काठमाण्डौ। नेपाली बजारमा सुनको भाउले आज बुधबार ऐतिहासिक उचाइ हासिल गरेको छ।

पछिल्लो दुई सातायता लगातार उकालो लागेको सुनको भाउमा हिजो मंगलबार गिरावट आए पनि आज बुधबार फेरि ऐतिहासिक उचाइमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ५०० रुपैयाँ बढ्दै प्रतितोला छापावाल सुन ९१ हजार १०० रुपैयाँ र तेजाबी सुन ९० हजार ६६५ रुपैयाँ कायम भएको हो। यो नेपालकै इतिहासमा सुनको उच्च मूल्य हो। 

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि लकडाउन जारी रहेको छ। त्यसबीच सुनचाँदी व्यवसाय पनि चैत ११ गतेदेखि बन्द रहेकोमा गत जेठ २५ गतेबाट खुलेको थियो। त्यसयता लगातार बढिरहेको सुनको भाउ मंगलबार पहिलोपटक घटेको थियो। 

सुनको भाउ मंगलबार तोलामा ४०० रुपैयाँ गिरावट आएको थियो। यो गिरावटसँगै प्रतितोला छापावाल सुन ९० हजार ६०० रुपैयाँ र तेजाबी सुन ९० हजार १६० रुपैयाँ कायम भएको थियो। 

गत सोमबार तोलामा ४०० रुपैयाँ बढ्दै छापावाल सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको थियो। त्यस्तै तेजाबी सुन पनि प्रतितोला ९० हजार ५६५ पुगेको थियो। तेजाबी सुनमा हिजो तोलामा ४०५ रुपैयाँ बढेको थियो। यो भाउ नेपाली सुन बजारको इतिहासमा हालसम्मकै उच्च पनि हो। 

गत आइतबार तोलामा एकैदिन ७०० रुपैयाँ बढ्दै प्रतितोला छापावाल सुन ९० हजार ६०० रुपैयाँ र तेजाबी सुन ९० हजार १६० रुपैयाँ कायम भएको थियो। 

यसैगरी चाँदीको भाउ बुधबार तोलामा ५ रुपैयाँले बढेर ९५४ रुपैयाँ कायम भएको छ। हिजो मंगलबार तोलामा १० रुपैयाँ घट्दै चाँदीको भाउ ९४० रुपैयाँ कायम भएको थियो।