काठमाण्डौ । देशकै कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंकले आर्थिक वर्ष २०७३/७४ मा राम्रो प्रगति गरेको देखिएको छ । खूद नाफातर्फ यो बैंकको प्रगति औसत रहेको देखिए पनि पूँजीवृद्धि, जगेडाकोषतर्फको छलांग, खूद ब्याज आम्दानी र निक्षेप तथा कर्जा परिचालनतर्फको प्रगति सन्तोषजनक छ । 

यो बैंकले समीक्षा अवधिमा ४४ करोड ७४ लाख खूद नाफा आर्जन गरेको बित्तीय विवरण सार्वजनिक गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा ४१ करोड ३५ लाख थियो । तीनवटा साना संस्थालाई प्राप्ति गरेर सेञ्चुरी कमर्सियल बैंककै नाममा अगाडि बढेको यो कम्पनीको वास्तविक नाफा भने निकै माथि छ । यो बैंकले तीनवटा साना संस्थालाई गाभेपछिको नाफा मात्र बित्तीय विवरणको नाफाको महलमा जोडिएको र ती संस्था गाभिनुुअघि तिनीहरुले आर्जन गरेको रकम चाहि सोझै रिजर्बमा गएको छ । तीनवटा साना संस्थाले सेञ्चुरीमा गाभिएर एकीकृत कारोबार गर्नुअघि कमाएका करिब १७ करोड रुपैयाँ नाफामा जोडिएको छैन । यो रकम समेत जोड्दा सेञ्चुरीको वास्तविक नाफा ६१ करोड ५० लाख हुन आउँछ । 

यसरी हिसाब गर्दा यो बैंकको प्रति सेयर आम्दानीमा पनि केही संसोधन गर्नुपर्ने हुन्छ । बैंकले आफ्नो बित्तीय विवरणमा प्रतिसेयर आम्दानी ८.२० रुपैयाँ रहेको देखाएको छ । तर, नाफाको वास्तविक आकार ६१ करोड ५० लाख रहेकोले यसलाई हाल कायम सेयर संख्याले भाग गर्दा इपीएस ११.२६ रुपैयाँ हुन आउँछ । यो बैंकको हाल चुक्तापूँजी ५ अर्ब ४६ करोड रहेको छ । 

यो बैंकका अन्य अधिकांश सूचक पनि बलियो बन्दै गएका छन् । गत वर्ष ८७ करोड ९७ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर १ अर्ब १३ करोडको उचाईमा पुुगेको छ भने ५८ करोड ५३ लाखमा सीमित संचालन मुनाफा बढेर ६८ करोड ४१ लख पुुगेको छ । 

यो अवधिमा सेञ्चुरीले ४२ अर्ब ५९ करोड निक्षेप संकलन गरी ३९ अर्ब ५० करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष २८ अर्ब ९६ करोड निक्षेप संकलन गरी २५ अर्ब ८ करोड कर्जा परिचालन गरेको थियो । 

बैंकले समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा जगेडाकोषमा ५१८ प्रतिशतले फड्को मार्यो । अघिल्लो वर्षसम्म १९ करोड २० लाख रुपैयाँमा सीमित जगेडा कोषमा समीक्षा अवधिको अन्तसम्म १ अर्ब १८ करोड जम्मा भएको छ । 

साना कम्पनी गाभिएका कारण तिनीहरुबाट खराब कर्जा समेत स्थानान्तरण भएकोले बैंकको खराब कर्जा अनुपात ०.२२ प्रतिशतबाट बढेर १.१५  प्रतिशत पुुगेको छ । यो अवधिमा बैंकको प्रति सेयर नेटवर्थ १२१.७५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३५.३९ गुणा कायम भएको छ । 

३ अर्ब २० करोडमा सीमित चुक्तापूँजी वृद्धिका लागि हकप्रद र बोनसको बाटो रोजेर समेत यो बैंकको वास्तविक प्रतिसेयर आम्दानीमा सामान्य मात्र गिरावट आउनुुलाई औसत प्रदर्शन मान्न सकिन्छ ।