काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको सहायक संस्था सेञ्चुरी क्यापिटल मार्केट्स लिमीटेडले आफ्नो सेवाको औपचारिक थालनी गरेको छ । 

बैशाख ६ गते शुक्रबार एक समारोहका बीच नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले सेञ्चुरी क्यापिटलको काठमाण्डौको कमलादिस्थित काठमाण्डौ प्लाजामा एक समारोहका बीच पानसमा बत्ती बाल्दै ताम्रपत्र अनावरणसँगै औपचारिक उद्घाटन गरेका हुन् ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७३ साल साउन २६ गते दर्ता भई नेपाल धितोपत्र बोर्डबाट २०७५ साल फाल्गुण २ गते मर्चेन्ट बैंकिङ कारोवार गर्ने ईजाजत पाएको यो कम्पनीको अधिकृत पूंजी ३० करोड, जारी पूँजी २५ करोड र हालको चुक्ता पूँजी २० करोड रहेको छ । सेञ्चुरी कमर्सियल बैंक लिमीटेडको ८५.७५ प्रतिशत तथा व्यक्तिगत लगानीकर्ताको १४.२५ प्रतिशत संस्थापक शेयर रहेको छ ।

कम्पनी उद्घाटन कार्यक्रममा बोर्ड अध्यक्ष डा. कार्कीले अहिले ३१ औं मर्चेन्ट बैंकरको रुपमा सेञ्चुरी क्यापिटल आएकोले थुप्रै प्रतिस्पर्धा, चुनौतीहरु रहेका बताए । तालिमप्राप्त योग्य कर्मचारी, पर्याप्त अनुसन्धानसहित धितोपत्र बोर्डले ल्याएका नयाँ क्षेत्रका कामहरुलाई अवसरको रुपमा लिई अघि बढ्न उनले सुझाव दिए ।

समारोहमा सेञ्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र मर्चेन्ट बैंक एशोसिएशनका अध्यक्ष धु्रव तिमिल्सिनाले सबै अवसरहरुलाई सकारात्मक रुपमा लिएर चांडै उत्कृष्ट मर्चेन्ट बैंकरको रुपमा स्थापित हुन शुभकामना दिएका थिए ।

शुक्रबार नै सेञ्चुरी क्यापिटल मार्केट्स लि.ले आफ्नो दोश्रो बार्षिक साधारण सभा समेत सम्पन्न गरेको छ । सभाले संस्थागत परामर्श सेवा तथा विशिष्टिकृत लगानी व्यवस्थापक समेतको काम गर्ने गरी आफ्नो प्रबन्धपत्रमा उद्देश्य थप गर्ने निर्णय गरेको जनाएको छ ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत झविन्द्र खत्रीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका कानूनी सल्लाहकार पुरुषोत्तमप्रसाद घिमिरेले गरेका थिए ।

संस्थाका अध्यक्ष रणबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रम समापन गर्ने क्रममा उनले चांडै नै बहुआयामिक ढंगले संस्थाले  आफ्नो कारोवार सञ्चालन गर्ने  विश्वास दिलाएका थिए ।