काठमाण्डौ । गत साता नेप्से इन्डेक्स ११ सय १० अंकआसपास झिनो अंकको उतारचढाव भइरहेकोमा सोमबारदेखि सेयरबजारले ‘यू’ टर्न लिएको छ ।

बजारमा सूचीकृत कम्पनीहरुका सेयरमूल्य ‘बटम लाइन’ आएको र पीई रेसियोसमेत १०÷११ मा आएपछि न्यून मूल्यमा अधिक खरिदचाप परेर माग सिर्जना हुने सिद्धान्तबमोजिम बजारले बढ्ने गति लिएको छ । यही सातादेखि बजारले लिएको लयबारे जिज्ञासा राख्दा अनामनगरस्थित एक ब्रोकर नेप्से इन्डेक्सको क्रमिक र अनुशासित वृद्धिले बजार अब ‘बुल’ हुने संकेत दिएको दाबी गर्छन् । अब लगानीकर्ताहरु ‘ग्रिन जोन’ मा रहेकाले लगानी गर्ने उपयुक्तसमेत भएको ती ब्रोकरको जिकिर छ । अर्थतन्त्रमा भएको सुधारले सेयरबजारमा पनि आगामी दिनमा सकारात्मक असर पर्ने उनले स्पष्ट पारे ।

साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से इन्डेक्स ७.४५ अंकको वृद्धि केही दिनयता विस्तारै बढ्दै सेयरबजारमा हरियाली छाएको छ नै इन्डेक्स वृद्धिले आम लगानीकर्ताहरुमा आशा र मनोबलकै कारण कारोबार रकममा समेत इन्डेक्सकै अनुपातमा बढ्दै गएको छ । बलिया र राम्रा कम्पनीहरुमा खरिदारी चाप बढी देखिएको छ । बिमा र लघुवित्त कम्पनीहरुमा यसअघि देखिएको उच्च गिरावट थामिएर उकालो लाग्ने चरणमा छन् । केही दिनयता ती कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण पनि ह्वात्तै बढ्दै देखिन्छ ।

आजको दिन नेप्सेका १२ वटा उपसमूहमध्ये उत्पादन तथा प्रशोधनमा बाहेक सबैमा हरियाली छाएको छ । यो दिन उत्पादन तथा प्रशोधन उपसमूहमा १५.१४ अंकको गिरावट आयो ।

सबैभन्दा बढी जीवन बिमा र निर्जीवन बिमा उपसमूहमा क्रमशः १५३.२१ र ७१.९९ अंकको बढोत्तरी भयो । त्यस्तै बैंकिङ, व्यापार, होटेल्स, विकास बैंक, वित्त, अन्य, लघुवित्त र म्युचुअल फन्डमा क्रमशः २.११, १६.३७, १६.४७, ६.५३, ८.७३, १.५८, ४.२, २४.५५ र ०.११ अंकले वृद्धि भयो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आजको दिन नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये १६८ कम्पनीका १० लाख ९५ हजार १८८ कित्ता सेयर ३५ करोड ८८ लाख ३९ हजार ८६० रुपैयाँमा किनबेच भयो ।

यो दिन ६ वटा कम्पनीले करोडभन्दा माथिको कारोबार गर्न सफल भए । जसमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले ३ करोड ५१ लाखरुपैयाँबराबरको कारोबार गर्न सफल भयो । त्यस्तै एनएमबी बैंक, स्वावलम्बन लघुवित्त, नेपाल बैंक, हिमालयन डिस्टिलरी र सामुदायिक लघुवित्तले क्रमशः २ करोड २२ लाख, १ करोड २६ लाख, १ करोड २४ लाख, १ करोड १७ र १ करोड १३ लाख रुपैयाँबराबरको कारोबार गर्न सफल भए ।

यसैगरी करोडभन्दा मुनि एनआईसी एसिया बैंक, नबिल बैंक, नेपाल बंगलादेश बैंक र जनउत्थान सामुदायिक लघुवित्तले क्रमशः ९८ लाख ७९ हजार, ९५ लाख ८७ हजार, ९० लाख १७ हजार र ८२ लाख ७७ हजार रुपैयाँबराबरको कारोबार गरे ।

धेरै कमाउने र गुमाउने कम्पनी

आजको दिन बजारमा तीनवटा लघुवित्त कम्पनीका सेयरधनीहरुले बढी कमाए । समिट, गणपति र सामुदायिक लघुवित्तका सेयरमूल्यमा क्रमशः ७.७८, ६.८८ र ६.७७ प्रतिशतले बढोत्तरी भएकोसँगै सेयरधनीहरु मालामाल भएका हुन् ।

यस दिन दिव्यश्वरी हाइड्रोपावर कम्पनीका सेयरधनीहरुले धेरै गुमाउनुपर्यो । यो कम्पनीको सेयरमूल्यमा ७.०१ प्रतिशतले गिरावट आयो ।