काठमाण्डौ । धितोपत्र बोर्डले शिवम् सिमेन्ट्सको आइपीओ मूल्य घटाएको छ । 

अब आयोजना प्रभावित र सर्वसाधारणले पहिला तोकिएको भन्दा १०० रुपैयाँ सस्तोमा यो कम्पनीको आइपीओ पाउनेछन् । 

यसअघि शिवम सिमेन्टले आयोजना प्रभावितका लागि १०० रुपैयाँ अंकित मूल्यमा २०० रुपैयाँ प्रिमियम तोकेर प्रतिकित्ता ३०० रुपैयाँको दरले आइपीओ निश्कासन गरेको थियो । तर, निकै न्यून आवेदन परेको थियो । 

यस्तै, यो कम्पनीले दोश्रो चरणमा सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरमा ३०० रुपैयाँ प्रिमियम जोडी प्रतिकित्ता ४०० रुपैयाँको दरले आइपीओ निश्कासनको घोषणा गरेको थियो । 

लामो समयदेखि यो कम्पनीको आइपीओको  बिषय अनिर्णित अवस्थामा थियो । नेपाल बैंकको एफपीओमा अण्डरराइटरहरुले गैरकानूनी ढंगले सेयर बेचेको प्रकरण बाहिर आएपछि र अण्डरराइट गर्नेहरु नै समस्यामा परेपछि शिवम सिमेन्टको आइपीओ अण्डरराइट गर्ने एनआइबिएल एस क्यापिटलले समेत आइपीओ मूल्य परिमार्जन हुनुपर्नेमा माग राखेको थियो । आइपीओको साबिकको मूल्य परिमार्जन नभएसम्म आफूले शिवम्मा अण्डरराइट गर्न नसक्ने उसले अडान लिएपछि बदलिएको अवस्थाको आधारमा धितोपत्र बोर्डले आइपीओको भाउ घटाएको हो । 

बोर्डस्थित उच्च स्रोतका अनुसार शिवम सिमेन्टले सर्वसाधारणका लागि प्रतिकित्ता ३०० रुपैयाँको दरले आइपीओ निश्कासन गर्नेछ । 

यसअघि रु. ३०० मा आइपीओ खरीदका लागि आवेदन दिएका आयोजना प्रभावितले अहिले कायम भाउ अनुसार बढी हुने रकमको समेत थप सेयर पाउनेछन् भने नयाँ स्थानीयलाई प्रतिकित्ता २०० रुपैयाँको दरले आइपीओ खरीदको अवसर दिइनेछ । 

यो कम्पनीको आइपीओको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । क्यापिटल स्रोतले समेत शिवम् सिमेन्टको आइपीओ भाउ धितोपत्र बोर्डले घटाइदिएको प्रष्ट पारेको छ । 

कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब ४० करोडको १२ प्रतिशतले हुन आउने ५२ करोड ८० लाख रुपैयाँ बराबरको लगानी आयोजना प्रभावित र सर्वसाधारणबाट जुटाउने उद्देश्यले आइपीओ जारी गर्न लागेको हो । 

आयोजना प्रभावितका लागि ८ लाख ८० हजार कित्ता छुट्याइएको छ भने बाँकी ४४ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । सर्वसाधारणका लागि जारी गर्ने भनिएको ४४ लाख कित्तामध्येबाटै २ लाख २० हजार कित्ता सामूहिक लगानीकोषका लागि र कम्पनीका कर्मचारीका लागि २ लाख २० हजार नै सुरक्षित गरिएको छ । 

यो कम्पनीले उद्योग प्रभावित(आयोजना प्रभावित)का लागि गत साउन १३ गतेदेखि भदौ ११ गतेसम्म आइपीओ निश्कासन गरेको थियो । सो बेला कुल निश्कासित कित्तामध्ये मुश्किलले २३ प्रतिशत सेयर मात्र बिक्री भएको थियो ।