-भक्तराज रसाइली
काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले घरायसी तथा मृत्यु नामसारीको सहज व्यवस्था गरेपनि व्यक्तिगत नामसारीमा बनाएको अव्यवहारिक व्यवस्थाले लगानीकर्ताहरुले अनाहकमा दुःख पाइरहेका छन् । 

हाल मोफसलमा रहेका डीपीका शाखाहरुबाट घरायसी तथा मृत्यु नामसारी गर्ने व्यवस्थाले सहज बनिरहेका बेला स्वयम् व्यक्तिगत नामसारी गर्न भने राजधानीस्थित सिडिएससीकै कार्यालय पुतलीसडक नै धाउनुपर्ने बाध्यता रहेको छ । 

एउटा डीपीबाट अर्को डीपीमा कुनै एक व्यक्तिको डिम्याटमा रहेको सेयर ट्रान्सफर गर्नुपर्दा सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा नै स्वयम् उपस्थित हुनुपर्ने अनिवार्य प्रावधान छ । कुनै एक व्यक्तिको दुई फरक डीपीमा खोलिएका डिम्याट खातामा रहेका सेयर एउटैमा ल्याउन दुवै डीपीबाट डिम्याट खोलेको कन्फर्मेसन लेटर आवश्यक पर्छ । सेयर ट्रान्सफर गर्नका लागि राख्न चाहेको डिम्याट(क डीपी)मा विद्यमान रहेको डिम्याटबाट(ख डीपी)मा चिठी बनाई सक्कल नागरिकताका साथ स्वयम् उपस्थित भई सिडिएस एण्ड क्लियरिङ लिमिटेडको केन्द्रीय कार्यालय पुतलीसडक नै धाउनुपर्ने बाध्यता रहेको छ । 

दुवै डिम्याट कुनै एक कम्पनीका बोनस सेयर फ्र्याक्सनमा आउँदा लगानीकर्तालाई घाटा पर्न सक्दछ भने दुईवटा डिम्याट हुँदा विभिन्न कम्पनीका हकप्रद सेयर आवेदन छुट्न सक्दछ । 

उसो त नेप्सेको अनलाइन प्रणालीमा पनि एउटा मात्र डिम्याट खाताको युसीसी जेनेरेट हुने भएकाले समेत धेरै डिम्याट खातामा सेयर लगानीकर्ताले राख्न रुचि नदेखाएका पाइन्छन् । 

यो व्यवस्था राजधानीमा रहेका लगानीकर्ताहरुलाई सहज भएतापनि मोफसलमा रहेका लगानीकर्ताहरुका लागि थप व्ययभार र झञ्झट परेको लगानीकर्ता शालिकराम ढुङगेल गुनासो गर्छन् । विभिन्न प्रयोजनार्थ लगानीकर्ताहरुले सेयरहरु डिम्याट खातामा रहेका सेयरहरु ट्रान्सफर गर्दै आएका छन् । सिडिएससीको प्रादेशिकस्तरमा शाखा कार्यालयहरु नहँुदा देशका कुनाकुनाबाट राजधानी आउनुपर्ने बाध्यता रहेको छ ।

केही समय अघिदेखि जसरी सिडिएससीले घरायसी र मृत्यु नामसारी गर्ने अधिकार डीपीहरुलाई नै सुम्पेको छ । बैंकहरुका डीपी शाखामार्फत् प्रायः स्थानीय तहसम्म पुगेका डीपीका शाखा र देशका मुख्य सहरहरुमा रहेका ब्रोकरका डीपी शाखाबाट  घरायसी र मृत्यु नामसारी हुने व्यवस्थाझैं व्यक्तिगत नामसारी पनि डीपीका शाखाहरुबाटै  सेयर हस्तान्तरण गर्न सहजीकरण गर्नुपर्ने लगानीकर्ताहरुको आग्रह छ ।