काठमाण्डौ । पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्षको रुपमा ४ वर्षे कार्यकाल सकिएको ३ महिनापछि डा. रेवतबहादुर कार्की सेन्टर फर माइक्रोफाइनान्स नेपालको कार्यकारी अध्यक्ष नियुक्त भएका छन् । 

डा. कार्कीको धितोपत्र बोर्डको अध्यक्षको कार्यकाल असोज तेश्रो साता सकिएको थियो । 

उनी नियुक्त भएलगत्तै आफ्नो फेसबुक स्टाटसमा सेन्टर फर माइक्रोफाइनान्स(सिएमएफ) नेपालको कार्यकारी अध्यक्षको रुपमा जागिर सुरु गरेको बताएका छन् । 

उनी संस्थाको अध्यक्ष भएलगत्तै माघ २ गते बिहीबार नेपाल लघुवित्त बैंकर्स संघसँग सहकार्यको सम्झौता समेत भएको छ । 

नेपालमा लघुवित्तको आर्थिक सामाजिक प्रभावको वृहत अध्ययन गर्ने सम्बन्धमा सिएमएफले लघुवित्त बैंकर्स संघसँग सहकार्यको सम्झौता गरेको हो । 

हाल नेपालमा संचालनमा रहेका ९१ लघुवित्त वित्तीय संस्थाहरुले देशको आर्थिक सामाजिक क्षेत्रको विकास परिचालनमा उल्लेख्य योगदान दिएका सिएमएफको मान्यता छ । तर, हालसम्म लघुवित्तहरुले आर्थिक सामाजिक क्षेत्रको विकासमा पुर्याएको योगदानको विषयमा कुनै खोज तथा अनुसन्धान भएको छैन । यस्तै विषयमा खोज गर्न सिएमएफ र लघुवित्त बैंकर्स संघबीच सम्झौता भएको बताइएको छ । 

सिएमएफले सन् २०२१ मा पाँचौ राष्टिय लघुवित्त सम्मेलन समेत आयोजना गर्दैछ । सोही सम्मेलनका लागि समेत उपयोगी हुने र राष्टिय तथा अन्तराष्टिय क्षेत्रले समेत मान्य हुने किसिमले अध्ययन गर्न लागिएको डा. कार्कीले जानकारी दिए । एक वर्षभित्र सक्ने लक्ष्य लिइएको अध्ययनको क्रममा सिएमएफले लघुवित्तको प्रभाव मुख्यगरी गरीबी निवारण, कृषि, सेवा र औद्योगिक उत्पादन, सामाजिक दन्द, आर्थिक सामाजिक परिचालनमा महिला नेतृत्व विकास, महिलाविरुद्धको हिंसा आदिको विषयमा खोजी गरिने बताइएको छ ।