महत्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका सशस्त्र र नेपाल प्रहरीलाई सीमाको सुरक्षामा खटाइने भएको छ । कारागार, विकास निर्माण आयोजनालगायतका महत्वपूर्ण संरचनाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई  सीमामा पठाउन लागिएको हो । 
 
आज गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा गृह मन्त्रालयमा बसेको सुरक्षा बैठकमा यससम्बन्धी प्रक्रिया अगाडि बढाउने निर्णय भएको मन्त्रालयले जनाएको छ । कोभिड–१९ ले निम्ताएको समस्या निराकरणका लागि सीमा क्षेत्रमा थप कडाइ गर्ने उद्देश्यले सो निर्णय गरिएको हो । 
 
बैठकले सीमाबाट लुकिछिपी प्रवेश गर्ने क्रम नरोकिएको भन्दै त्यसरी प्रवेश गर्नेलाई कडा कानूनी कारवाही गर्नुपर्ने निश्कर्षसमेत निकालेको छ ।
 
बैठकले भारतमा रहेका नेपालीलाई कोरोनाबाट सुरक्षित राख्न आवश्यक पहल तथा सीमा सुरक्षाका विषयमा भारत सरकारसँग छलफललाई तीव्रता दिने निर्णय पनि गरेको छ । 
 
बैठकमा गृहमन्त्री थापाले कोरोना सङ्क्रमणको केन्द्र चीन, युरोप, अमेरिका हुँदै अब दक्षिण एशियातर्फ बढ्न लागेकाले खुला सीमाना रहेको कारण नेपालले अब विशेष सावधानी अपनाउन आवश्यक रहेको बताउनुभयो ।
 
उहाँले  सीमामा थप कडाइ गर्न र रातको समयमा थप गस्ती बढाउन सुरक्षा निकायलाई निर्देशन समेत दिनुभयो । गृहमन्त्री थापाले सीमावर्ती जिल्लामा सुरक्षाकर्मीको समन्वयमा सबै वडास्तरमा समुदायको सहयोगमा स्वयंसेवक परिचालन कमिटी गठन गरी सीमाबाट हुने अवैध प्रवेशलाई निरुत्साहित गर्ने कार्यक्रम बनाउन निर्देशन दिनुभयो । सीमामा खटिएका सुरक्षाकर्मीका लागि आवश्यक स्रोतसाधनको व्यवस्थापनका लागि मन्त्रालयले प्रक्रिया अघि बढाएको बैठकमा जानकारी गराइएको छ । 
 
बैठकमा गृहसचिव, परराष्ट्र सचिव, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका रथीलगायतको उपस्थिति थियो । यसअघि मन्त्रालयले सीमावर्ती जिल्लामा १४ हजार सुरक्षाकर्मीलाई बढाएर २२ हजार ५०० पु¥याएको थियो ।