काठमाण्डौ । सर्वोच्च अदालतले लामो समयदेखि तामेलीमा रहेको अजयराज सुमार्गीको नाममा विदेशबाट आएको करिब साढे ३ अर्ब रुपैयाँ नरोक्न अन्तरिम आदेश दिएको छ । 

सुमार्गीको दूरसंचार प्रदायक कम्पनी नेपाल स्याटेलाइट टेलिकम प्रालिले राष्टबैंकलाई विपक्षी बनाई दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्दै सर्वोच्चले साढे ३ अर्ब रुपैयाँ नरोक्न निर्देशन दिएको हो । 

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सुमार्गीको पैसा रोक्नुुपर्ने कुनै कानूनी आधार नदेखिएकोले रकम रोक्का राख्दा उद्योगलाई क्षति वा हानी रहेको देखिन आएमा सम्पति शुद्धिकरण र राज्यका अधिकार प्राप्त निकायबाट छानबिन भइरहेको भए त्यसमा बाधा अड्चन नहुने गरी प्रस्तु रकम र सोबाट हुने लाभ समेत विदेश लैजान नपाउने गरी निवेदकले माग गरेको वखत भुक्तानी दिलाउनु र खाता सञ्चालनमा अवरोध नगर्नु नगराउनु भन्ने आदेश दिएको छ । 

गत आइतबार सुमार्गीले सञ्चालन गरेको नेपाल स्याटेलाइट, टेलिकम प्रालिका कर्मचारी सुवाचन्द्र पौडेलले राष्ट्रबैकलाई विपक्षी बनाएर रिट निवेदन दिएका थिए ।

अदालतले सो बिषयमा दुबै पक्ष राखी बृहत्तर रुपमा छलफल गर्न उपयुक्त भएको भन्दै फागुन २ गते नेपाल राष्ट्र बैंकसहितलाई उपस्थित हुन निर्देशन दिएको छ । दुवै पक्षको कुरा सुनेर यो प्रकरणमा अदालतले आफ्नो अन्तिम निर्णय पछि मात्र सुनाउनेछ । 

यस्तै, सर्वोच्चले लिखित जवाफ पेश गर्न विपक्षी नेपाल राष्ट्रबैंकलाई निर्देशन समेत दिएको छ । 

राष्ट्र बैंकले युवराज खतिवडा गभर्नर हुँदा नै सुमार्गी र उनी संलग्न कम्पनीको नाममा आएको करिब साढे ३ अर्ब रकमको स्रोत खुल्न नसकेको भन्दै रोक्का गरेको थियो ।