काठमाण्डौ । नेपाली बजारमा सुनको भाउमा दिनदिनै उछाल आइरहेको छ। यो क्रम आज बिहीबार पनि निरन्तरता पाएको छ।

आज पनि सुनको भाउ तोलामै १ हजार १०० रुपैयाँ बढेको छ। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड १ लाख २ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

बिहीबारको यो भाउ नेपाली सुन बजारमा हालसम्मकै उच्च पनि हो।

हिजो बुधबार तोलामै १ हजार ६०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९०० रुपैयाँ कायम भएको थियो। 

गत मंगलबार सुनको भाउ तोलामा २०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९९ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार ३६५ रुपैयाँ कायम भएको थियो। 

गत आइतबार तोलामा ३०० रुपैयाँ बढ्नै प्रतितोला फाइन गोल्ड ९९ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार १६० रुपैयाँ कायम भएको थियो। गत सोमबार भने सुनको भाउ स्थिर रहेको थियो। 

समग्रमा यो साता बिहीबारसम्म सुनको भाउ तोलामै ३ हजार २०० रुपैयाँ बढिसकेको छ। 

यसैगरी चाँदीमा पनि दिनदिनै उछाल आइरहेको छ। आज बिहीबार पनि तोलामै ५० रुपैयाँ बढ्दै चाँदीको भाउ १ हजार ३४५ रुपैयाँ कायम भएको छ। चाँदीको यो भाउ हालसम्मकै उच्च हो।

हिजो बुधबार पनि तोलामै ६५ रुपैयाँ बढ्दै चाँदीको भाउ १ हजार २९५ रुपैयाँ कायम भएको थियो।  

कोरोना महामारीबाट थला परेको विश्व अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न देशका केन्द्रीय बैंकहरुले न्यून ब्याजदर र पुनरुत्थानका योजनाहरु ल्याएकाले सुनको मूल्य उकालो लाग्न सहयोग पुगेको हो। अर्कोतर्फ अन्य लगानीका तुलनामा कम उतारचढाव हुने हुँदा सुनलाई अनिश्चित समयका बेला ‘सेफ हेभेन’ का रुपमा लिइने हुँदा सुनमा लगानी गर्नेको ओइरो लागेको छ। जसका कारण विश्व बजारमा सुनको माग बढ्नुका साथै मूल्य पनि आकासिएको हो। यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि परेको विज्ञहरु बताउँछन्।

यो वर्ष अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ १९ प्रतिशतले वृद्धि भइसकेको छ। विज्ञहरुका अनुसार सुनको भाउ अझै बढ्ने अनुमान गरेका छन्। उनीहरुले अबको एक वर्षभित्र सुनको भाउ प्रतिऔँस २५ सय डलर पुग्ने अनुमान गरेका छन्। यो हिसाबले नेपालमा सुनको भाउ अबको एक वर्षको अवधिभित्र तोलाकै १ लाख २८ हजार रुपैयाँ बढी पुग्ने सम्भावना रहेको छ।