-भक्तराज रसाइली

काठमाण्डौ । बहुप्रतिक्षित पूर्ण अनलाइन सेयर कारोबार प्रणाली प्रणाली कात्तिकभित्रै कार्यान्वयनमा ल्याउने गरी सबै तयारी पूरा भइसकेको नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले दाबी गरेका छन् । 

उनका अनुसार नेप्सेले अनलाइन कारोबार प्रणालीको सबै तयारी पूरा गरिसकेको छ । बुधबार(आज)देखि शुक्रबारसम्म ब्रोकर र ब्रोकर अफिसका कर्मचारीलाई तालिम दिन थालिएको समेत उनले जानकारी दिए । 

ब्रोकर र ब्रोकर अफिसका कर्मचारीलाई पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली कार्यान्वयनका लागि तयारी अवस्थामा राख्न तालिम दिन थालिएको समेत साउदको प्रष्टोक्ति छ । 

ब्रोकर नम्बर ३६ का अनलाइन इम्प्लिमेन्टेसन कोअर्डिनर कमिटीका संयोजक समेत रहेका सन्तोष मैनालीले समेत नयाँ अनलाइन सिस्टम चलाउने विषयमा तालिम सुरु भएको बताए । हामी तयारी अवस्थामा नै छौँ र सिस्टम पनि तयार छ । उनले भने । 

नेप्सेमा नै डाटा सेन्टर राख्ने सहमति भइसकेको र अबको काम क्लाईन्ट्स र ब्रोकरबीच एक किसिमको सम्झौता हुन मात्रै बाँकी रहेको उनले सुनाए । कस्तो किसिमको सम्झौता भन्ने बिजशालाको जिज्ञासामा उनले भने,रिस्क कभरका निम्ति  ड्राफ्ट तयार भइसकेको छ भने अब नेप्सेको स्वीकृति लिने क्रममा छौ । 

पहिले पनि कारोबारअघि २५ प्रतिशत अग्रिम रकम लिने नियम थियो । अब अनलाइन पछि भने यसलाई कडाइका साथ लागू गरिने मैनालीको भनाई छ । 

अनलाइन प्रणालीमा सेयर लगानीकर्ताले आफूले राखेको अग्रिम रकमको अधिकतम ४ गुणा बढ्न नपाउने गरी क्लाईन्ट हेरेर लिमिटअनुसार कारोबार अर्डर स्वचालित अनलाइन मार्फत गर्न पाउने व्यवस्था हुन लागेको उनले  खुलासा गरे ।

डाटासेण्टर वाईकोसँगै किन्ने सम्झौता भइसकेको र अलिक महङ्गो भएकाले त्यसलाई घटाउने बिषयमा कुरा भइरहेको ब्रोकर नम्बर ४९ का अनन्त पौडेलले बताए । उनले भने,पूर्ण अनलाइन बीचैमा अपांग जस्तो नहोस्  र सिस्टमबाटै ट्रेस गर्न मिल्ने भए गल्ती कम हुने थियो  । यस विषयमा सतर्क हुन आवश्यक देखिन्छ। 

बैंक र डिम्याट खाताबीच ईन्टर्लक भए अझ राम्रो हुने र ईण्डिभिज्युवल लगानीकर्तालाई पनि अनलाइनका विषयमा तालिम दिनुपर्नेमा उनले जोड दिएका छन् ।