काठमाण्डौ । आम अपेक्षाविपरीत साताको पहिलो कारोबार दिन आइतबार बजार नाप्ने परिसूचकमा दोहोरो अंकको पहिरो गएको छ । नेप्से परिसूचक २६.३५ अंकले घटी १४९६.४६ अंकमा सीमित भए पनि बजारलाई कारोबारले भने साथ दिंदै गएको छ । नेप्से परिसूचकमा पहिरो गए पनि कारोबार रकम चाहि बढ्दै गएकोले त्यति धेरै अत्तालिनुपर्ने अवस्था छैन । 

आइतबार बजारमा ६३ करोड बढीको कारोबार भयो । तिहारपछि संभवत यति धेरै कारोबार भएको आज नै पहिलो पटक हो । ५० करोडको हाराहारीमा भइरहेको कारोबार बढेर ६३ करोड माथि पुुग्नुुलाई सकारात्मक रुपमा लिन सकिन्छ । यसकारण, उच्च अंकले घटेको नेप्सेमा मात्र ध्यान दिन छाडेर बढिरहेको कारोबार र कम्पनीका आशालाग्दा सूचकहरुमा ध्यान दिएर खरीदबिक्रीको निर्णय लिनु बुद्धिमता हुनेछ । 

आइतबारको बजारमा कम्पनीहरुको निराशालाग्दो ब्यालेन्ससिटको प्रभाव परेको देखिन्छ । जुन जुन कम्पनीहरुको नाफा घटेर अवस्था धराशायी भएको छ, तीन कम्पनीहरुमा सेयर बिक्रीको दवाब परेको छ । लगानीकर्ताले पहिलो त्रैमासमा झूर प्रदर्शन गर्ने कम्पनीको सेयर बिक्री गर्ने हतारो गरेको आइतबारको कारोबारले प्रष्टै देखिन्छ ।

आइतबार ट्रेडिङ बाहेकका सबै समूहको सूचकमा पहिरो गयो । ट्रेडिङ समूह २.७ अंकले बढ्यो । सबैभन्दा बढी उत्पादनमूलक समूहका कम्पनीहरुले गुमाए । यो समूहको सूचकमा ५०.५५ अंक(२.०७ प्रतिशत)को गिरावट आयो । बैकिङ, बिमा, विकास बैंक, माइक्रो फाइनान्स समूहमा पनि उस्तै पहिरो गयो । 

बैकिङ समूह २४.२९ अंक, बिमा समूह १५७.०६ अंक, विकास बैंक समूह ३०.९१ अंक, माइक्रोफाइनान्स समूह ३०.५९ अंकले घटे । यस्तै, होटल समूहमा ९.३३ अंक, जलविद्युत समूहमा २३.६८ अंक, बित्त समूह ६.३७ अंक, अन्य समूह ११.५७ अंकले घटे । 

‘क’ वर्गका कम्पनीहरुको कारोबारमा संकुचन आएका कारण सेन्सेटिभ इण्डेक्स ५.४४ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा २.०२ अंकको गिरावट आयो । 

धेरै कारोबार कम्पनीहरु
यो दिन बजारमा १ सय ५९ कम्पनीका १५ लाख ६ हजार ४ सय ४ कित्ता सेयर ६३ करोड १२ लाख १० हजार ५ सय ३० रुपैयाँमा खरीदबिक्री भयो । सबैभन्दा धेरै नेपाल लाइफले ३ करोड १८ लाख बढीको कारोबार गर्यो । यस्तै, नेपाल टेलिकमले २ करोड ७१ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ करोड ३३ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले २ करोड ८ लाख, सनराइज बैंकले १ करोड ७२ लाख बढीको कारोबार गरे । राष्टिय बिमा कम्पनी लिमीटेडको १ करोड ६८ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा एनबी बैंकले १ करोड ५९ लाख, एभरेष्ट बैंकले १ करोड ५३ लाख, सिद्धार्थ बैंकले १ करोड ५३ लाख तथा जनता बैंक नेपालले १ करोड ४६ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
बजारमा पहिरो गएर धेरैले गुमाउँदा समेत समता माइक्रोफाइनान्स बित्तीय संस्थाले भने १० प्रतिशतको हाराहारीमा कमायो । ङादी ग्रुप पावर लिमीटेडको सेयर मूल्यमा ५.२२ प्रतिशतको वृद्धि भयो । 

यो दिन सबैभन्दा धेरै स्वाबलम्बन विकास बैंकका सेयरधनीले गुमाए । यो कम्पनीको सेयर मूल्यमा ६.०७ प्रतिशतको गिरावट आयो । प्रूडेन्सियल इन्स्योरेन्स र गोर्खाज फाइनान्सका सेयरधनीले पनि ६ प्रतिशतको हाराहारीमा सम्पत्ति गुमाए ।