काठमाण्डौ । नेपालजस्तो मुलुकमा मोटरसाइकल प्रयोगकर्ताहरु धेरै छन् र यसको माग समेत दिनहुँ बढिरहेको छ । अझ काठमाण्डौजस्तो धेरै जाम भइरहने क्षेत्रमा चार पांग्रे सवारी साधन भन्दा मोटरसाइकल नै बढी उपयोगी बनिरहेको छ । यस्तो अवस्थामा नयाँ ब्राण्डेड मोटरसाइकलमा धेरै खर्च गर्नुभन्दा प्रयोग भइसकेको सेकेण्ड ह्याण्ड मोटरसाइकल खरीद गर्नु अझ उपयोगी बन्न सक्छ । 

खर्चको हिसाबले समेत यो अप्सन ठीक हो । तर, सेकेण्ड ह्याण्ड बाइक खरीद गर्नुअघि तपाईंले केही बिषयहरुमा ध्यान दिनुपर्ने हुन्छ । यदि ध्यान नपुर्याई सेकेण्ड ह्याण्ड मोटरसाइकल खरीद गर्नुभयो भने तपाईंका लागि यो घाटाको व्यापार बन्नसक्छ । यही कारण यहाँ तपाईलाई प्रयोग भइसकेका मोटरसाइकल खरीदका के के कुरामा ध्यान दिने भन्ने बिषयमा हामी केही टिप्स बताउन गइरहेका छौ । 

सूचि बनाउने
जस्तो बाइक किन्न चाहनुभएको हो, सुरुमा त्यसको सूचि तयार गर्नुहोस् । आफ्नो आवश्यकताको हिसाबले त्यस्ता बाइकको सूचि तयार गर्नुपर्छ । जस्तै कि यदि तपाई प्रति घण्टा ४० देखि ४५ किलोमिटरसम्मको माइलेज दिने तथा राम्रो इञ्जिन क्षमता भएको मोटरसाइकल खरीद गर्ने सोंच हो भने तपाईले १५० सीसी मोटरसाइकलको बिषयमा सोच्नुपर्ने हुन्छ । एकपटक यस्तो सूचि बनाएपछि तपाईंलाई बजारमा आफ्नो आवश्यकता अनुसारको मोटरसाइकलको खोजी गर्न सजिलो हुन्छ । 

कहाँबाट खरीद गर्ने ?
यदि तपाईंले चिनिएको डिलर्सबाट मोटरसाइकल खरीद गर्नुभयो भने त्यस्तो ठाउँबाट राम्रो र खोजेजस्तै साधन पाउन सक्नुहुन्छ । किनभने यस्ता चर्चित सेकेण्ड ह्याण्ड बाइक खरीद गर्ने डिलरले अरुबाट त्यस्ता बाइक खरीद गरेर बिक्रीमा राख्दा त्यसका सबै कुरा राम्रोसँग जाँच गरेर राखेका हुन्छन् । तर, प्राइभेट सेल्सबाट चाहि खरीद गर्दा तपाईले धेरै जोखिम उठाउनुपर्ने हुन्छ । यदि तपाई बाइकको बिषयमा अनुभवी हुनुहुन्छ वा बाइकको मालिकको बिषयमा जान्नुहुन्छ भने चाहि यस्ता ठाउँबाट बाइक खरीद गर्दा पनि फरक पर्दैन । 

बाइक जाँच गर्ने
बाइकको चेकजाँच गर्न सधैं सही समयमा जाने गर्नुहोस् । यस्तो बाइकको जाँच सधैं दिनमा मात्र गर्नुहोस्, ताकि तपाईंले बाइकका सबै कमजोरी सहजै देख्न पाउनुहोस् । यस्तोे बेला आफूभन्दा बाइकको बिषयमा बढी अनुभवी व्यक्तिलाई साथमै लिएर जानु अझ बढी उत्तम हुन्छ । 

बाइकका केही बिषयमा बढी ध्यान दिने
बाइकका केही बिषयमा निकै ध्यान दिनुपर्ने हुन्छ । जस्तै ब्रेक । ब्रेकले सहजै काम गर्छ कि गर्दैन, हेर्नुहोस् । यसपछि यसमा कुनै कम्पन छ कि छैन भन्ने पनि चेक गर्नुपर्छ । त्यस्तै, तेल चुहावट पनि हेर्नुपर्ने हुन्छ । इञ्जिनको छेउछाउ तेल चुहिएको कुनै संकेत छ कि छैन त्यो पनि हेर्नुपर्छ । यदि बाइकलाई हालै सफा गरिएको छ भने तेल जहाँ चुहिएको हुन्छ, त्यो ठाउँ बाइकको अन्य ठाउँ भन्दा बढी चम्किलो हुन्छ । यस्तै बाइकको सर्भिस डिटेलको बिषयमा पनि जानकारी लिनुहोस् । 

क्लजलाई समेत यस्तो बेलामा राम्रोसँग जाँच गर्नुपर्छ । यसले राम्रो काम गरिरहेको छ कि छैन यो पनि हेर्नुपर्छ । यस्तै, बाइकको पूरा बडीलाई राम्रोसँग ध्यान दिनुपर्छ र कहीँ कतै स्क्र्याच भएको छ कि छैन, यसतर्फ पनि विचार गर्नुपर्छ । बाइकको चेनको अवस्था पनि जाँच गर्नुहोस् । बाइक कुद्दा चेनबाट आवाज पो आउँछ कि, यसतर्फ पनि ध्यान दिनुपर्छ । यस्तै, तपाईले लिन खोज्नुभएको बाइकको टायरको कण्डिसन पनि राम्रो हुनुपर्छ । यस्तै, तेल ट्यांकलाई समेत खोलेर हेर्नुपर्छ, कतै खराबी त छैन भनेर । 

कागजात चेक गर्ने
सेकेण्ड ह्याण्ड बाइक खरीद गर्नुअघि त्यसका कागजातमा पनि ध्यान दिनुपर्छ । ब्लु बुकमा उल्लेख भएको चेसिस नम्बर र गाडीको चेसिस नम्बरबीच मेल खान्छ कि खाँदैन भन्नेतर्फ पनि ध्यान दिनुपर्छ । बाइकको बिमा तिरेको छ कि छैन, कर तिरेको छ कि छैन, यसतर्फ पनि ध्यान दिनुपर्ने हुन्छ । यस्तै, सर्भिस सम्बन्धी कागजात पनि हेर्ने गर्नुहोस् । तपाईले लिइरहेको बाइक चोरीको होइन वा कुनै दुर्घटनामा फसेको छैन भन्ने कुरा सुनिश्चित गर्नुहोस् । 

टेस्ट ड्राइभ गर्ने
बाइक लिनुअघि आफूले एकपटक कुदाएर हेर्नुपर्छ । यसबाट तपाईलाई बाइकलाई कुन हालत वा अवस्थामा राखिएको छ भन्ने बिषयको सही जानकारी प्राप्त हुन्छ । यदि तपाई एक्सपर्ट हुनुहुन्न भने दोश्रो व्यक्तिलाई लिएर जानुहोस्, जसले तपाईलाई सही कुरा बताओस् ।