काठमाण्डौ । यो साता लगातार दुई दिन ऐतिहासिक विन्दुमा पुगेको सुनको भाउ तेस्रो दिन मंगलबार तोलामा ९०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा मंगलबार एकैदिन तोलामा ९०० रुपैयाँले घटेर प्रतितोला छापावाला सुन ७२ हजार ६०० रुपैयाँ र तेजाबी सुन ७२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो साता कारोबारको पहिलो दुई दिनमै सुन तोलामा २ हजार २०० रुपैयाँले बढेको थियो । जसअनुसार तोलामा सोमबार एकैपटक १ हजार रुपैयाँले बढेर प्रतितोला छापावाला सुन ७३ हजार ५०० रुपैयाँ र तेजाबी सुन ७३ हजार २०० रुपैयाँ पुगेको छ। यो नेपालकै इतिहासमा हालसम्म उच्च मूल्य हो ।

त्यस्तै आइतबार पनि एकै दिन तोलामा १ हजार २०० रुपैयाँले सुनको भाउ बढेको थियो । बजारमा आइतबार छापावाला सुन तोलाको ७२ हजार ५०० र तेजाबी सुन तोलाको ७२ हजार २०० मा कारोबार भएको थियो ।

लगातार सुनको भाउ बढ्न थालेपछि बजारमा किन्नेभन्दा बेच्नेको चाप बढेको छ । सुन कारोबारमा पनि केही दिनयता मन्दी छाएको छ ।

अमेरिका–चीन व्यापार युद्ध, भारत–पाकिस्तान राजनीतिक तनाव आदिका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ भारीमात्रामा बढेको आर्थिक विश्लेषकहरु बताउँछन् ।