काठमाण्डौ । आगामी केही महिनाभित्र सुन सञ्चित गर्नेहरुले कुस्त कमाउने दिन आउन सक्छ । अन्तराष्ट्रिय घटनाक्रमहरुका कारण सुनको मूल्य प्रभावित हुने भएकोले अन्तराष्ट्रिय विश्लेषकहरुले आगामी २ देखि ३ महिनाभित्रमा सुनको मूल्य बढेर नयाँ उचाई चुम्ने विज्ञहरुले प्रक्षेपण गरेका छन् । नेपालमा सुनको मूल्य यो अवधिमा ६० हजारको उचाईमा पुुग्ने प्रक्षेपण गरिएको छ । 

विश्व बजारमा सुनको मूल्य पछिल्लो समय बढिरहेको छ । यो साता सुनको मूल्य १२४० डलर प्रति औंस कायम भएको छ, जुन गत ३ महिनाकै उच्च मूल्य हो । अन्तर्राष्ट्रिय बजार विज्ञकाअनुसार आउने केही हप्ताभित्रै विश्व बजारमा सुनको भाउ प्रति औंस १३१५ डलरसम्म पुुग्ने स्पष्ट आधारहरु देखिएका छन् । स्वदेशी बजारमा आगामी केही हप्ताभित्रै सुनको भाउले प्रति तोला ६० हजार रुपैयाँको उचाईमा पार गर्यो भने अचम्म मान्नुपर्ने छैन । यहीकारण समेत छोटो समयका लागि हातमा पैसा छ भने ढुक्क भएर सुन खरीद गरे तपाई मालामाल बन्न सक्नुहुन्छ । 

एकातिर विश्व बजारको बढ्दो भाउ र अर्कोतर्फ विवाहको सिजन समेत आउँदै गरेकोले सुनको मूल्यले स्वदेशी बजारमा नयाँ रेकर्ड समेत कायम गर्न सक्छ । केन्द्रीय बैंकले हाल दैनिक २० किलोग्राम सुन आयातको अधिकार वाणिज्य बैंकहरुलाई दिएको छ । सुनचाँदी व्यवसायीहरुले बैंकबाट चाहिएको सुन किन्ने गरेका छन् । नेपालको दैनिक मागको तुलनामा २० केजी निकै कम रहेका कारण मागभन्दा आपूर्ति कम भई त्यसै पनि सुनको मूल्य नेपालमा बढी नै छ । यो अवस्थामा समेत तत्काल चमात्कारिक सुधार नआउने भएकोले यसले समेत सुनको मूल्यलाई नयाँ उचाईमा पुर्याउने टेवा मिल्ने देखिन्छ । 

पछिल्लो समय नेपालको बजारमा सुनको मूल्य ५२ हजारको स्तरमा झरेर फेरि उकालो यात्रा तय गरी ५५ हजार ८ सयको स्तर छोइसकेको छ । यसमा केही उतारचढाव देख्न सकिए पनि २–३ महिनामा भने नयाँ उचाई चुम्ने प्रक्षेपण गरिएको छ । 

यसकारण बढ्नसक्छ सुनको भाउ
–अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पको ७ मुस्लिम बाहुल्य देशका नागरिकलाई अमेरिकामा प्रवेशमा लगाइएको प्रतिबन्धसँग जोडिएको नीति
–डलरको बिषयमा अहिलेसम्म स्पष्ट कुराहरु आएका छैनन् । तर अमेरिकी प्रशासनले डलरलाई धेरै मजबुत बन्न दिन नचाहिरहेको खबरहरु बाहिर आएका छन् । यसबाट उसलाई चीनजस्ता देशसँग प्रतिस्पर्धा गर्न सहज हुने छ । 
–अमेरिकाले मिसाइल परीक्षणको बिषयमा इरानमाथि नयाँ प्रतिबन्ध लगाएको छ । 
–आउने दिनमा चीनसहित केही देशमा अमेरिकाको व्यापार युद्ध हुनसक्छ, यसबाट विश्व बजारको जोखिम बढ्न सक्छ । 
–अमेरिकामा भौतिक संरचना निर्माणमा खर्च जब जब बढ्छ, तब तब त्यहाँको मुद्रास्फिति दर बढ्नेछ । 
–ब्रेग्जिट तथा फ्रान्स, जर्मनी तथा नेदरल्याण्ड जस्ता देशमा हुन गइरहेका निर्वाचनले समेत सुनको आगामी दिशा तय गर्ने बताइएको छ । 

तर, फेडको निर्णय अहम्.................!
यूएस फेडले सन् २०१७ मा तीनपटकसम्म ब्याजदर वृद्धि हुने बताइरहेको छ । फेडरल रिजर्बका चेयरमेन जेनेट येलेनले हालै बिस्तारै बिस्तारै ब्याजदर वृद्धि गर्ने संकेत दिएका थिए । यदि यस्तो भयो भने चाहि सुनको मूल्य घट्नेछ । यसबाहेक ट्रम्पको स्पष्ट नीति कस्तो हुन्छ, त्यसले पनि सुनको आगामी यात्राको दिशा तय गर्नेछ ।