काठमाण्डौ । शुक्रबार राति रसुवाबाट काठमाण्डौका लागि छुटेको टाटा सुमोमा तस्करी हुँदै गरेको १५ किलो सुनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । यसअघि गएको २२ गते बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुनसहित एकजना पक्राउ परेका थिए । आखिर पछिल्लो समय यसरी सुन तस्करीमा एकाएक तीव्रता आउनु पछाडिको कारण के होला ? यी सबै पछाडि राज्यको उपल्लो तहमा पहुँच भएका केही व्यापारी, नेपाल राष्ट्रबैंकका अधिकारी, गृहमन्त्रालय, अर्थमन्त्रालयका अधिकारी र केही मन्त्रीहरुको समेत मिलेमतो रहेको सूत्रहरुले दाबी गरेका छन् । 
 

पछिल्लो समय नीतिगत रुपमै सुन तस्करी गर्ने चाँजो मिलाइएको भन्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका अधिकारीहरुले आपत्ति जनाइरहेका छन् । तर उनीहरुको कतिपय जायज सवालको बिषयमा राष्ट्रबैंकदेखि अर्थमन्त्रालयसम्मका अधिकारी समेत चूप छन् । उनीहरुले घुमाउरो रुपमा सुन तस्करको गिरोहलाई नै सहयोग पुुग्ने निर्देशन जारी गरेपछि बढ्दो सुन तस्करीमा यिनै निकायका अधिकारीको संलग्नताको पोल खुल्न थालेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यका अनुसार पछिल्लो समय नेपाल राष्ट्रबैंकले व्यवसायीहरुले समस्या दर्शाउँदा दर्शाउँदै पनि सुन तस्करीलाई प्रोत्साहान हुने काम गरेको छ । १८ दिनअघि व्यवसायीहरुको एक टोली नेपाल राष्ट्रबैंकमा गएर गभर्नर र विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानालाई भेटेको थियो । सो क्रममा टोलीले सुन बजार तस्करको हातमा गएकोमा चिन्ता व्यक्त गर्दै दैनिक १५ किलोग्राम सुनको कोटालाई बढाइदिन माग गरेका थिए । देशभर २३ हजार दर्तावाल सुन पसलहरु रहेका र उनीहरुका लागि दैनिक १५ किलो सुन हात्तीको मुखमा जिरा जस्तै भएको भन्दै आफूहरुले कम्तीमा दैनिक ३५ किलोग्राम सुनको कोटा बनाउनुपर्ने माग गरेको शाक्यले बताए । ‘छलफलको क्रममा गभर्नर साब र कार्यकारी निर्देशक जी समेत दैनिक १५ किलोको कोटालाई बढाएर २० किलोग्राम बनाउन सहमत हुनुहुन्थ्यो ।’ उनले थपे–‘तर लामो समयसम्म अनेक कुरा गरेर हामीलाई झुलाउने काम भयो ।’ पुस २६ गते नेपाल राष्ट्रबैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुुंगानाले वाणिज्य बैंकहरुलाई परिपत्र गर्दै आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई १५ किलोग्राम नै कायम गरिएको प्रष्ट पारेका छन् । राष्ट्रबैंकले एउटा कुरामा सहमति जनाएर साबिककै परिमाण कायम गराउन बैंकहरुलाई निर्देशन दिनुुले समेत रातारात तस्करसँग सेटिङ भई २० किलोको सहमति तोडेर १५ किलो नै कायम गरिएको व्यवसायीहरुको आरोप छ । 

‘हामीलाई कयौं दिनसम्म झुलाउनु र अन्तिममा साबिककै परिमाण आयात गर्न सकिने भन्दै निर्देशन दिनुले समेत राम्रै चलखेल भएको प्रष्टिन्छ ।’ पूर्व अध्यक्ष शाक्यले भने–‘राष्ट्रबैंकका अधिकारीहरु खुलेआम तस्करीलाई प्रश्रय दिन लागेका छन् । उनीहरुले जानी जानी बजारमा सुनको अभाव सिर्जना गर्ने र त्यसलाई तस्करीको सुनले धान्ने रणनीति बनाएका देखिएको छ ।’ 

नेपाल राष्ट्रबैंकका एक अधिकारीले भने वाणिज्य, अर्थ र गृह मन्त्रालयले सुनको परिमाण बढाउन स्वीकृति नदिएका दाबी गरेका छन् । ‘मन्त्रीहरुसँग निकट व्यापारी नै सुन तस्करीमा संलग्न रहेका हामीलाई समेत शंका छ ।’ नाम उल्लेख गर्न नचाहने ती अधिकारीले भने–‘हाम्रै हाकिमहरुको भूमिका समेत रहस्यमय छ ।’ 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अधिकारीहरुका अनुसार देशभरका २३ हजार सुन पसललाई दैनिक १ तोला नै सुन उपलब्ध गराउँदा समेत दैनिक २८५ किलोग्राम सुन आवश्यक पर्छ । तर, सरकारले अहिले १५ किलो मात्र आयातको अधिकार दिएको छ । ‘हामी कर तिर्न तयार छौ, तर माग अनुसार कच्चा पदार्थ चाहियो भन्दा पनि राष्ट्रबैंकले नसुुन्नु तस्करी जारी रहोस् भन्ने स्पष्ट मनाशय देखिन्छ ।’ शाक्यले बिजशालासँग भने–‘आवश्यक पर्दा दैनिक सुन आयातको कोटा बढाउने र नपर्दा घटाउने काम राष्ट्रबैंकले गर्नुपर्ने हो । तर उसले विवाहको सिजनमा समेत साबिककै आयात परिणाम कायम गरेर सुन तस्करहरुलाई सजिलो बनाइदिएको छ ।’ 

राष्ट्रबैंकले कोटा नबढाएर कच्चा पदार्थको अभाव झेलिरहेका व्यवसायीलाई घुमाउरो ढंगले ‘तस्करीकै सुन प्रयोग गर’ भनेको जस्तो देखिएको व्यवसायीको दाबी छ । ‘पछिल्लो समय सुन तस्करी बढ्नुमा राष्ट्रबैंकका कर्मचारीदेखि मन्त्रालयका जिम्मेवार अधिकारीहरुसम्मको संलग्नता छ ।’ सुनचाँदी व्यवसायी संघका अर्का एक नेताले भने–‘मन्त्रीहरुकै सेटिङमा सुन तस्करी भइरहेको भरपर्दो सूचना हामीसँग छ । तर सबैतिर भागबण्डा पुुग्ने हुनाले यो तस्करीलाई कस्ले रोक्ने ?’ उनीहरुको भनाईमा भागबण्डामा कुरा नमिलेका र मन्त्रीसम्मको सेटिङमा मिलाइने च्यानल भन्दा बाहिरबाट आएको सुन मात्र पक्राउ पर्ने गरेको हो ।’ 

को–को छन् तस्करीमा ?
सूत्रहरुका अनुसार बजारमा मोवाइल तथा अटोको व्यवसाय गर्ने भनी चिनिएका उच्च तहका व्यापारीहरु सुुन तस्करीमा संलग्न छन् । प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालसँग पारिवारिक नाता जोडेका व्यापारीहरुको त्यसमा संलग्नता रहेको सूत्र दाबी गर्छ । त्यस अलावा अर्थमन्त्री कृष्णबहादुर महरा, गृहमन्त्री विमलेन्द्र निधि र राष्ट्रबैंकका अधिकारी निकटका व्यापारीले समेत सुनियोजित रुपमा सुन तस्करी गरिरहेका दाबी गरिएको छ । 

भरिया पक्राउ, मालिकलाई सलाम
अहिलेसम्म ठूलो परिमाणमा तस्करी भइरहेको सुनको साथमा प्रहरीले समेत भरियालाई मात्र पक्राउ गरेको छ । अहिलेसम्मको कुनै पनि सुन तस्करी काण्डमा प्रहरीले मालिकसम्मलाई समाएको उदाहरण छैन । भरियालाई पक्राउ गरेर उसलाई जेल कोच्ने र प्रहरी मालिकसम्म पुुग्नै नसक्ने(नचाहने) प्रवृतिबाट समेत सुन तस्करीमा निकै ठूलो र पहुँचवाला गिरोहको संलग्नता रहेको सहजै अनुमान गर्न सकिन्छ । प्रहरीले कारबाही गर्न नसक्ने र आँट नगर्ने व्यक्तिकै नेतृत्वमा सुन तस्करी भइरहेको प्रष्ट बुुझ्न सकिन्छ । यसमा प्रहरीकै हाकिम, उनीसँग निकट दुुई ठूला मोवाइल व्यवसायीतर्फ सोझिएको शंकाको सुईँलाई स्वभाविक नै मान्न सकिन्छ । यदि होइन भने भरियालाई पक्राउ गरेर यति किलो र उति किलो सुन पक्राउ गर्यौ भन्ने प्रहरी अहिलेसम्म ती भरियालाई भाडामा प्रयोग गर्ने मालिकलाई किन पक्राउ गर्न सक्दैन ? मालिकलाई पक्राउ गरिएको कुरा किन बाहिर ल्याउन सक्दैन ? मालिकसम्म जाने आँट जुटाउन किन सक्दैन ?