काठमाण्डौ । तीनवटा आर्थिक वर्षको एकसाथ उच्च बोनस दिने पूर्व सूचनाका कारण केही दिनसम्म लगातार सेयर मूल्य बढिरहेको राष्ट्रिय बिमा कम्पनी लिमीटेडले सर्वसाधारणका लागि एफपीओ जारी गर्ने भएको छ ।

यो बिमा कम्पनीको शुक्रबार एकसाथ तीनवटा आर्थिक वर्षका लागि २९ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । यही साधारणसभाले सेयरधनीलाई तीनवटा आर्थिक वर्षको खुद नाफाबाट कुल ११४.१२ प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको छ भने साधारण सेयरको अतिरिक्त निश्कासन(एफपीओ)का लागि विशेष साधारणसभा बोलाउने निर्णय समेत गरेको छ ।

यो कम्पनीमा हाल नेपाल सरकार, नेपाल बैंक लिमीटेड र कर्मचारी सञ्चय कोषको सेयर स्वामित्व ८०.४६ प्रतिशत रहेको छ । यही कारण कम्पनीले संस्थापक र सर्वसाधारण सेयरधनीको स्वामित्व संरचना ७०ः३० को अनुपातमा रुपान्तरणका लागि एफपीओको बाटो रोजेको हो ।

हाल यो कम्पनीको चुक्तापुँजी १२ करोड ४४ लाख रुपैयाँ रहेको छ । ११४.१२ प्रतिशत बोनस वितरणपछि चुक्तापुँजी २६ करोड ६५ लाखको उचाईमा पुग्नेछ । एफपीओबाट समेत चुक्तापुँजीमा केही करोड थपिने र त्यसपछि पुनः बाँकी वर्षहरुको बोनस सेयर वितरण गरी चुक्तापुँजी १ अर्ब पुर्याउने यो कम्पनीको योजना छ ।

कम्पनीले १२ वर्षपछि आर्थिक वर्ष २०६०/६१, ०६१/६२ र ०६२/६३ को वार्षिक साधारणसभा एकसाथ शुक्रबार गरेको हो । त्यसअघि कम्पनीले २०६६ साल जेठ २८ गते २८ औं वार्षिक साधारणसभा आयोजना गरेको थियो ।

यो कम्पनीले साधारणसभा प्रयोजनका लागि बैशाख ८ गतेलाई बुक क्लोजको मिति तोकेको थियो । यसको अर्थ बैशाख ७ गतेसम्म यो कम्पनीको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरु मात्र घोषित बोनस सेयरको लाभ पाउनेछन् ।