काठमाण्डौ । सिंगटी हाइड्रोपावर कम्पनी लिमीटेडले सर्वसाधारण र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ४३ करोड ५० लाख बराबरको आइपीओ निश्कासन गर्ने भएको छ । 

यो कम्पनीले सर्वसाधारणका लागि २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आइपीओ निश्कासन गर्ने भएको हो । 

आइपीओ निश्कासनकै लागि सिंगटी हाइड्रोपावरले सिभिल क्यापिटल मार्केट लिमीटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । निश्कासन तथा बिक्री प्रबन्ध सम्बन्धी सम्झौतापत्रमा सिभिल क्यापिटलका कामु सीइओ सुमन आचार्य र सिंगटी हाइड्रोपावरका कार्यकारी निर्देशक गणेश कार्कीले एक समारोहका बीच हस्ताक्षर गरेका छन् । 

दोलखाको सिंगटीमा यो कम्पनीले १६ मेगावाट क्षमताको सिंगटी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । एकवर्षभित्र विद्युत उत्पादन गर्ने लक्ष्य लिएको यो आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० वटा बैंकले ऋण लगानी गरेका छन् । आयोजनाको कुल लागत ४ अर्ब ६३ करोड रुपैयाँ रहेको बताइएको छ ।