काठमाण्डौ । नेपालमा पनि खुल्लामुखी म्युचुअल फण्ड संचालनमा आउने भएको छ । 

धितोपत्र बोर्डले आवेदन दिएको निकै लामो समयपछि एनआइबिएल एस क्यापिटललाई ‘एनआइबिएल सहभागिता फण्ड’ नामको खुल्लामुखी स्किम संचालनको स्वीकृति दिएको हो । 

बोर्डले बैशाख ९ गते ५० करोड बराबरको खुल्लामुखी फण्डलाई ५ करोड इकाई जारी गरी कारोबार थाल्न स्वीकृति दिएको हो । 

बन्दमुखी स्किममा झै यस्ता स्किममा समेत प्रति इकाई १० रुपैयाँको दरले जारी गरिनेछ । 

नेपालमा खुल्लामुखी म्युचुअल फण्ड नयाँ विषय हो । विश्वबजारमा भने म्युचुअल फण्डहरुको पर्याय नै यस्ता स्किमहरु हुने गरेका छन् ।

देशकै पहिलो खुल्लामुखी फण्डको प्रवद्र्धन नेपाल इन्भेष्टमेन्ट बैंकले गर्नेछ । एनआइबिएल एस क्यापिटल इन्भेष्टमेन्ट बैंककै सहायक कम्पनी हो । 

नेपालमा संचालनमा रहेका बन्दमुखी म्युचुअल फण्डहरुको संख्या भने १३ वटा पुगिसकेको छ । एउटा यस्तै स्किमले हालै इकाई बिक्रीमा ल्याएको छ।
के हो खुल्लामुखी स्किम ?
योजनाबाट संकलन गरिने रकमको मात्रा तथा समयसीमा नतोकी कुनै पनि समयमा लगानीकर्तालाई इकाई बिक्री गर्न सकिने गरी जारी गरिएको सामूहिक लगानी योजनालाई खुलामुखी योजना भनिन्छ । 

यस प्रकारको योजनामा योजना व्यवस्थापकले जति पनि संख्यामा योजना इकाई बिक्री गर्न सक्नेछन् र लगानीकर्ताले इकाई बिक्री गर्न आएमा पुुनः खरीद पनि गरिदिन सक्नेछन् ।

अहिले एनआइबिएल एस क्यापिटलले ५० करोड रुपैयाँको स्किम संचालनको स्वीकृति पाएको छ । यसको आकार बढेसँगै त्यसका लागि पनि धितोपत्र बोर्डबाट स्वीकृति भने लिनुपर्नेछ । 

यस्ता योजनामा तरलता बढी हुन्छ । लगानीकर्ताले फण्ड म्यानेजरलाई नै तुरुन्त बिक्री गर्नसक्ने भएकोले बिक्रीबाट प्राप्त रकम पनि तुरुन्तै भुक्तानी पाइने एनआइबिएल एस क्यापिटलका सुवास पौडेलले जानकारी दिए । 

खुलामुखी योजना धितोपत्र बजारमा सूचीकृत नहुने भएकाले दोस्रो बजारमा कारोबार हुँदैन । खुलामुखी योजनाको इकाई ब्रोकरमार्फत खरीदबिक्री गर्न नपर्ने भएकोले कम झञ्झटिलो र कम खर्चिलो हुने समेत पौडेलले दाबी गरे । ‘फण्ड व्यवस्थापन वा उसले तोकेका कलेक्सन एजेन्टबाट नै खरीदबिक्री गर्न सकिन्छ ।’ पौडेलले बिजशालासँग भने। 

यस्तो फण्डको परिपक्व हुने अवधि हुन्न, अनन्तकालसम्म पनि जानसक्छ । पौडेलले भने–‘सेटलमेन्ट गर्न पनि झञ्झट भएन । समग्रमा यस्ता स्किममा लगानी गर्न सजिलो हुन्छ ।’ 

लगानीको नयाँ उपकरण नेपाली बजारमा भित्रिने निश्चित भएको उल्लेख गर्दै पौडेलले केही दिनभित्रै इकाई निश्कासनको मिति तोकिने जानकारी दिए ।