काठमाण्डौ । सेती फाइनान्स लिमीटेडले बिक्री नभएको संस्थापक सेयर फेरि लिलामीमा राखेको छ । चैत ११ शुक्रबारदेखि संस्थापक सेयरधनीले समेत किन्न इच्छा नदेखाएको कुल १ लाख ८० हजार ३५ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि लिलामीमा राखेको हो । 

यसअघि बिक्री नभएको संस्थापक सेयर अस्तित्वमा रहेका संस्थापक सेयरधनीका लागि लिलामी खुलाइएको थियो । तर उनीहरुले दाबी नगरेपछि बिक्री नभएको सेयर सर्वसाधारणका लागि लिलामीमा राखिएको हो । 

यो फाइनान्स कम्पनीले लिलाम राखेको सेयरका लागि चैत १७ गतेभित्र आवेदन दिइसक्नुुपर्ने र चैत २० गते लिलामीको नतिजा सार्वजनिक हुने बताइएको छ । 

लिलाममा सहभागी हुन चाहनेले प्रति कित्ताका लागि न्यूनतम १ सय रुपैयाँ र अधिकतम बजार मूल्य हेरी आफूलाई उपयुक्त लाग्ने मूल्य बिड गर्न सक्नेछन् । इच्छुक लगानीकर्ताले न्यूनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्नेछ । 

एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेड लिलामी प्रक्रियाका लागि बिक्री प्रबन्धक तोकिएको छ। 

फाइनान्स कम्पनीले लिलामीमा सहभागी हुन चाहनेहरुलाई कैलालीको टिकापुरमा रहेको सेती फाइनान्सको मुख्य कार्यालय तथा काठमाण्डौको लाजिम्पाटमा रहेको एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेडको मुख्य कार्यालयमा गएर आवेदन दिन आह्वान गरेको छ । 

लिलामी प्रक्रियामा सहभागी हुन चाहने लगानीकर्ताले सेती फाइनान्सको सिद्धार्थ बैंक हात्तीसार, काठमाण्डौमा रहेको ००११५१७४१३० नम्बरको खातामा रकम जम्मा गर्न सक्नेछन् । सेती फाइनान्सको बिहीबारको अन्तिम सेयर कारोबार मूल्य प्रतिकित्ता २ सय ३६ रुपैयाँ रहेको छ ।