काठमाण्डौ । गम्भीर बिरामी परेका खबर पनि नसुनिएको, हिँड्न, डूल्नसक्ने अवस्थाका कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको अप्रत्यासित र रहस्यमय निधनले २०७२ लाई खल्लो बनायो । 

कोइरालाको निधनको बिषयमा उनका निजी चिकित्सक, उनीसँगै बस्ने भाञ्जा लगायतका आफन्तहरुको आपसमै बाझिने बयान, त्यसपछि एकपछि अर्को गर्दै निजी चिकित्सकले दिएको विवादास्पद अभिव्यक्ति लगायतलाई आधार मान्दा एक सन्त नेताको निधन निकै अप्रत्यासित, शंकास्पद र रहस्यमय थियो । देशभरिबाटै, कार्यकर्ता तथा नेताहरुबाट समेत सुशील कोइरालाको निधनको विषयमा छानबिन हुनुपर्ने माग उठे पनि त्यसतर्फ कसैले चासो देखाएन । बरु एक शीर्ष नेताको रहस्यमय र अस्वभाविक मृत्युमा उठेका प्रश्नहरुलाई २०७२ सालमा जबरजस्ती दबाइयो, बाहानाबाजी गरेर रहस्यका पोकाहरु नखुल्दै बित्यो पुरानो वर्ष । 

के भएको थियो ?
कोइरालाको निधन जति आश्चर्य्मिश्रित बन्यो, उति नै रहस्यमय पनि । कोइरालाको टाउकोमा स्पष्ट चोट देखिएको र ओडेको सिरकमा रगतको टाटा देखिएको थियो । यही विषयलाई लिएर बिजशाला डटकमले सबैभन्दा पहिला उनको निधन रहस्यमय भएको खबर सम्प्रेषण गर्यो । सो खबरलाई धेरै मिडियाहरुले पछ्याए, कार्यकर्ताहरुले प्रश्न उठाए । निधारको चोट र रगतको टाटाको विषय भाइरल बनेपछि निजी चिकित्सक र कोइरालाको आफन्तहरुले कोइरालाले सधैं चन्दन लगाउने र पशुपतिका एक ब्राम्हण आएर निधन भएपछि पनि निधारमा बाक्लो चन्दन लगाइदिएका झूठो बयान दिएर दुनियाँलाई गुमराहमा राख्न खोजे । तर यो बयान दुई दिन पनि टिकेन । दुई दिनपछि नै निजी चिकित्स कविरनाथ योगीले मिडियासामु मुख खोल्दै कोइराला लडेका कारण निधारमा चोट देखिएको खुलासा गरे । यसरी रहस्यमाथि रहस्यहरु थपिँदै गए, कार्यकर्ता, जनता र नेताहरुमै समेत अनेकन प्रश्नहरुले घर गरे । तर न सरकार, न त कांग्रेस नेतृत्व कसैले उचित ठानेन् कोइरालाको निधनको छानबिन गर्न र एक युगपुरुषको रहस्यमय निधनलाई २०७२ सालमा जबरजस्ती दबाइयो । 

सुशील कोइरालाको अचानकको मृत्युको खबरलाई कसैले सहजै स्वीकार गरेनन्, अझै गरेका छैनन् । सबैको मनमा उस्तै उस्तै प्रश्नहरु उठेका थिए–‘मृत्युकै मुखमा पुग्ने गरी गम्भीर हुँदा समेत सुशील कोइरालालाई किन अस्पताल लगिएन ? केही दिनदेखि निमोनियाबाट साच्चिकै ग्रसित थिए भने उनलाई राम्रो हेरचाह किन भएन ?नियोजित ढंगले परिवारबाटै भएको कुनै षड्यन्त्रको शिकार त भएका थिएनन् कोइराला ?’ 

निधन लगत्तै एक चर्चित अनलाइनसँग प्रतिक्रिया दिने क्रममा कोइरालाका निजी चिकित्सक डा. कविरनाथ योगीले निधनको दुई दिनअघिदेखि बढेको चिसोले कोइरालालाई समस्यामा पारेको र त्यस दिनदेखि उनले खाना नै नखाएको बताएका थिए । मृत्यु भएको दिन चाहि बिहान र दिउँसो मज्जाले खाना खाए पनि राति चाहि खान नमानेको बताएका थिए । तर सोही अनलाइनमा कोइरालाका भाञ्जा रमेशले चाहि ‘कोइरालाले सो दिन राति ९ बजेतिर जाउलो खाएका, राति १२ बजेतिर पानी पिएका र सँगै रहेको आफूलाई समेत चिया पिउन भनेको’ बताएका छन् ।

डा. कविरनाथ योगीले भनेका थिए–‘ बेलुकासम्म उहाँ सामान्यरुपमै कुराकानी गरिरहनुभएको थियो । राति साढे ११ बजेसम्म राम्रो होसमा हुनुहुन्थ्यो । साढे ११ बजे उहाँले पिशाब गर्नुभयो । त्यसपछि ‘दिशा गर्छु’ भन्नुभयो । उहाँको मुखबाट मैले सुनेको अन्तिम आवाज त्यहि थियो । उहाँले दिशा गर्नुभयो र पल्टिनुभयो । त्यसपछि १२ बजेतिर अचानक खकार वा थूक अड्केको जस्तो ख्वाक्क गर्नुभयो र एकाएक अचेत हुनुभयो । अनि पो हामी सबै आत्तियौं ।’ 

भाञ्जा रमेशले चाहि ‘१२ बजे मामा(सुशील)ले पानी पिएको’ भने र तर चिकित्सकले चाहि १२ बजे नै कोइराला खकार वा थुक अड्केजस्तो गरी एकाएक अचेत भएको कुरा गरेर दुनियाँलाई रणभूल्लमा पार्ने काम गरे । 

निजी चिकित्सले कोइरालालाई ‘पाँच दिनदेखि अक्सिजनमा राखिएको’ भनेका थिए । अक्सिजनमा राखिएको पूर्व प्रधानमन्त्री र देशकै ठूलो पार्टीको सभापतिजस्तो प्रतिष्ठित व्यक्तिको स्वास्थ्य ५ दिनदेखि नै बिग्रिएको हो र उनलाई अक्सिजनमा राखिएको थियो भने त्यो कुराको बिषयमा कार्यकर्ता र सर्वसाधारणलाई किन जानकारी दिइएन ? यो  पनि रहस्यको गर्भर्म सीमित भयो । 

अर्कोतर्फ अक्सिजनमा राखिएको व्यक्तिको स्वास्थ्य जुनसुकै बेला खराब हुनसक्ने सामान्य अनुमान सबैलाई हुन्छ । भाञ्जा रमेशले मामाको अवस्था नाजुक बनेपछि अस्पतालतर्फ लैजान खोज्दा अक्सिजनसहितको एम्बूलेन्स नपाइएको बताएका छन् । निवर्तमान प्रधानमन्त्री र देशकै ठूलो पार्टीको सभापतिको स्वास्थ्य बिग्रदा अक्सिजनसहितको एम्बूलेन्स पाइएन भन्ने रमेशको बयान आफैंमा रहस्यमय र हास्यास्पद थियो । 
 
त्यसपछि यस्तो भयो
कोइरालाको निधनलगत्तै युवा कार्यकर्ता यूपी लामिछानेले सार्वजनिक गरेको शंकास्पद फोटो, उनका निजी चिकित्सक तथा भाञ्जाको परस्पर विरोधी बयानका आधारमा उनको निधन रहस्यमय रहेको र चरम लापरबाहीका कारण समेत कोइरालाको अप्रत्यासित निधन भएको समाचार बाहिरियो । कोइरालाको विधिवत अन्त्येष्टिको केही घण्टा नबित्दै कोइराला सोमबार(मृत्यु भएको दिन) राति लडेको पुष्टि भयो । 

परिवारका अर्का एक सदस्यका अनुसार सुशील कोइराला सोमबार राति ९ बजे बाथरुम जाने क्रममा लडेका थिए । सोही क्रममा उनको टाउकोमा चोट लागेको थियो । कोइरालाका भतिज अतुल, भाञ्जा रमेश र निजी चिकित्सक कविरनाथ योगीले केही कांग्रेस नेतासँग सुशील दुई दिनअघि चाहि लडेका बताएर घटनालाई थप रहस्यमय बनाइदिए । स्वभाविक रुपमा प्रश्नहरु उठे–‘दुई दिनअघि लडेको भए किन भनिएन ? सोमबार लडेर निधारमा चोट नै लागेको र रगत समेत बगेको पुष्टि भएपछि यो कुरालाई अतुल, रमेश वा निजी चिकित्सकले समेत किन लुकाए ? कोइराला स्वास्थ्यमा कमजोर थिए, खाना खाएका थिएनन्, त्यसकारणले लडेका नै थिए भने पनि त्यो कुरा प्रष्ट किन भन्न सकेनन् ? लडेको बाहानामा कोइरालामाथि अरु केही त भएको थिएन वा गरिएको थिएन ?’

घटनाको खुलासा भएपछि परिवारका सदस्य, कोइरालाका निजी चिकित्सक लगायतको फेरिरहेको बयान हेर्दा समेत ठमठमी हिँड्नसक्ने सुशील एकाएक मृत्युको मुखमा स्वभाविक कालगतिकै कारण पुगेका होइनन् कि भन्ने शंकालाई मलजल भयो । कोइरालाको मृत्युसँगै परिवारका सदस्य तथा निजी चिकित्सकहरुले बोलेका झूठहरुलाई हामीले यसरी बुँदागत रुपमा प्रस्तुत गर्यौं :

झूठ नम्बर १
निधनको खबर सनसनीपूर्ण भएलगत्तै कोइरालाका निजी चिकित्सक डा. कविरनाथ योगीले एकाएक बढेको चिसोले कोइरालालाई समस्यामा पारेको र त्यस दिनदेखि उनले खाना नै नखाएको बताए । उनले घटना भएको दिन बिहान र दिउँसो मज्जाले खाना खाए पनि राति चाहि खान नमानेको बताए । तर कोइरालाका भाञ्जा रमेशले चाहि ‘कोइरालाले सो राति ९ बजेतिर जाउलो खाएका, राति १२ बजेतिर पानी पिएका र सँगै रहेको आफूलाई समेत चिया पिउन भनेको’ बताएर शंका बढाइदिए ।

डा. कविरनाथ योगीले भनेका थिए– ‘बेलुकासम्म उहाँ सामान्यरुपमै कुराकानी गरिरहनुभएको थियो । राति साढे ११ बजेसम्म राम्रो होसमा हुनुहुन्थ्यो । साढे ११ बजे उहाँले पिशाब गर्नुभयो । त्यसपछि ‘दिशा गर्छु’ भन्नुभयो । उहाँको मुखबाट मैले सुनेको अन्तिम आवाज त्यहि थियो । उहाँले दिशा गर्नुभयो र पल्टिनुभयो । त्यसपछि १२ बजेतिर अचानक खकार वा थूक अड्केको जस्तो ख्वाक्क गर्नुभयो र एकाएक अचेत हुनुभयो । अनि पो हामी सबै आत्तियौं ।’ योगीले अन्तिम आवाज ‘दिशा गर्छु’ भन्ने रहेको दाबी गरे पनि परिवारका सदस्यहरुले ‘मैले बुझिसकेँ’ भनेको आवाजलाई अन्तिम भने । भाञ्जा रमेशले चाहि ‘१२ बजे मामा (सुशील)ले पानी पिएको’ भनेका थिए । तर चिकित्सकले चाहि १२ बजे नै कोइराला खकार वा थुक अड्केजस्तो गरी एकाएक अचेत भएको कुरा गरेर घटनालाई रहस्यतर्फ मोडिदिए । आखिर रमेश र डा. योगीको कुरा कसरी बाझियो ? कोइरालाले खाना खाए या नखाएको, उनी अचेत भएको समय लगायतको बिषयमा किन परस्पर विरोधी कुरा बाहिर आए ?

झूठ नम्बर २
भाञ्जा रमेशले भने अनुसार उनका मामा कोइरालाले सोमबार राति ९ बजेतिर जाउलो खाएका थिए । राति १२ बजेतिर उनले पानी पिए । सँगै रहेका रमेशलाई चिया खान भने । तर, कोइरालालाई गाह्रो भइसकेको थियो । उनको उपचार घरमै भइरहेको थियो । उनले अक्सिजन दिएको, इन्जेक्सन लगाएको देख्दा ‘मलाई के गरेको ?’ भनेका थिए । ‘तपाईलाई गाह्रो भयो, त्यसैले’ भनेपछि पूर्व प्रधानमन्त्री कोइरालाले केही बोलेनन् । परिवारले अस्पताल लैजान चाहेको थियो । तर, गाडीमा अक्सिजन नभएकाले एम्बुलेन्स बोलाउने तयारी भइरहेको थियो । सँगै रहेका भाञ्जा रमेशका अनुसार अन्तिम सास लिनुभन्दा केही अघि उनी निदाए जस्तो गरे । त्यसपछि उनले सदाका लागि विदा लिए ।

निजी चिकित्सकले कोइरालालाई ‘पाँच दिनदेखि अक्सिजनमा राखिएको’ भनेका छन् । अक्सिजनमा राखिएको पूर्व प्रधानमन्त्री र देशकै ठूलो पार्टीको सभापतिजस्तो प्रतिष्ठित व्यक्तिको स्वास्थ्य ५ दिनदेखि नै बिग्रिएको हो र उनलाई अक्सिजनमा राखिएको थियो भने त्यो कुराको बिषयमा कार्यकर्ता र सर्वसाधारणलाई किन जानकारी दिइएन ? फेरि भाञ्जा रमेशले भनेजस्तो गाडीमा अक्सिजन नै नभए पनि पाँच मिनेटभित्रै पुग्न सकिने शिक्षण अस्पतालमा उनलाई किन लगिएन ? जब कि कोइरालाले चढ्ने गाडी र सुरक्षाकर्मीको गाडी समेत सो दिन सही सलामत अवस्थामा घरमै मौजुद थिए । अर्कोतर्फ, भाञ्जाको बयानलाई आधार मानेर हेर्ने हो भने कोइरालालाई एक्कासी अक्सिजन दिइयो, डा. योगी इञ्जेक्सन लगाउन तम्सिए, तर कोइरालाले त्यो अस्वभाविक देखेर ‘मलाई के गरेको ?’ भनिरहेका थिए । भाञ्जाकै कुरालाई पत्याउने हो भने पनि त्यसपछि चाहि चिकित्सक र परिवारका सदस्यले ‘तपाईले गाह्रो भयो, त्यसैले इञ्जेक्सन लगाउन खोजेको’ भनिएछ । बिरामीलाई गाह्रो भएको कुरा ऊ स्वयम्लाई पहिला थाहा हुनुपर्ने हो कि, बाहिरबाट हेर्नेलाई ? फेरि कोइरालालाई कुन इञ्जेक्सन के प्रयोजनका लागि दिइएको थियो भन्ने कुरा पनि डा. योगीले प्रष्ट पार्न सकेनन् ।

झूठ नम्बर ३
नेपालमा चलेको एक अनलाइन पत्रिकासँग कुरा गर्दैसुशीलको निधारमा देखिएको चन्दनको बिषयमा सहयोगी(भतिजा) अतुल कोइरालाले हरेक विहान एक ब्राम्हणले सुशीललाई पशुपतिबाट चन्दन ल्याएर लगाइदिने गरेको बताएका थिए । ‘अरु दिनजस्तै हिजो बिहान पनि सुशीलदालाई उहाँले नै चन्दन लगाइदिनुभएको थियो,’ अतुलले भनेका थिए, ‘प्रायः टोपी लगाउने भएकाले अरुबेला चन्दन छोपिन्थ्यो, आजचाहिँ देखियो ।’ लडेर वा ठोक्किएर निधारमा चोट लागेको हुनसक्ने भनी सामाजिक सञ्जालमा व्यक्त भइरहेको आशंकालाई अतुलले ठाडै इन्कार गरेका थिए । ‘कतै लड्नुभएको छैन, सबै नचाहिने हल्ला हुन् ।’ उनले भनेका थिए । सोही बिषयमा कोइरालाका निजी चिकित्सक कवीरनाथ योगीले पनि सुशीलको निधारमा चोट लागेको सामाजिक सञ्जालमा व्यक्त आशंकालाई खण्डन गरेका थिए । ‘कसले सुनायो तपाईंलाई यस्ता कुरा ?’ योगीले प्रतिप्रश्न गर्दै प्रश्नकर्ता पत्रकारलाई भनेका थिए, ‘मृत्यू भएको व्यक्तिका विषयमा यस्ता टिप्पणीहरु गर्नु उपयुक्त होइन ।’ डा. योगीकाअनुसार कोइराला दुई दिनअघि बाथरुम पस्दा अलिकति चिप्लेका थिए । तर, लडेका भने होइनन् । ‘उहाँ बाथरुममा लड्खडाएपछि बेसिनमा समाएर सम्हालिनुभएको थियो, तर लड्नुभएको वा ठोकिएको होइन,’ उनले दाबीका साथ भनेका थिए । चन्दन लगाएको स्थानमा र ओढेको कपडामा देखिएको सानो रातो दागका विषयमा प्रश्न गर्दा योगीले अनभिज्ञता प्रकट गरेका थिए । ‘मैले त्यस्तो केही याद गरेको छैन, अवीर लागेको हुनसक्छ,’ उनले भनेका थिए । तर अतुल र डा. योगी दुवैले सुशीलको निधारको चोटको बिषयमा झूठ बोलेका खुलेको छ । स्वभाविक घटना थियो भने निधारमा लागेको चोटको बिषयलाई किन गुपचुप राख्न खोजियो ?

परिवारको चरम लापरबाही
पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनमा परिवारको चरम लापरबाही देखियो । महाधिवेशनका तनावका कारण कोइराला केही दिनदेखि निदाउन समेत सकेका थिएनन् । त्यसो त मृत्युको पाँच दिनअघि उनलाई भेट्न निवासमै पुगेका पूर्व पर्यटनमन्त्री सुशीलमान शेरचनसँग कुरा गर्ने क्रममा कोइराला स्वयम्ले आफूलाई आजकाल निद्रा नलाग्ने गरेको र पार्टीको डाडूपन्यू देउवाको हातमा पर्ने चिन्ताले सताउने गरेको बताउने गरेका थिए । स्रोतका अनुसार निदाउन नसकेपछि परिवारका सदस्यहरुले चिकित्सकको सल्लाह विपरीत नै सुशील कोइरालालाई जथाभावी रुपमा निद्रा लाग्ने औषधि समेत खुवाउने गरेको खुल्यो । चिकित्सकले फोक्सोमा असर गर्छ भन्ने सुझाव दिंदादिंदै पनि कोइरालालाई परिवारका सदस्यले किन निद्रा लाग्ने औषधि दिइरहे ? यो बिषय समेत  अनुत्तरित नै रहिरह्यो ।

कोइराला केही समयदेखि नै बिरामी थिए । पार्टीको महाधिवेशन देशभर चलिरहेको बेला कोइरालाको अस्पताल भर्नाले नकारात्मक सन्देश जाने सोंचले उनलाई अस्पताल भर्ना नगरिएको पारिवारिक स्रोतले दाबी गर्यो । कोइराला निकट केन्द्रीय सदस्य बलवहादुर केसीले पूर्व प्रधानमन्त्री र पार्टीको सभापतिजस्तो व्यक्ति बिरामी पर्दा राज्यले थाहा नपाउनु दुःखको कुरा भएको बताए । ‘उहाँलाई अस्पतालनै लैजानुपर्दथ्यो, निजी चिकित्सकले के गरे ? किन लगेनन् ? भित्री कुरा थाह भएन ।’ उनले सो बेला भनेका थिए ।  उनी मात्र होइन, पार्टीका सबै कार्यकर्ता तथा नेताको मुखमा उस्तै प्रश्नहरु झुण्डिए–‘आखिर कोइरालालाई समयमा किन लगिएन अस्पताल ? निधारमा लागेको चोटको बिषयलाई किन गुपचुप पार्न खोजियो ? परस्पर विरोधी झूठहरु बोलेर दुनियाँलाई बेवकुफ किन बनाउन खोजियो ? कतै कोइरालाको निधनमा कुनै अप्रिय षड्यन्त्र त छैन ?’तर यी प्रश्नहरुको जवाफ कसैले अहिलेसम्म पाउन सकेनन्, कोइराला निधन थप रहस्यमय बनेरै बित्यो २०७२ ।

छानबिनको माग पनि दब्यो
कोइरालाको निधन शंकास्पद भएरै महाधिवेशनमा होमिएको पार्टीको अघिल्लो कार्यसमितिको अन्तिम केन्द्रीय समिति बैठकमा सो विषयमा पार्टीले गम्भीरतापूर्वक छानबिन थाल्नुपर्ने केही  केन्द्रीय सदस्यहरुले जोडदार रुपमा माग गरे । तर उनीहरुको मागलाई बैठकमा शीर्ष नेतृत्वले सुन्यो र उडायो । उनीहरुले गरेको गम्भीर मागको विषयमा चासो नै दिइएन । महाधिवेशनको रन्को लागेकोले शीर्ष  नेतृत्वलाई समेत कोइरालाको रहस्यमय निधनको विषयमा छानबिन भन्दा पनि महाधिवेशनमा लागेर आफ्नो पक्षमा माहौल बनाउने हतारो थियो । कोइरालाको निधनलाई बिर्सिएर महाधिवेशनमा होमिएका नेताहरुले नयाँ नेतृत्व आएपछि पनि कोइरालाको निधनमा उठेका प्रश्नहरुको जवाफ दिन सकेका छैनन् । उनको निधनका विषयमा जन जनले उठाएका स्वभाविक प्रश्नहरु अझै पनि अनुत्तरित नै छन् । शेरबहादुर देउवा सभापति भएपछि कुनै पनि नेताले यो विषयमा बोल्न उचित ठानिरहेको छैन, सबैले सुशील कोइराला, उनको त्याग, सादगी राजनीतिक जीवन र उनको रहस्यमय, शंकास्पद र दुःखद निधनको प्रसंगलाई भूलिदिएका छन् । समग्रमा एक सादगी नेतालाई २०७२ मा गुमाइएन मात्र, कोतपर्वहरुका अनेकन श्रृंखला भइरहने हाम्रोजस्तो मुलुकमा कोइरालाको निधन पनि मिनी कोतपर्व नै थियो कि भन्ने सर्वसाधारणमा उब्जिएको आशंका आशंकामै अडिरह्यो, यिनै आशकिंत मनहरुले हामी २०७३ लाई स्वागत गर्न बाध्य भयौं ।