-भक्तराज रसाइली
काठमाण्डौै । मुलुककै अर्थतन्त्रको ऐना मानिने नेपालको सेयर बजार विस्तारै विस्तारित, समावेशी र अत्याधुनिक बन्दै गएको छ । सेयर बजारलाई मिलेनियरहरुको क्रीडास्थल संज्ञा दिने पनि छन् । सेयर बजारमा प्रवेश गरेको छोटो समयमै बुद्धिमतापूर्वक लगानी गर्नेहरुले अपत्यारिलो गतिमा पैसा  कमाएर  थुप्रै उदाहरण पेश गर्ने समेत नेपालका बजारमा छन् । 

पछिल्लो समय सेयर बजार घटेर चौपट भइरहेको बेला र यस्तो बजारमा गरिएको लगानी डूब्छ भनी दुष्प्रचार भइरहेको बेला यही बजारमा सीप हुनेले करोडौं कमाएर देखाएका छन् । विवेकपूर्वक लगानी गरे सेयर बजारले मानिसको आर्थिक हैसियत दिन दुईगुणा रात चौगुणा बढाइदिएको छ । यस्तै, एक पात्र हुन् सम्झना सिलवाल(अर्याल) ।

नेपालको पूँजी बजारमा महिलाको उपस्थिति सम्माननीय र बिशेष आकर्षण क्षेत्र बनिरहेको छ । नेपाली सेयर बजारमा महिलाहरु पनि पुरुषसरह सेयरबाट करोडपति हुने अभिलाषाका साथ होमिने थालेका छन् । बिहान बेलुकी घरको काम सकेर दिउँसोको समयलाई सदुपयोग गर्दै सेयर ब्रोकरका अफिसमा महिला उपस्थिति बाक्लिँदै गएको देखिन्छ । यही भीडमा एक सफल महिला सेयर लगानीकर्ताको रुपमा स्थापित छिन् सम्झना । 

गोर्खाको नारेश्वर स्थायी घर भएकी अर्याल २०६५ सालभन्दा केहीअघि सेयर बजारमा प्रवेश गरेकी हुन् । सेयर बजारमा प्रवेश गरेको १० वर्षमै उनले यहाँबाट मनग्गे पैसा कमाएकी छिन् । 

०६५ सालदेखि प्राथमिक बजारमार्फत उनले सेयर बजारमा पाइला हालेकी हुन् ।  दोस्रो बजारमा भने उनको प्रवेश बैंक अफ काठमाण्डौ र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर खरीद गरी भएको हो । 

२०६९ सालबाट श्रीमानले सम्हालिआएको पोर्टफोलियो समेत सम्हालेर दोश्रो बजार प्रवेश गरेकी हुन् । त्यसपछि उनले कहिल्यै पछाडि फर्कनु परेन । 

उनले बजार प्रवेश गरेको छोटो समयमै मनग्गे पैसा कमाएर जग्गा, घर तथा सुनका गरगहना समेत जोड्न भ्याइसकेकी छिन् । बजार प्रवेश गरेर डूब्नेहरु मात्र देखिरहेका लगानीकर्ताका लागि मिलाएर सेयरमा लगानी गर्दा त्यसले उभो लगाउँछ भन्ने उदाहरणीय पात्र समेत हुन् ४२ वर्षीया अर्याल ।  

नेप्से ३१५ हुँदा ताका सेयर बजार प्रवेश गरेकी हुन् । श्रीमानको कार्गो व्यवसाय र आफ्नो सेयर बजारबाट गुजारा चलाउने उनी ३ छोरीकी आमा पनि हुन् । ३ छोरीमध्ये जेठी छोरीको विवाह खर्च र अष्ट्रेलिया जाने खर्च पनि सेयरको कमाइबाट जोहो गरिन् । माइली छोरी सीए र कान्छी छोरीलाई ९ कक्षा पढाउँदै छिन्, पढाई खर्च समेत उनले सेयरबाटै गरेको कमाईले धानिरहेकी छिन् ।

उनले सेयरबाट गरेको कमाईले कलंकीको दहचोकमा घडेरी, बालाजु(वनस्थली)मा घर मात्र ठड्याएकी छैनन् प्रत्येक महिना घर चलाउन आवश्यक २ लाख रुपैयाँको जोहो समेत सेयर बजारबाटै गर्छिन् । 

उनले लगानी गरेका करिब २ लाख कित्ता सेयरमध्ये ८० प्रतिशत विभिन्न वाणिज्य बैंक, बित्तीय संस्था, बिमा तथा माइक्रो फाइनान्स कम्पनीका संस्थापक सेयर छन् । 

‘ब्रोकर नं. ३ की सिन्धु रेग्मीको प्रेरणाले म सेयर बजारमा आएकी हुँ।’–उनले भनिन् । 

सेयर बजार बिज्ञ रबिन्द्र भट्टराईसँग १५ दिने कक्षा लिएर उनी सुझबुझका साथ बजारमा प्रवेश गरेकी थिइन् । सेयर बजारमा खरीदबिक्री गर्न माहिर उनी बाँचुञ्जेल यही क्षेत्रमा सक्रिय रहने बताउँछिन् ।

छरछिमेकीले ‘कता जान लागेको’ भन्दा  गौरबसाथ ‘सेयरबजार हिँडेकी’ भन्न रुचाउने उनी सेयरबजारमै रमाउन पाएकोमा मख्ख छिन् नै १५ जना अरु महिलाहरुलाई सेयर बजार प्रवेश गराउने र लगानी गर्न सिकाउने काम पनि गरेकी छिन् । ती १५ जना पनि अहिले सेयर बजारमा रमाइरहेका उनको भनाई छ । 

गाउँमा छँदा किराना पसल संचालन गरी पैसा खेलाउने बानी परेकी उनी सेयर बजारमा लगानी गरी विभिन्न कम्पनीको मालिक बन्न पाएकोमा उत्तिकै खुशी छिन् ।

‘सफल लगानीकर्ता बन्न बलियो आत्मबल, आत्मविश्वास चाहिन्छ।’ बिजशालासँग उनले भनिन्–‘पैसालाई ३ भाग लगाएर लगानी गर्ने, अर्थात् सेयर एकैपटक धेरै नकिन्ने ।’ 

उनले कुनै कम्पनीको सेयर किन्नुअघि सो कम्पनीको कमाई, लाभांश इतिहास, कम्पनीको लगानी क्षेत्र लगायतको बिषयमा आधारित रहेर मिहीन अध्ययन विश्लेषण गर्ने गर्छिन् । अल्पकालीन र दीर्घकालीन लगानी रणनीति बनाएर विवेकपूर्ण ढंगले लगानी गर्न सके सेयरबजारबाट कसैले पनि घाटा खान नपर्ने उनको भनाई छ ।

घरधन्दा सकी दिउँसोको समयमा सुतेर, टीभीमा सिरियल हेरेर  र अर्काको कुरा काटेर समयको दुरुपयोग गर्नुभन्दा सेयर बजारमा लगानी गर्न सिकेर सानो सानो रकम पनि क्रमशः लगानी गर्दै जाने बानी बसाले त्यसले निकै मजबुत आर्थिक जग तयार गर्ने र कामकाजी महिलाहरुको जीवनमा पैसाको अभाव हटाउने उनको सुझाव छ । 

घरका महिलाहरु फुर्सदको समयमा त्यतिकै बस्नुभन्दा बजारमा आएर कुरा बुझी लगानी गरे त्यसले महिलालाई आर्थिक रुपमा समेत आत्मनिर्भर बनाउने उनी बताउँछिन् । 

सेयर लगानीकर्ताको हकहितका लागि भनी खोलिएका कुनै पनि संघ वा संगठनमा उनको आबद्धता छैन । उनको भनाईमा बजारको विकास तथा लगानीकर्ताको हित बग्रेल्ती खुलेका संघसंस्थाबाट हुन सक्दैन ।

‘सेयर बजार भनेको कसैले बढाएर बढ्दैन,  न त घटाएरै घट्छ ।’ उनले भनिन्–‘नियम नै बढेर घट्ने भएकाले बेला आउनुपर्छ, नेप्से स्वतः बढ्छ । हरेक ४–५ वर्षमा त्यो बेला आउँछ, हडबडिएर लगानी गर्नहुन्न। तपाई हेर्दै जानुहोला, एकदिन नेप्से २५ सयको विन्दूमा पुग्नेछ ।’

कम्युनिष्ट सरकारका कारण मारवाडी समुदाय भयभीत हुनु र सरकारी पक्षबाट ढुक्कले लगानी गर्ने वातावरण तयार नभएका कारण पनि नेप्सेले अपेक्षित गति लिन नसकेको उनको भनाई छ । पछिल्लो समय बजार निरन्तर ओरालो लाग्ने अन्य कारणको रुपमा उनले बैंकको ब्याजदर र सेयरको अधिक आपूर्ति ठान्छिन् । ‘तर कुनै पनि व्यक्तिको आत्मामा हरि नहुनाले बजारमा आएर लगानी गर्न खोज्नेले हल्लाको पछि लाग्नुहुन्न ।’ उनले थपिन्–‘अध्ययन र आत्मविश्वासका साथ व्यवस्थित लगानी गर्न सके सेयरबाट राम्रो कमाउन सकिन्छ ।’ 

‘सेयर बजार अवसरको भल हो’ भन्न रुचाउने उनी भल बगेर आएको बेला ठ्याक्कै समाउन सक्नुपर्ने र यस्तो मौकामा लगानीकर्ताले समाउन सके ऊ सफल हुने दाबी गर्छिन् । उनकै भाषामा २ पटकसम्म अवसरको यस्तो भल उनले समेत समाउने सफलता पाएकी छिन् । ‘नेप्से ११ सय र १८ सय माथि पुगेको बेला मैले पनि बजारमा कहिलेकाही मात्र आउने यस्तो अवसरको भल समाउने मौका पाएँ ।’ उनले थपिन्–‘यही मौकाले मलाई करोडपति बनाइदियो ।’

वर्षमा १५ लाखको हाराहारीमा नगद लाभांश मात्र बुझ्ने सम्झना सेयरबाट हुने आफ्नो नियमित कमाई राष्ट्रबैंकका हाकिमका तलब सोसरह रहेकोमा प्रफूल्ल छिन् ।

उनीजस्तै बजारमा प्रवेश गरेर कमाउन चाहनेहरुले के के कुरामा ध्यान पुर्याउनुपर्ला त ? बिजशालाको प्रश्नमा उनले सटिक जवाफ दिंदै भनिन्–‘ बेचेको भन्दा घटेको मूल्यमा किन्ने, प्रोफिट टार्गेट तय गर्ने अनि सही समय छानेर बेच्ने । अरुको कुरा नसुन्ने, हल्लामा नदौडिने र अलिकति नाफामा खुशी बन्न सके सेयरबाट मनग्यै कमाउन सकिन्छ ।’

उनको १० वर्षे अनुभवले बैंकिङ्ग सेक्टरमा जति सुरक्षित लगानी अन्यत्र नरहेको देखाउँछ । तर, आफूले कहिलेकाही बिमा कम्पनीबाट गरेको लगानीले दैनिक ३ लाख सम्म आम्दानी गराएको समेत उनले खुलाइन् । 

*यो कथामा यसअघि समावेश भएका केही तथ्य आफूले भूलवश भनेको भनी कथाकी पात्रले अनुरोध गरेपछि त्यसका आधारमा सामान्य सम्पादन गरिएको छ।-सम्पादक