-भक्तराज रसाइली
काठमाण्डौ । ललितपुर जिल्लामा रहेको एकमात्र ब्रोकरेज हाउसका रुपमा रहेको सिप्रबी सेक्युरिटीज प्रा.लि. अर्थात् ब्रोकर नम्बर २२, ललितपुर ११ दमकल चोकमा अवस्थित छ । कम्पनीको कार्यकारी अध्यक्ष रुपमा सीए रविराज भट्टराई छन् । 

कार्यकारी अध्यक्ष भट्टराईको जन्म वीरगञ्ज हो भने हाल उनी टोखाका बासिन्दा हुन् । 

विश्वविद्यालय क्याम्पस(त्रिविवि)बाट एमबीए भट्टराईले भारत र अष्ट्रेलिया दुवै ठाउँको चार्टर्ड एकाउन्टेण्ट कोर्ष उत्तीर्ण समेत गरेका छन् । भट्टराईले निजामती सेवामा ४ वर्ष र तत्कालीन नेपाल अरब बैंकमा ३ वर्षको कार्यानुभवसमेत सँगालेका छन् । 

सीए उत्तीर्ण हुनु र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड स्थापना भएसँगै ब्रोकर लाइसेन्स खुला भएपछि इच्छुक भएर उनमा ब्रोकरेज हाउस सञ्चालन गर्ने रहर जागेको उनको भनाई छ ।

सिप्रवी सेक्युरिटीज प्रा.लि.को स्थापना वि.सं.२०५१ सालमा स्थापना भएको हो । दुईजना प्रमोटर रहेको कम्पनीको चुक्तापूँजी पाँच करोड रुपैयाँ रहेको छ । कम्पनीमा १४ जना कर्मचारीहरु कार्यरत छन् । कम्पनीको नामाकरण भने भट्टराईकी छोरी सिप्रवीको नामसँग मिलाएर गरिएको रहेछ । उनकी पत्नी सिप्रा समीर र आफ्नै नाम रविराज मिलाएर ‘सिप्रवी’ भनेर जुराइएको रोचक प्रसङ्ग उनले सुनाए ।

आफ्नो छुट्टै डीपी हाउस नभएको यो कम्पनी १० जना ब्रोकर कम्पनीको संयुक्त डीपी ‘नेपाल डीपी लिमिटेड’मा सम्बद्ध रहेको छ । 

दैनिक ग्राहक उपस्थिति औसत ८० जना रहेकामा दैनिक औसत ४० जनाले सेयर खरिदबिक्री गर्दा रहेछन् । कम्पनीको पछिल्लो तथ्याङ्क अनुसार कुल  ६ हजार ४ जना ग्राहकको केवाइसी अपडेट गरेका छन् । अनलाइन युजर लिने लगानीकर्ताको संख्या २ सय ३२ जना रहेको छ ।

कम्पनीले चालु आ.व.को तेस्रो त्रैमासमा कुल १ सय ८१ कम्पनीका ७२ करोड ३४ लाख रुपैयाँ रकम बराबरको कारोबार गरेको जनाएको छ । चालु आ.व.को जेठ मसान्तसम्म कम्पनीले ३ अर्ब ४२ करोड ३ लाख रुपैयाँ रकम बराबरको कारोबार गरेको जानकारी दिएको छ ।

सिप्रबी सेक्युरिटीज मात्र हैन, सबै ब्रोकरहरु बराबर भएको तर्क सार्दै भट्टराईले बजारमा आफ्नो स्थान ठ्याक्कै भन्न नसकेको बताए । ललितपुर जिल्लामा सुरुदेखि नै एक्लो ब्रोकरेज सेवा दिइरहेको उल्लेख गर्दै भट्टराईले ग्राहक सेवामै केन्द्रीत भएको दाबी गरे । सिप्रबी सेक्युरिटीजको कार्यालय समय बिहान १० बजेदेखि बेलुकी ५ सम्म रहेको छ।

चार्टर्ड एकाउन्टेन्ट र ब्रोकरेज पेशालाई समानान्तर रुपमा बढाएका भट्टराई पूँजीबजारमा योगदान दिन र आफू वित्तीय पेशामा भएका नाताले समेत ब्रोकर पेशामा अँगाल्न पुगेको बताउँछन् । 

उनकी पत्नी वकिल सिप्रा समीरको सल्लाह पनि ब्रोकर लाइसेन्स रहेकाले भट्टराईले ब्रोकर पेशामा आएका रहेछन् । त्यसबेला ७ जना सीएहरुमध्ये उनले पनि आफ्नो प्रोफाइलसहित आवेदन दिएपपछि अन्तर्वार्ता लिएर नेप्सेले ब्रोकर लाइसेन्स दिएको भट्टराईले सम्झिए ।

स्टक एक्सचेञ्जको एक प्रतिनिधिका रुपमा चिनाउन चाहने भट्टराईले नियामकको नीति निर्देशनबमोजिम धितोपत्र खरिदबिक्रीको सेवा प्रवाह गरिरहेका बताए । कम्पनीले ग्राहकको चेक बनेपछि ग्राहकलाई एसएमएस अलर्ट पठाउने, सोझै बैंक भुक्तानी सुविधा, होम डेलिभरी सेवा, मोबाइल चार्जिङ्ग हब, आरक्षणसहितको सिट, चियापान र सफा शौचालयको व्यवस्था गरेको छ । खुला र पर्याप्त ठाउँ रहेको सिप्रबीमा दुईवटा डिस्प्ले राखिएको छ । एउटामा मार्केट वाच र अर्कोमा चाहिँ नियामकीय सूचना तथा सूचिकृत कम्पनीका विविध सूचना तथा जानकारीहरु प्रवाह गरिन्छ ।

हाल नेपालको धितोपत्र बजारमा अन्य प्रडक्टसमेत थप्न सकिने तर्क पेश्दै उनले इन्ट्रा–डे कारोबार, फ्यूचर, अप्सन, पोर्टफोलियो व्यवस्थापन सेवा लगायतका प्रडक्टहरु थप्न उनले सुझाए । 

प्राथमिक बजारमा धेरै पैसा आउने तर, सोही पैसा दोस्रो बजारमा नआएकोमा दोस्रो बजारप्रति आम मानिसहरुलाई विश्वासको कमी रहेको दाबी गर्दै भट्टराईले अन्य प्रडक्ट थपेर बजार विकास गर्नुपर्नेमा जोड दिन्छन् ।

सिप्रवी सेक्युरिटीज नै ग्राहकहरु किन आउने भन्ने बिजशालाको जिज्ञासामा भट्टराईले ग्राहककेन्द्रित उच्चस्तरीय सेवा, प्रकाशित न्यूज अलर्ट लगायतका सेवासुविधा लिन आउनसक्ने बताए ।

नेप्सेले ब्रोकरहरुलाई राम्रो प्रतिक्रिया दिनुपर्ने माग राख्दै भट्टराईले नेप्सेको अनलाइन कारोबार प्रणाली विश्वसनीय बनाउन आग्रहसमेत गरे । प्रत्येक सेकेण्डमा धेरै फरक पर्ने भएकाले समेत हालसालै पनि नेप्सेको टीएमएसमा समस्याहरु रहेको उनको बुझाई छ । ब्रोकरहरुलाई हातखुट्टा बाँधेरभन्दा बजार विस्तारका लागि आवश्यक क्षेत्राधिकार विस्तार गर्न जोड दिन नेपाल धितोपत्र बोर्डसमक्ष उनको माग छ ।

नेपालको सन्दर्भमा पूँजीबजार सुरुवाती अवस्थामा रहेको दाबी गर्दै भट्टराईले सेयर बजारको सुषुप्त अवस्थालाई बजारसम्बद्ध सरोकारवालालाई समेत सचेतना आवश्यक रहेको औंल्याए ।

नियामक धितोपत्र बोर्डले एकपटक १० हजार जरिवाना गरेबाहेक अन्य कुनै नियामकीय कारबाहीमा नपरेको भट्टराईले दाबी समेत गरे । सो जरिवाना बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले एक सार्वजनिक कार्यक्रममा बाध्यताले र सम्पत्ति शुद्धीकरणको टार्गेट पुर्याउन सिप्रवीलाई कारबाही गरेको बताइएको थियो । खासमा उनै भट्टराईले उनको ब्रोकर हाउसमा एक शंकास्पद व्यक्तिले अन्य व्यक्तिको नाममा रहेको कम्पनीको सेयर बिक्री गर्न ल्याउँदा प्रहरीसमक्ष बुझाएका थिए, तर उनलाई पुरस्कारको सट्टा सजाय दिलाइएको बोर्डकै कतिपय अधिकारीहरु बताउँछन् ।

विस्तारित पूँजीबजार बनाउन प्रणाली विश्वसनीय बनाउँदै बजार विस्तारबारे बृहत् अध्ययन अनुसन्धान हुन जरुरी रहेको भट्टराईले औंल्याए । ब्रोकरहरुलाई नियमनका साथसाथै नयाँ प्रडक्ट थप्दै विस्तार हुने मौका दिनुपर्ने उनले जोड दिए ।

कुनै एक व्यक्तिले कुनै कम्पनीको सेयर किनेपछि सोही भीडलाई पछ्याउने नेपालको सेयर बजारको प्रवृत्तिको उदाहरण दिंदै भट्टराई पूँजीबजार सचेतना, नियमित पर्याप्त समान व्यवहार हुनुपर्ने जिकिर गर्छन् । उनले उठाएका विषयहरुमा ध्यान दिन सके पूँजी बजार सुदृढ बन्दै जाने र अन्तर्राष्ट्रिय मूल्यमान्यतामा पुग्ने दाबी छ । 

नेप्से र धितोपत्र बोर्डबीच अन्तरनिकाय समन्वयको अभाव खट्किएको अनुभूत गरेका भट्टराईले अध्ययन अनुसन्धानमा आधारित नियमन र निर्देशन आउन जरुरी रहेको बताए । यसले विश्वास अभिवृद्धि गर्ने र पूँजीबजारको उचाइ लिने उनको बुझाई छ ।

लगानीकर्ताका आँखामा सिप्रवी सेक्युरिटीज प्रा.लि.
विमल शर्मा, रिटायर्ड कर्मचारी, काँडाघारी, ५७ वर्ष
सेयर बजारमा र २२ नम्बरबाट सेयर कारोबार गरेको ३ वर्ष भयो । समग्रमा यहाँका सबै सेवासुविधा राम्रो भएकाले सन्तुष्ट छु । म १०नम्बरमा ८ नम्बर दिन्छु ।

अनिलबहादुर अमात्य, व्यापारी, कुपण्डोल, ६० वर्ष
विगत २० वर्षदेखि म सेयर बजारमा सक्रिय रहँदै आएकोमा मैले यहाँबाट कारोबार गरे पनि त्यत्ति नै भयो । भौतिक सेवासुविधा निकै राम्रा छन् । २२ नम्बरको सेवासुविधाबाट अत्यन्तै खुशी छु । आगामी दिनमा यहीँबाट मार्जिन लोन लिन पाए हुन्थ्यो । म चाहिँ १० मा ९ नम्बर दिन चाहन्छु ।

 

अनिलकुमार श्रेष्ठ, पूर्व जागिरे, खुमलटार हाइट, ४८ वर्ष
दश वर्षदेखि सेयरबजारमा सक्रियता जनाइरहेको मैले २२ नम्बरबाट सेयर खरिदबिक्री गरेको ३÷४ वर्ष भयो । सेवासुविधाका हिसाबले राम्रै छ, तर नेट अलिक स्लो छ । म १० नम्बरमध्ये ९ नम्बर दिन्छु ।

 

गीता बलाल, पूर्वअभिकर्ता, कुसुन्ती,४१ वर्ष
बीस वर्षदेखि पूँजी बजारमा पाइला टेकेकी मैले यहाँबाट कारोबार गर्न थालेको करिब डेढ वर्ष भयो । यहाँ सबै राम्रै छ र सन्तुष्ट पनि छु । मार्जिन कारोबार यहाँबाट गर्न पाउनुपर्नेमा म जोड दिन्छु। म १० नम्बरमा ९.५ नम्बर दिन्छु ।

 

निलम बस्नेत,पूर्व जागिरे,धोवीघाट,४५ वर्ष
विगत २५ वर्षदेखि पूँजी बजारमा सक्रिय रहेको म यहाँबाट कारोबार गरेको पनि १५ वर्षजति भइसक्यो । सहजपूर्ण रुपमा पारिवारिक वातावरणमा स्टाफहरुको मैत्रीपूर्ण र सहयोगी व्यवहार लगायत धेरै राम्रो सुविधा छ । म १० नम्बरमा १० नम्बर नै दिन्छु ।