काठमाण्डौ । सुनियोजित ढंगले पहिरो झारिएको बजारमा मंगलबारदेखि पुनः बढोत्तरीको यात्रा सुरु भएको छ । 

सोमबार सुनियोजित रुपमा ‘भीषण पहिरो झारिए’पछि बजार धेरै घटेर निर्धारित समयअघि नै बन्द गर्नुपरेको थियो । यो क्रममा नेप्सेका सबै समूहको उपसूचकमा भीषण गिरावट आएको थियो । यो खेलकै कारण हजारौं लगानीकर्ताले एकैदिन करोडौं सम्पत्ति गुमाउन पुगे । 

सोमबार बजारमा भीषण पहिरो जाने कारण नै थिएन । तर, केही समूहहरुको तीव्र चलखेलका कारण यस्तो थियो । बिजशालाले यो विषयमा हिजै चलखेल गर्ने पात्र र कारणहरुको विशेष खुलासा गरिसकेको छ । 

अतः सोमबार चलखेलकै कारण बजारमा प्यानिक सेलको अवस्था सिर्जना गरिएको कुरा बुझेका लगानीकर्ताहरुको मनोबल सम्हालिँदा मंगलबारको बजारमा सकारात्मक अवस्था देखियो । यो दिनको कारोबार अवधिमा बजार परिसूचक(नेप्से) बढेर १५४० भन्दा माथिसम्म पुगेको थियो । तर, बन्द हुँदासम्म केही खुम्चिएर १४.३७ अंकको बढोत्तरीसहित १५०९.६७ को विन्दूमा रोकियो । 

यो दिन राम्रा र बलिया कम्पनीको सेयरमा खरीद चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स २.६१ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.०४ अंकको बढोत्तरी भयो । 

राष्ट्रबैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा लघुवित्तहरुको लाभांशमा कस्ने नीति सार्वजनिक भएपछि त्यसको प्रभावले यो दिन लघुवित्त कम्पनीहरुको सेयरमा प्यानिक सेल देखियो भने व्यापार समूह र अन्य समूहमा समेत गिरावट आयो । 

लघुवित्त समूहको उपसूचक ११६.१४ अंकको पहिरोले छोपियो । व्यापार समूह १९.४५ अंकले घटेको यो दिन अन्य समूहमा ०.१५ अंकको झिनो गिरावट आयो । 

बाँकी सबै समूहका उपसूचक हराभरा भए । 

बैंकिङ समूह २२.६३ अंकले बढेको यो दिन विकास बैंक समूहमा १९.९५ अंक, होटल समूहमा ४.६७ अंक, जलविद्युत समूहमा ४.९४ अंक, बित्त समूहमा ७.७९ अंक, निर्जीवन बिमा समूहमा १६५.१८ अंक, जीवन बिमा समूहमा १८९.३ अंक, उत्पादन तथा प्रशोधन समूहमा ३६.१२ अंक र म्युचुअल फण्ड समूहमा ०.२६ अंकको बढोत्तरी भयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १८१ कम्पनीका ८२ लाख ११ हजार २८९ कित्ता सेयर ३ अर्ब ८५ करोड १६ लाख २२ हजार ९९६ रुपैयाँमा किनबेच भयो । 

यो दिन सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले ४० करोड बढीको कारोबार गर्यो । 

एनएमबी बैंकले २५ करोड बढीको कारोबार गरेको यो दिन एनआइसी एशियाले १८ करोड, हिमालयन डिस्टीलरीले १४ करोड, नवील बैंकले १२ करोड ९७  लाख, एभरेष्ट बैंकले १० करोड, ग्लोबल आइएमई बैंकले ९ करोड ५८ लाख, प्रभू बैंकले ८ करोड १३ लाख, शिवम सिमेन्टले ७ करोड ९० लाख र नेपाल बैंकले ७ करोड ४० लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन मञ्जुश्री फाइनान्सको सेयरमूल्यमा पोजिटिभ सर्किट लाग्यो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढेर प्रतिकित्ता २८८ रुपैयाँ पुग्यो । 

नेपाल हाइड्रो डेभलपर्स लिमीटेडको मूल्य ९.२७ प्रतिशतले बढ्यो । धेरै मूल्य बढ्ने कम्पनीको सूचिमा इन्स्योरेन्स कम्पनीहरुको दबदबा देखियो । 

यो दिन धेरै लघुवित्तको मूल्यमा भारी गिरावट आयो । तीन कम्पनीको मूल्यमा नेगेटिभ सर्किट लाग्यो । स्वदेशी लघुवित्त, एनएमबी माइक्रोफाइनान्स र स्पर्श लघुवित्तको मूल्य १० प्रतिशतको हाराहारीमा घटेर सर्किट लागेको हो । 

सामुदायिक लघुवित्तका लगानीकर्ताले ९.३३ प्रतिशतले सम्पत्ति गुमाए भने गुराँस लघुवित्त, स्वावलम्बन लघुवित्त, छिमेक लघुवित्तको सेयर मूल्य ८ प्रतिशत भन्दा बढीले घट्न पुग्यो ।