काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमीटेडले  साधारणसभाको मिति तोक्दै त्यसका लागि बुक क्लोज मिति समेत तय गरेको छ ।

चैत १९ गते बसेको बैंकको २८३ औं संचालक समितिको बैठकले साधारणसभा र बुक क्लोजको मिति तोकेको हो । 

बैंकले आफ्नो आठौं वार्षिक साधारणसभा बैशाख १२ गतेका लागि काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आह्वान गरेको छ । वार्षिक साधारणसभा प्रयोजनका लागि चैत २९ गतेदेखि बुक क्लोज मिति तोकिएको छ ।

यसको अर्थ बैंकको साधारणसभामा सहभागी हुन र बैंकबाट घोषित लाभांश पाउन इच्छुकले चैत २८ गतेभित्र यो कम्पनीको सेयर किनिसक्नु पर्नेछ ।
यो बैंकले आर्थिक वर्ष २०७४/७५ का लागि हालको चुक्तापुँजी ८ अर्ब २५ करोडको २ प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद लाभांश(करसहित)लाई नेपाल राष्ट्रबैंकले स्वीकृत गरिसकेको छ । 

लाभांश सम्बन्धी यो प्रस्ताव साधारणसभाबाट समेत पारित भएपछि मात्र सेयरधनीले पाउनेछन् ।