काठमाण्डौ । विवाहपछि एउटा प्रोजेक्टमा जागिरे भएकी सिर्जना सुवेदी त्यहाँ धेरै दिन टिकिनन्, कारण थियो आफैं केही गर्नुपर्छ र पैसा कमाउनुपर्छ भन्ने उनीभित्रको हुटहुटी । त्यही हुटहुटीले उनलाई सेयर बजारतर्फ तान्यो । बजारलाई राम्रोसँग अध्ययन गरेर प्रवेश गरेकी सुवेदी अहिले चल्तीकी लगानीकर्ता हुन् । उनले कुनै समय गरेको लगानीले अहिले राम्रो प्रतिफल दिइरहेको छ । उनी भन्छिन्–‘सेयर बजारमा निकै ठूलो संभावना छ । बुझेर लगानी गर्ने हो भने निकै ठूलो आम्दानी गर्न सकिन्छ ।’

सुवेदी नेपाल इन्भेष्टर्स फोरमको कार्यसमिति सदस्य पनि हुन् । उनले ०६५ सालदेखि सेयरमा लगानी गर्न थालेकी हुन् । 

बालकोटकी स्थायीबासी सुवेदीले जागिर छाडेपछि सेयर मार्केटको बिषयमा अध्ययन गर्न थालिन् । सोही क्रममा ०६५ सालमा सिटिजन्स बैंकमा सेयर खुल्यो, जहाँ उनले १२० कित्ताका लागि आवेदन दिएकी थिइन् । उनलाई २० कित्ता मात्र पर्यो । तीनघण्टा लाइन बसेर आइपीओ भरेको त्यो दिन उनलाई लाइन बस्दाको पीडा भन्दा पनि सेयरमा लगानी गर्दाको खुशी बढी थियो । उनी भन्छिन्–‘त्यसपछि जति आइपीओहरु खुले नि, कुनैमा पनि मैले आवेदन दिन छुटाएको छैन । यसपछि परिवारका सदस्यहरुलाई पनि आइपीओ भराउनतर्फ लागेँ ।’

प्राथमिक बजारमा लगानी गर्न थालेपछि उनको उत्साह र आत्मविश्वास बढ्दै गयो । यहीकारण उनले आइपीओसँगै दोश्रो बजारमा समेत लगानी गर्न थालिन् । लगानीमा विविधिकरण गर्दै आक्रामक रुपमा अगाडि बढेपछि सुवेदीसँग पैसाको अभाव भयो । 

‘त्यसपछि मैले मेरा गहना बेच्दै सेयरमा लगानी गर्न थालेँ ।’ सुवेदी भन्छिन्–‘विवाहमा मेरा आफन्तले दिएका गहना(गिफ्ट) पनि बेचिदिएँ । मलाई सेयरको नशाले यति छोपिसकेको थियो कि मैले मेरो श्रीमानले दिएको मंगलसूत्र नै बेचिदिएँ ।’

 

यो अवधिमा सुवेदीका पतिले आफ्नै विजिनेश चलाइरहेका थिए । उनी आर्थिक रुपमा आत्मनिर्भर बन्न चाहन्थिन, त्यही भएर आफ्ना आर्थिक समस्याको बिषयमा पतिलाई कहिल्यै भनिनन् । बरु आफ्नै गहना बेच्दै सेयरमा लगानी गर्न थालिन्, आर्थिक गर्जो टार्दै गइन् । 

सुवेदीमा सेयरप्रति विचित्रको प्रेम छ । यहीकारण उनले लामो समयसम्म सेयर किनेर राखिन् मात्र, बिक्री गरिनन् । ‘सेयरको मलाई यति धेरै माया लाग्ने कि बेच्नै मन लागेन ।’ उनले भनिन्–‘जति सकिन्छ सेयर कलेक्सन गरेर राख्नुपर्छ भन्ने लाग्यो, त्यही भएर लगातार किनिरहेँ मात्र ।’ 

सेयरमा आक्रामक ढंगले लगानी गर्न थालेपछि उनको गरगहना सबै सकिएको थियो । त्यसबेलाको पार्टी तथा विवाह भोज वा यस्तै जमघटमा जाँदा उनका आफन्त तथा साथीभाई गहनाले पुरिएर आउँथे, तर उनी चाहि रित्तै हुन्थिन । ‘म त्यस्ता समारोहमा सिम्पल लुगा र सामान्य भएर जान्थेँ ।’ उनले भनिन्–‘लगाउनै परेको अवस्थामा नक्कली गहना लगाउन थालेँ, धेरैले त कुरा पनि काटे होलान् ।’ 

सेयरमा लगानी गर्न एडिक्ट झै बनेकी सुवेदीले आफ्नी छोरी जन्मिएपछि उनलाई आफन्तले दिएका सुनका गिफ्टहरु समेत बेचिन् । त्यसबेला भने उनकी आमा छोरीको अवस्था देखेर रोएकी थिइन् । ‘मेरी छोरीले गहना पनि बेची, नातिनीको गहना पनि सबै सकी, सेयरमा सबै पैसा डूबाई भन्दै मेरी आमा रुनु हुन्थ्यो ।’ उनले विगत स्मरण गर्दै भनिन्–‘मेरी सानी छोरीको गहना बेच्दा उहाँ बेस्सरी रुनु भएको अहिलेजस्तो लाग्छ, तर अहिले मैले अब मेरी छोरीले खुट्टादेखि शीरसम्मै सुनका गहनाले पुरिदिने हैसियत बनाएको छु, यो सबै सेयरकै कारणले हो, मेरी आमा पनि अहिले खुशी हुनुहुन्छ ।’ 

विगतमा छोरीले सेयरमा पागलजस्तै भएर गरेको लगानीले अहिले राम्रो रिटर्न  दिएको र आर्थिक अवस्था समेत मजबुत बनाएको देखेपछि आफ्नी आमाले गर्व गर्ने गरेको सुवेदी सुनाउँछिन् । सुवेदीजस्तै देशका गृहिणीहरु समेत सेयर बजारमा आउनसक्छन्, उनीहरुका लागि उनको मन्त्र चाहि के हो त ? सुवेदी भन्छिन्–‘पहिला बजारको अध्ययन गर्नुपर्छ, लगानी गर्न खोजेको कम्पनीको अवस्था राम्रोसँग बुझ्नुपर्छ । बुझेर लगानी गर्नेले दुःख पाउँदैन र त्यसको लगानी पनि डूब्दैन ।’ 

मानिसहरुले सेयर बजारलाई जूवाघर भन्दा सुवेदीको चित्त दुख्छ, त्यस्ता अवधारणा राख्नेप्रति आक्रोश पोख्दै सुवेदी भन्छिन्–‘सेयर बजार जूवाघर होइन, यो त दिमागको खेल हो । यहाँ जति धेरै स्टडी गर्यो, उति फाइदा हुन्छ ।’

उनले आफूले कुनै पनि कम्पनीको १५ दिनको अवधिको प्रदर्शनलाई नियाल्ने र त्यसकै आधारमा खरीद वा बिक्रीको निर्णय लिने समेत सुनाइन् । ‘मूल्य घट्दा किन्छु र बढ्दा बिक्री गर्छु ।’ उनले भनिन्–‘हाईमा खरीद नगर्नु र लोमा बिक्री नगर्नु, मेरो सेयर मन्त्र यही हो ।’