काठमाण्डौ । वाणिज्य बैंकहरुबीच मर्जरको हल्ला जिवितै छ । तर, राष्ट्रबैंकको ‘नरम नीति’का कारण पछिल्लो समय यो मुद्धाले उत्साहप्रद ढंगले प्राथमिकता पाउन सकेको छैन । 

नेपाल राष्ट्रबैंकले समेत पछिल्लो समय औपचारिकता पूरा गर्नका लागि मात्र बैंकहरुलाई मर्जरको अपडेट सोध्ने गर्छ । फोर्स गरेरै कुनै बैंक विशेषलाई ‘मर्जरमा जाऊ’ भन्नसक्ने अवस्था र वातावरण राष्ट्रबैंकभित्रै पनि छैन । यसले मर्जरमा गएर बिलाउनुभन्दा जेनतेन आफ्नो नाम र ब्राण्ड जोगाएर आफैं अगाडि बढ्ने र बलियो बैंक बन्ने मिसनमा रहेकाहरुलाई अवसर दिएको छ । यस्तै अवसर छोप्ने पर्खाईमा छ देशकै कान्छो वाणिज्य बैंक, सेञ्चुरी कमर्सियल बैंक । 

गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको वित्तीय विवरण हेर्ने हो भने यो बैंकका अधिकांश सूचकहरु निराशाजनक छन् । तर, चालु आर्थिक वर्षको पहिलो त्रैमासदेखि भने यो बैंकले प्रमुख वित्तीय सूचकहरुमा आशलाग्दो सुधार गर्न थालेको छ । पहिलो त्रैमासको वित्तीय विवरणपछि बैंकका लगानीकर्ताहरु समेत आफ्नो लगानीको रिटर्न निकै राम्रो आउने कुरामा धेरै आशावादी बनेका छन् । 

पछिल्लो समय सेञ्चुरी बैंकलाई तीव्र सुधार गरी अगाडि बढाउने र बलियो संस्था बनाउने अभियानमा बैंकको व्यवस्थापनदेखि संचालकहरु समेत लागिपरेका छन् । यो प्रयासले कुनै न कुनै खालको सिनर्जी आउने र बैंकलाई प्रतिस्पर्धाको मैदानमा खरो उतार्ने बैंक टिमको तयारी छ । 

संचालकहरुका अनुसार बैंकलाई सवल बनाउँदै लैजाने योजनाअनुसार केही ठूला आकारका खराब कर्जाहरु रिकभरको प्रयास तीव्र गतिमा अगाडि बढेको छ । त्यस्ता ठूला कर्जाका कारण राष्ट्रबैंकले सोहीअनुसारको प्रोभिजनिङ गर्नुपर्ने बाध्यता खडा गरिदिएपछि यसले लाभांश क्षमतामा समेत हिट गर्ने विश्लेषणसहित बैंकका संचालकदेखि व्यवस्थापन तह नै त्यस्ता कर्जाको असूलीतर्फ केन्द्रीत भएका छन् । ‘प्रयास निकै सकारात्मक छ र यहीकारण समेत हामीले यसपटक समयमै वार्षिक साधारणसभा गर्न सकेनौ ।’ एक संचालकले बिजशालासँग भने–‘वार्षिक साधारणसभा पुसमा गर्न नसक्नु पछाडिको कारण लगानीकर्ताको हित हेरेर पनि हो । ठूला खालका कर्जाको रिकभर गरी लगानीकर्तालाई केही राम्रो रिटर्न दिन सकिन्छ कि भन्ने हाम्रो सोंच र प्रयास हो ।’ 

ती संचालकका अनुसार यसपटक सेञ्चुरी बैंकले कम्तीमा पनि ८ प्रतिशतसम्मको लाभांश घोषणा गर्नसक्नेछ । तर, त्यसका लागि अहिले भइरहेको ठूला कर्जा रिकभरको प्रयास सफल हुनुपर्छ । 

उनीहरुका अनुसार मुख्य यहीकारणले अड्किएको एजीएम माघभित्र गरिसक्ने रणनीति छ ।

अर्को वर्षदेखि भने सेञ्चुरी कमर्सियल बैंकले समेत लगानीकर्तालाई डबल डिजिटको लाभांश दिनसक्ने गरी सुधारका कामहरुलाई तीव्र पारेको संचालकहरु बताउँछन् । 

‘भोलिका दिनमा नेपाल राष्ट्रबैंकले एक्लै अगाडि बढेर समेत बलियो बन्नसक्ने गरी कुनै व्यवस्था ल्यायो भने त्यसका लागि पनि हामी तयार छौ ।’ एक संचालकले भने–‘हामी भरसक मर्जर वा एक्वीजिसनका नाममा अरुमा बिलय हुने पक्षमा छैनौ । आफैं अगाडि बढेर समेत बलियो संस्था बन्न सकिन्छ, साना संस्था ठूलामा बिलय नै हुनुपर्छ भन्ने बाध्यता केही हुन्न ।’ 

अन्य वाणिज्य बैंकका संचालकहरु झै सेञ्चुरीका संचालक तथा व्यवस्थापनका उच्च अधिकारी समेत आगामी गभर्नर र उनको नेतृत्वमा आउनसक्ने नीतिको पर्खाईमा रहेका जस्तो देखिन्छ । अहिलेको गभर्नर डा. चिरञ्जिवी नेपालको कार्यकाल सकिन अब केही महिना मात्र बाँकी छ । तसर्थ अधिकांश बैंकका संचालक अब आउने गभर्नरले लिनसक्ने नीतिको व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् । 

सो अवधिसम्म सेञ्चुरीले मर्जरको प्रयास गर्दै नगर्ने कुरा पनि सत्य नभएको संचालक बताउँछन् । ‘हामी अहिले पनि केही बैंकसँग कुराकानी गरिरहेका छौ, तर कुरा मिलिहाल्ने अवस्था भने देखिन्न ।’ संचालकहरु भन्छन्–‘यो अवधिमा हाम्रो उपस्थिति कमजोर भएका प्रदेशस्तरका कुनै वित्तीय संस्थालाई अक्वायर गर्नसक्ने अवस्था चाहि बन्नसक्छ ।’ 

यो बैंकले केही समयअघिदेखि प्राइम कमर्सियल बैंकसँग पनि मर्जरको छलफल अगाडि बढाएको थियो । प्राइम र सेञ्चुरीबीच मर्जरको छलफलले निश्कर्ष पाउनै लाग्दा राष्ट्रबैंकको मर्जरमा नरम नीति आएपछि दुवै बैंकका संचालक ‘पर्ख र हेर’को रणनीतिमा फर्किएका थिए । 

‘अहिले पनि प्राइमसँग हाम्रो मर्जर संभव हुनसक्छ ।’ संचालकहरु भन्छन् ।