-भक्तराज रसाइली

काठमाण्डौ । धितोपत्रको केन्द्रीय निक्षेप प्रणाली(सिडिएससी)ले भौतिक रुपमा रहेका धितोपत्रहरुलाई अभौतिक तथा डिम्याट गरी धितोपत्रको विद्युतीय अभिलेखको व्यवस्था गर्दछ । केन्द्रीय निक्षेप सेवा सञ्चालनका लागि नेप्सेको पूर्ण स्वामित्वमा अर्थात् सहायक कम्पनीको रुपमा रहने गरी २०६७ सालमा सिडिएस एण्ड क्लियरिङ्ग लिमीटेड स्थापना भई केन्द्रीय निक्षेपका अलावा राफसाफ तथा फछर्यौट सेवा पनि प्रदान गर्दै आएको छ । 

स्थापना भएको छोटो समयमा नै सेयर लगानीकर्ताहरुको मन जित्न सफल सिडिएससीले थप नयाँ सुविधाहरु प्रदान गर्ने भएको छ । २०७४ साल फागुनबाट औपचारिक रुपमा सुरुवात गरिएको सिडिएससीको मेरो शेयर पोर्टलबाट सेयर लगानीकर्ताहरुले थुप्रै सेवा सुविधा पाइरहेकोमा मेरो शेयर एप्स पनि निकट भविष्यमा आउन लागेको र नेप्सेमा सूचीकृत कम्पनीहरुको भोटिङ्ग अधिकार दिन इभोटिङ्ग व्यवस्थाको सुविधा थप गर्न लागिएको सिडिएससीका सीइओ देवप्रकास गुप्ताले  खुलासा गरेका छन् । 

कम्पनीका एजेण्डाहरुमा सभाको उपस्थितिका लागि Yes/No/Absent को सुविधा रहने सीइओ गुप्ताको दाबी छ । यसमा प्रोक्सी चुन्ने र प्रतिनिधि पनि चुन्न सकिने व्यवस्था हुने उल्लेख गर्दै उनले भने–‘मेरो शेयरबाट हुन्छ कि अरु कुनैबाट गर्ने भन्ने निधो भइसकेको छैन । तर, इभोटिङको सुविधा चालु आर्थिक वर्षभित्रैबाट कार्यान्वयनमा ल्याइने छ।’

यसकासाथै अबदेखि आईपीओ, एफपीओ, बोनस, हकप्रद सेयर डिम्याट खातामा आएको जानकारी दिने हेतूले मोबाइल एसएमएस अलर्ट सुविधा पनि थप गर्न लागिएको गुप्ताले जानकारी दिए । उनका अनुसार यो सुविधाको प्रपोजल धितोपत्र बोर्डमा पठाइसकिएको छ र बोर्डले स्वीकृति दिने बित्तिकै यो सुविधा लगानीकर्ताहरुले पाउनेछन् ।