काठमाण्डौ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको अप्रत्यासित निधनको बिषयमा उच्चस्तरीय समिति गठन गरी छानबिन हुनुपर्ने पार्टीका केन्द्रीय सदस्यहरुले माग गरेका छन् । 
 

मंगलबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा सहभागी केही केन्द्रीय सदस्यहरुले पार्टी सभापति कोइरालाको निधनलाई अप्रत्यासित र षड्यन्त्रमूलक भन्दै सो बिषयमा पार्टीले उच्चस्तरीय आयोग गठन गरी तत्काल छानबिन थाल्नुपर्ने माग गरेका हुन् । उनीहरुले चरम लापरबाहीका कारण पार्टी सभापतिको सामान्य स्वास्थ्य समस्याबाटै ज्यान गएको भन्दै सो बिषयमा छानबिन गरी यथार्थ कार्यकर्ता तथा सर्वसाधारणलाई जानकारी दिन समेत माग गरेका बैठकमा सहभागी केन्द्रीय सदस्य रामकृष्ण ताम्राकारले जानकारी दिए । उनकाअनुसार बैठकमा केन्द्रीय सदस्यहरु सूर्यमान गुरुङ र बालकृष्ण खाँडले कोइरालाको निधन शंकास्पद भएको भन्दै तत्काल छानबिन गर्न भन्दै पार्टी पदाधिकारीको ध्यानाकर्षण गराएका थिए ।   
 

उनीहरुले उठाएको छानबिनको बिषयप्रति कांग्रेस नेताहरु सुजाता कोइराला, डा. शेखर कोइराला लगायतले समेत समर्थन जनाएका थिए । केन्द्रीय सदस्यहरुले पार्टी सभापतिको अप्रत्यासित निधनको बिषयमा प्रश्न उठाएर छानबिनको माग गरेपछि पार्टीका कार्यबाहक सभापति र अन्य पदाधिकारीले यो गम्भीर बिषयलाई पदाधिकारी बैठकमा एजेण्डाको रुपमा सामेल गराउने प्रतिबद्धता जनाएका थिए । 
 

कांग्रेस सभापति सुशील कोइरालाको १६ दिनअघि महाराजगञ्जस्थित सशांक कोइरालाको निवासमा शंकास्पद निधन भएको थियो । उनको निधनको बिषयमा उनका निजी चिकित्सक कविरनाथ योगी, भाञ्जा रमेश भण्डारी, भतिजा अतुल कोइराला र निधनको समय रहेका परिवारका सदस्यहरुले विरोधाभास कुरा गर्दै आएका छन् । कोइरालाको निधार चोट समेत देखिएको र मृत्युपछि उनले ओडेको सिरकमा खुनको टाटा समेत देखिएकोले घटना रहस्यमय भन्दै कार्यकर्ता तहबाट छानबिनको माग उठिरहेको छ । सर्वसाधारणबाट समेत पार्टी नेतृत्वलाई कोइरालाको निधनको बिषयमा स्पष्ट पार्न दवाब परिरहेको छ । यसअघि कोइरालाको निधन शंकास्पद भएको बिषयमा अनर्गल प्रचार गरिएको दाबी गरिए पनि केन्द्रीय समितिमै यो बिषय उठेपछि निधन थप शंकास्पद बनेको हो । 
 

यसैबीच, पार्टी सभापतिको शोक सकेर बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले आसन्न १३ औं महाधिवेशनमा प्रस्तुत हुने भनिएको नीति तथा कार्यक्रम सम्बन्धी प्रस्तावका लागि तयार भएको मस्यौदा सबै केन्द्रीय सदस्यलाई अध्ययन गर्न दिएको छ । फागुन १३ गते बस्ने अर्को बैठकमा प्रस्तावित मस्यौदाको बिषयमा छलफल हुने बताइएको छ । 
 

यसैबीच, कांग्रेस बैठकले यसअघिको सरकारले गरेका संवैधानिक नियुक्तिहरुलाई एमाले नेतृत्वको सरकारले खारेज गरेको भन्दै आपत्ति प्रकट गरेको छ । ‘पहिलाको सरकारले गरेको कुरालाई खारेज गर्ने कुरा गैरसंवैधानिक भएको बैठकले ठहर गर्यो ।’ केन्द्रीय सदस्य ताम्राकारले भने–‘यस्तो काम तत्काल बन्द गर्न बैठकले एमालेलाई आग्रह गरेको छ ।’