काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेशकुमार न्यौपानेको जन्मथलो तनहुँ जिल्ला बन्दीपुर १ हो । हाल उनी काठमाण्डौ वनस्थलीमा बस्दै आएका छन् ।

दशैंमा पारिवारिक भेटघाट र स्कुले साथीहरुसँगको जमघट हुँदा बेग्लै रमाइलो माहौल सिर्जना हुने प्रवक्ता न्यौपाने बताउँछन् । सदाझैं यसपालि पनि दशैं मनाउन गाउँ गएका उनी घर जाने बहानासमेत हुने गरेको न्यौपाने सुनाउँछन् । ‘हरेक दशैंले नयाँ अनुभव सिकाउँछ’, उनले बिजशालासँग भने, ‘९–१० वर्षको उमेरमा बेग्लै मज्जा हुनेरहेछ । नयाँ लुगा लगाउने भनेकै दशैं मानिन्थ्यो ।’

मांशाहारी नै रहेका न्यौपाने रक्सीबाट भने चारकोश टाढा भाग्ने गर्दा रहेछन् । परिवारमा सबैभन्दा ज्येष्ठ सदस्य ८५ वर्षीय हजुरआमाबाट दशैंमा टीका आशीर्वाद न्यौपानेले थाप्दै आएका छन् ।

दशैंमा लामो बिदा नहुने भएकाले समेत भ्रमण गर्न नसकिने न्यौपानेको जिकिर छ । बचपनको यादलाई पुनतार्जगी गर्न दशैंमा गाउँ जान पाउँदा न्यौपाने हर्षित छन् ।