काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले निकै ठूलो संख्यामा बिक्री नभएको सेयरको लिलामी निकाल्ने भएको छ । 

बैंकका एक अधिकारीले जानकारी दिए अनुसार देशकै कान्छो वाणिज्य बैंक सेञ्चुरीले साउन १६ गतेदेखि १० बराबर ४ को अनुपातमा निश्कासन गरेको सेयरमध्ये करिब १० प्रतिशतको हाराहारीमा बिक्री नभएको हो । 

संस्थापक र साधारण समूहतर्फ गरी कुल १८ लाख २९ हजार बढी कित्ता सेयर अब बैंकले लिलामीबाट बिक्री गर्नेछ । 

हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धकको काम गर्दै आएको सिभिल क्यापिटल लिमीटेडको जानकारीलाई उद्धृत गर्दै बैंकका ती अधिकारीले दिएको जानकारी अनुसार बैंकले १४ लाख २० हजार बढी साधारण सेयर र ४ लाख ९ हजार बढी संस्थापक सेयर बिक्री भएन । यी सबै सेयर अब लिलामीबाट बिक्री हुनेछ । साधारण सेयरतर्फ इच्छुक सबै लगानीकर्ताले बोलपत्र पेश गर्न पाउनेछन् भने संस्थापक सेयरका लागि भने पहिलो चरणमा बैंककै संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । 

बैंकले केही दिनभित्रै लिलामीको मिति तथा अन्य विधि र प्रक्रियाको बारेमा सूचना प्रकाशित गरी जानकारी दिनेछ । 

सेञ्चुरी कमर्सियल बैंकको हालको चुक्तापूँजी ५ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । यो बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई अक्वायर गर्ने प्रक्रिया जारी छ । यी दुुई संस्था अक्वायरपछि र हकप्रद समेत निश्कासनपछि बैंकले सहजै चुक्तापूँजी ८ अर्ब पुर्याउनेछ ।