नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको कार्यान्वयनको प्रक्रिया सुरु भएको बताएका छन् । 

नेपाली दूतावास नयाँ दिल्लीले यहाँ आज आयोजना गरेको नेपाली समुदायसँगको अन्तक्र्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संविधान र सङ्घीयताको कार्यान्वयनको प्रक्रियाले गति लिएको र त्यसका लागि आफ्नो नेतृत्वको सरकारले विशेष पहल गरिरहेको बताए । 

संविधानसभाबाट जारी भएको नेपालको संविधान कार्यान्वयनका लागि सबै पक्षसँगको सहमतिलाई आफूले विशेष जोड दिएको र केही सफलता हात लागेको पनि उल्लेख गरे । 

संविधानको सर्वस्वीकार्यता बढाउनका लागि आफूले सक्दो पहल गरिरहेको र असन्तुष्टको मागलाई समेत निकट भविष्यमा नै सम्बोधन गरिने प्रधानमन्त्रीको भनाइ थियो । संविधान मुलुकको साझा दस्तावेज भएकाले सबै पक्षको भावनालाई सम्बोधन गर्नु र उनीहरुलाई साथै लिएर जानुपर्ने आवश्यकता रहेको उनले स्पष्ट पारे । 
शान्ति प्रक्रियाका बाँकी रहेका विषयलाई सम्बोधन गर्ने प्रयासमा आफू रहेको जानकारी दिँदै प्रधानमन्त्रीले प्रवासी नेपाली समुदायको भावनालाई सम्मान गर्दै उनीहरुलाई मुलुक निर्माणको महाअभियानमा साथै लिएर जान तयार रहेको बताए । उनले संविधानको कार्यान्वयनसँगै मुलुक आर्थिक समृद्धिको मार्गमा अगाडि बढेको र त्यसलाई अगाडि बढाउन प्रवासी नेपालीको पनि प्रमुख दायित्व रहने भएकाले सरकारसँग मिलेर काम गर्न आग्रह गरे । 

सो अवसरमा मूल प्रवाह अखिल भारत–नेपाली एकता समाज, प्रवासी नेपाली सङ्घ भारत, अखिल भारत–नेपाली एकता मञ्च, जनसम्पर्क समिति भारत लगायत प्रतिनिधिले सीमा क्षेत्रमा नेपालीले भोग्नु समस्या, बैंक तथा वित्तीय संस्थामा नेपाली समुदायले भोग्नुपरेको व्यवधान लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्रीले प्रवासी नेपाली समुदायको समस्या समाधानका लागि आफूले सक्दो पहल गर्ने र भारत सरकारसँग नेपालीको समस्याबारे कुराकानी गर्ने विश्वास दिलाएका थिए । 

दिल्लीमा बिहारको निम्तो
प्रधानमन्त्री पुष्पकमल दाहाल र विहारका मुख्यमन्त्री नितिशकुमारबीच नेपाल र भारतको विहार राज्यसँगको सम्बन्ध सुमधुर बनाउने विषयमा छलफल  पनि भयो ।

नेपाली दूतावास नयाँ दिल्लीमा प्रधानमन्त्री दाहाललाई भेट्न आएका मुख्यमन्त्री नितिशबीच करिब एकघण्टा भएको छलफलमा नेपालको दक्षिणी सीमा जोडिएको सबैभन्दा ठूलो भूभाग विहारमा पर्ने भएकाले सम्बन्ध थप मजबुत बनाउने विषयमा कुराकानी भएको हो । 

प्रधानमन्त्री दाहालले नेपाल र भारतको विहार राज्यबीचको आपसी र मैत्री सम्बन्ध अरुहरुका लागि समेत अनुकरणीय छ भन्दै सीमा क्षेत्रमा देखिने असहज अवस्थालाई मिलेर समाधान गर्नुपर्नेमा छलफल भएको बताए । नेपाली र विहारी समुदायबीचको सम्बन्ध स्वाभाविक छ भन्दै प्रधानमन्त्रीले कुनै समस्या रहे त्यसलाई आपसी संवादका माध्यमबाट हटाउन सकिने बताए । 

विहार र नेपाली समुदायबीचको सम्बन्ध जनता जनताबीचको सम्बन्ध रहेको र आत्मीय रहेको बताउँदै मुख्यमन्त्री नितिशले उक्त सम्बन्धलाई थप प्रगाढ, मैत्री एवम् भावनात्मक बनाउनुपर्नेमा जोड दिए । भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री नितिशले राष्ट्रिय विषयमा प्रधानमन्त्री तहमा नै कुरा हुने भए पनि असल छिमेकीको हैसियतले प्रधानमन्त्री दाहालसँग खुलेर छलफल भएको जानकारी दिए । 

मुख्यमन्त्रीले प्रधानमन्त्री दाहाललाई विहार राज्यको भ्रमणको निम्तो समेत दिएका प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.ऋषि अधिकारीले जानकारी दिए ।