काठमाण्डौ। नेपाली बजारमा सुनको भाउ अब तोलाकै ९१ हजार रुपैयाँ पर्ने भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ४०० रुपैयाँ बढ्दै छापावाल सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको हो। त्यस्तै तेजाबी सुन पनि प्रतितोला ९० हजार ५६५ पुगेको छ। तेजाबी सुनमा पनि आज तोलामा ४०५ रुपैयाँ बढेको छ। यो भाउ नेपाली सुन बजारको इतिहासमा हालसम्मकै उच्च हो। 

हिजो आइतबार तोलामा एकैदिन ७०० रुपैयाँ बढ्दै प्रतितोला छापावाल सुन ९० हजार ६०० रुपैयाँ र तेजाबी सुन ९० हजार १६० रुपैयाँ कायम भएको थियो। 

चाँदीको भाउ पनि सोमबार हालसम्म उच्च विन्दुमा पुगेको छ। चाँदी तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला ९५० रुपैयाँ कायम भएको  छ। हिजो आइतबार पनि चाँदीको भाउ १० रुपैयाँले बढ्दै प्रतितोला ९४० रुपैयाँ कायम भएको थियो।  

अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय सुनको भाउमा उछालको अवस्था देखिएको छ। कोरोनाभाइरस महामारीका कारण विश्व अर्थतन्त्र अधोगतिमा गएपछि लगानीकर्ताहरुले ‘लगानीको स्वर्ग’ मानिएको पहेँलो धातुमा सुरक्षित लगानी गर्ने क्रम बढेपछि भाउमा उछाल आएको हो।

विश्लेषकहरु सुनको भाउमा अचाक्ली बढोत्तरी हुनुले विश्व अर्थतन्त्र कहालीलाग्दो मन्दीतर्फ धकेलिएको संकेतका रुपमा बुझ्ने गर्छन्। विश्व बजारको त्यही प्रभाव नेपालको सुनचाँदी बजारमा समेत परेको हो।