काठमाण्डौ । तपाईसँग भएको सुनचाँदी वा यस्तै बहुमूल्य धातु धितोको रुपमा राखेर ऋण लिनुभएकै होला । पछिल्लो समय धेरै बैंक तथा बित्तीय संस्थाहरुमा धितोको रुपमा राखिएका सुनचाँदीका गहना नक्कली भेटिएपछि र कर्मचारीले नै फट्याई गरेपछि यस्तो सामान धितोको रुपमा लिएर कर्जा प्रवाह गर्ने काम ठप्पप्राय छ । 

बैंकहरुले ऋण नदिएपछि सर्वसाधारण सुनचाँदी व्यवसायीमा आफूसँग भएको सुनचाँदी धितो राखी महंगो ब्याजदरमा ऋण लिन बाध्य छन् । 
तर, अब सुनचाँदी जस्ता बहुमूल्य धातुलाई धितो राखेर ऋण होेइन, यस्ता धातु निक्षेपको रुपमा बैंकमा जम्मा गरी ब्याज पाइने भएको छ । 
अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६÷७७ को बजेटमा सुनचाँदी र यस्तै बहुमूल्य धातुलाई समेत बैंकमा निक्षेपको रुपमा राख्न सकिने व्यवस्था गरेका हुन् । 

बजेटमार्फत भएको यो व्यवस्थालाई कार्यान्वयनमा लैजाँदा कुन मोडालिटी बनाइन्छ, त्यो विषय नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत प्रष्ट पार्ला नै, तर विल्कुलै नौलो उपकरणको विषय बजेटमा समेटिएसँगै यसमा तातो बहस भइरहेको छ । 

नेपाल राष्ट्रबैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले सुनलाई निक्षेपको रुपमा राख्न सकिने व्यवस्था भएको र यसको मोडालिटीको विषयमा छलफल भइरहेको जानकारी दिए । उनले सुनलाई निक्षेपको रुपमा राख्ने विषयलाई कमोडिटी डेरिभेटिभ्सलाई डिपोजिटभ डेरिभेटिभ्समा कन्भर्सन गर्न खोजिएको बताए । 

‘सुन कमोडिटी हो । र, कमोडिटी डेरिभेटिभ्सलाई डिपोजिट डेरिभेट्भ्समा कन्भर्ट गरी यो उपकरणलाई नेपाली बजारमा प्रवेश गराउन खोजिएको हो ।’ निरौलाले भने–‘मानिसले अरबौंको सुन किनेर घरमा राखेका छन्, त्यो डिपोजिटकै पैसा हो । त्यसलाई डिपोजिट डेरिभेटिभ्समा लाने हो ।’ 

सुनलाई निक्षेपको रुपमा बैंकमा जम्मा गर्ने संभावित मोडल धेरै हुनसक्ने उल्लेख गर्दै व्यक्तिगत विचारको रुपमा उनले एउटा संभावित मोडल पनि भनेका छन् । बिजशालासँग उनले भने–‘यो मेरो व्यक्तिगत विचार हो । जस्तो सुनको वर्ष दिनको एभरेज प्राइसिङ गर्ने, त्यसलाई डिस्काउण्ट फ्याक्टरमा लगी कुनै पनि बैंकले त्यो सुन राखेर इन्स्टूमेन्ट जारी गर्ने । त्यो डिपोजिट सरह मानिनेछ । एउटा मोडल यो हुनसक्छ ।’

सुन जस्ता बहुमूल्य धातु निक्षेपको रुपमा बैंकमा राख्दा तरलता सिर्जना हुने उल्लेख गर्दै उनले भने–‘सुन लगेर बैंकमा राख्नुभयो, त्यसको सर्टिफिकेट जारी गरेपछि डिपोजिट क्रिएसन हुन्छ ।’ 

पूर्व बैंकर तथा विश्लेषक अनलराज भट्टराईले बजेटमा भएको व्यवस्थाले सुनचाँदी जस्ता धातु राखेर समेत निक्षेपमा झै ब्याज पाउने अवसर सिर्जना हुने बताए । 

‘कुन प्रक्रियामा जाने भन्ने कुराको डिटेल मौद्रिक नीतिमा आउला । ५० ग्राम गोल्ड छ भने आज त्यसको भ्यालूमा कन्भर्ट गरेर दिन्छ कि वा १० वर्षपछि गोल्ड नै फिर्ता पाउने गरी आउँछ भन्ने कुरा पनि पछि नै आउला ।’ उनले भने–‘हालसम्म बैंकले सुनमा लोन दिने भन्ने चलन छ, सुन राखेर ऋण लिनुपथ्र्यो । अब चाहि सुन राख्दा समेत ब्याज आउने अवस्था देखियो । केही फरक प्रयोग गर्न खोजिएको छ । यसले क्यास लिक्वीडिटी कसरी आउँछ भन्ने कुरा पनि हेरिन आवश्यक छ । गोल्डको लेखाङ्कन कसरी गर्ने भन्ने कुरा मौद्रिक नीतिमा आउँछ होला । तर, यो व्यवस्थाले नयाँ स्रोतको सिर्जना हुने भयो । गोल्डमा गएर बसिरहेको पैसा तरल बनाइनू राम्रो उपाय पनि हो ।’

कोरियामा पनि कुनै बेला यस्तै प्रयोग भएको भन्दै त्यो सफल भएको र नेपालमा समेत सफल हुने उनको दाबी छ ।

नेपाल बैंकर्स संघ(एनबिए)का अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले आइडल बसेको एसेटलाई कमर्सियल एसेट बनाउने उपायको रुपमा सुनलाई समेत निक्षेपको रुपमा राख्नसक्ने व्यवस्था आएको उल्लेख गर्दै यसले निक्षेप बढाउने बताए ।