काठमाण्डौ । मंगलबार नेप्से परिसूचक ५.०४ अंकले बढेर १३४७.४४ को विन्दूमा पुगेको छ । 

चालु आर्थिक वर्षको दोश्रो अन्तिम दिन बजारमा तीव्र उतारचढाव देखियो । कारोबार खुलेको ४६ मिनेटसम्म अपट्रेण्डमा रहेको बजार त्यसपछि भने तीव्र रुपमा घटेको थियो । सो क्रममा नेप्से परिसूचक घटेर १३४० भन्दा तल पुगेको थियो । साढे १ बजेदेखि पुनः सुधारको बाटोमा कुदेको बजार परिसूचककेही बढेर १३४७.४४ को विन्दूमा बन्द भएको हो । 

कारोबार रकम करिब एक अर्बको भएको छ । नेप्से परिसूचकमा सामान्य सुधार हुँदा कारोबार रकम अर्बको हाराहारीमै रहनुले बजार सही दिशामा छ भन्न सकिने विश्लेषक बताउँछन् । अधिकांश लगानीकर्ताहरु मौद्रिक नीतिप्रति आशावादी देखिएका छन् । उनीहरुले यो बेलासम्ममा बजारमा थोरै थोरै खरीद गरी मौद्रिक नीतिपछि थप निर्णय गर्ने संकेत गरेका जानकार दाबी गर्छन् । त्यसकारण सामान्य गतिमा कुदेको बजारमा उल्लासको वातावरण आउन मौद्रिक नीति नै महत्वपूर्ण कडी हुने देखिन्छ । 

मौद्रिक नीतिले सेयर बजारका कतिपय समस्या र माग सम्बोधन गर्ने बताइएको छ । सेयर धितो कर्जाको सीमा बढ्ने लगभग निश्चित छ भने लगानीकर्ताको हित हुने गरी बाँकी नीति समेत आउने अपेक्षा गरिएको छ । यसकारण लगानीकर्ता बजारप्रति अझै आशावादी देखिएका छन्।

साउन १ गतेदेखि बैंकहरुले ब्याजदर घटाउँदैछन् । प्रणालीमा तरलता फालाफाल भएको अवस्थामा सस्तो ब्याजदरमा ऋण पाउने अवस्था बनेको छ । यसले लगानीकर्ताको मनोबल उकास्ने काम गरिरहेको देखिन्छ । यसकारण समेत साउनदेखि बजारले बुर्कुसी मार्नसक्ने धेरैले प्रक्षेपण गरिरहेका छन् । 

साउन पहिलो साताभित्रै राष्ट्रबैंकले पनि मौद्रिक नीति ल्याउँदैछ । यही बेलादेखि बैंकको ब्याजदर पनि घट्दैछ । यी सबै सुखद संयोगहरुले बजार वृद्धिलाई टेवा दिनसक्ने देखिन्छ । 

यिनै कारणहरुले पनि बजार थोरै अंक भए पनि निरन्तर बढिरहेकै छ । आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ५ वटामा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ ।

यो दिन लघुवित्त समूहमा सबैभन्दा बढी ६४.९४ अंकको बढोत्तरी देखिएको छ । यसैगरी होटेल्स समूहमा ५५.२९ अंक, बैंकिङ समूहमा ४.०९ अंक, जलविद्युत् समूहमा २.९५ अंक र म्युचुअल फन्ड समूहमा ०.१२ अंकको बढोत्तरी देखिएको छ ।

आज उत्पादन तथा प्रशोधन समूहमा सबैभन्दा धेरै २३.९७ अंकको गिरावट देखिएको छ । व्यापार समूह १४.५७ अंकले घटेको यो दिन विकास बैंक समूहमा १.६९ अंक, वित्त समूहमा ४.५७ अंक, निर्जीवन बीमा समूहमा ६.४१ अंक, अन्य समूहमा २ अंक र जीवन बीमा समूहमा १९.४३ अंकको गिरावट देखियो।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये १८६ कम्पनीका २५ लाख ६८ हजार १२४ कित्ता सेयर ९९ करोड ४५ लाख ४५ हजार १०९ रुपैयाँमा कारोबार भयो ।

यो दिन नेपाल पुनर्बीमा कम्पनीले उच्च कारोबार गर्यो । यो कम्पनीको मात्रै ११ करोड १० लाख रुपैयाँ बढीको कारोबार भयो ।

यसैगरी एनएमबी बैंकको ६ करोड ६८ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड १ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ४ करोड ७६ लाख रुपैयाँ, छिमेक लघुवित्तको ४ करोड ११ लाख रुपैयाँ, साना किसान लघुवित्तको ३ करोड ९९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड ६५ लाख रुपैयाँ, नबिल बैंकको २ करोड २३ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको १ करोड ८३ लाख रुपैयाँ र निर्धन उत्थान लघुवित्तको १ करोड ७० लाख रुपैयाँ बढीको कारोबार गरेको छ ।

धेरै कमाउने र धेरै गुमाउने

आज सातवटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । एनआईसी एसिया ब्यालेन्स फन्ड र एनआईसी एसिया लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढ्यो । नबिल ब्यालेन्स फन्ड–२, नेपाल सेवा लघुवित्त, घोडीघोडा लघुवित्त, गुराँस लघुवित्त, महिला सहयात्री लघुवित्तमा झन्डै १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । आज नबिल इक्विटी फन्डमा ९ प्रतिशत बढीको उछाल देखियो ।

आज समृद्ध फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ७ प्रतिशतको हाराहारीमा गिरावट देखियो ।