखिएको छ। लकडाउनअघि गत वर्ष चैत १० गते प्रतितोला छापावाल सुन ७७ हजार रुपैयाँ र तेजाबी ७६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। 

यसैगरी चाँदीको भाउ बिहीबार तोलामै २० रुपैयाँ बढ्दै ९५० रुपैयाँ कायम छ। चाँदी प्रतितोला मंगलबार बुधबार ९३० रुपैयाँ कायम भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय सुनको भाउमा उछालको अवस्था देखिएको छ। कोरोनाभाइरस महामारीका कारण विश्व अर्थतन्त्र अधोगतिमा गएपछि लगानीकर्ताहरुले ‘लगानीको स्वर्ग’ मानिएको पहेँलो धातुमा सुरक्षित लगानी गर्ने क्रम बढेपछि भाउमा उछाल आएको हो।

विश्लेषकहरु सुनको भाउमा अचाक्ली बढोत्तरी हुनुले विश्व अर्थतन्त्र कहालीलाग्दो मन्दीतर्फ धकेलिएको संकेतका रुपमा बुझ्ने गर्छन्। विश्व बजारको त्यही प्रभाव नेपालको सुनचाँदी बजारमा समेत परेको हो।