काठमाण्डौ । नेपाली सेयरबजारमा केही दिनयता सुधारका सुखद् संकेतहरु देखा परिरहेकै बेला विश्वकै सबैभन्दा ठूलो तेल कम्पनी साउदी अरबको आरामकोले सेयर बजारमा क्षेत्रमा धमाकेदार एन्ट्री गरेको छ ।

साउदी आरामको बहुप्रतिक्षित आईपीओ हिजो बुधबार साउदी सेयर मार्केटमा सूचीकृत भएको छ । यो आईपीओको आफ्नो इस्यू प्राइसको तुलनामा १० प्रतिशत प्रिमियमका साथ प्रतिकित्ता ३५.२० (नेरु १ हजार ६२) मा सूचीकृत भएको छ ।

यो आईपीओले सूचीकृत हुनासाथ २५.६० अर्ब डलर रकम जुटाएको छ । यो रकम सन् २०१४ मा न्युयोर्कमा सूचीकृत भएको विश्वकै ठूलो ई–कमर्स कम्पनी अलीबाबाको तुलनामा ०.६० अर्ब डलर बढी हो । त्यतिबेला अलीबाबाले २५ अर्ब डलर आईपीओबाट जुटाएको थियो ।

यसको मतलमा साउदी आरामको विश्वमै अहिलेसम्मकै सबैभन्दा धेरै रकम जुटाउने आईपीओ जारी गर्ने कम्पनी बनेको छ ।

योसँगै साउदी आरामकोले टेक्नोलोजी क्षेत्रमा विश्वकै सबैभन्दा ठूलो कम्पनी एप्पललाई पनि मार्केट क्यापिटलमा पछाडि पारेको छ । आईपीओ सूचीकृत भएपछि आरामकोको कुल पुँजी बढेर लगभग १.८८ ट्रिलियन डलर पुगेको छ । जब कि एप्पलको कुल पुँजी १.२ ट्रिलियन डलरमात्र छ । – एजेन्सी