काठमाण्डौ । धितोपत्र कारोबार मापक नेप्से परिसूचक आज सोमबार झिनो अंकले मात्र वृद्धि भएको छ।

यो साता कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक हिजोको तुलनामा २.१२ अंकले बढेर नेप्से परिसूचक १३४२.४१ को विन्दुमा पुग्यो भने सेन्सेटिभ इन्डेक्स हिजोको तुलनामा अंकले वृद्धि भई २८२.२४ को विन्दुमा उक्लिएको छ। 

नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुको लाइसेन्स बन्द गरेसँगै दोस्रो बजारका लगानीकर्ताहरुको आकर्षण लघुवित्त समूहमा परेको देखिन्छ। जसका कारण आज सोमबार अधिकांश लघुवित्त कम्पनीको सेयरमूल्यमा उछाल आएको छ। 

यसैगरी नेपाल लाइफ इन्स्योरेन्स र हिमालयन डिस्टिलरीको आकर्षक लाभांश आउने हल्लाले लगानीकर्ता ती कम्पनीमा पनि ओइरिइएको बताइन्छ। 

मौद्रिक नीतिमा सेयर बजारसँग सम्बन्धित केही सम्बोधन हुने आशामा दोस्रो बजारमा लगानीकर्ताहरु सक्रियता भइरहेका छन्। नेपाल राष्ट्र बैंकले अर्को साता ल्याउने २०७७÷७८ मौद्रिक नीतिले बजारलाई राहत ल्याउने व्यग्र पर्खाइमा उनीहरु देखिन्छन्। 

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ८ वटामा हरियाली छाएको छ भने ४ वटामा रातो पोतिएको छ। 

आज सबैभन्दा धेरै उछाल लघुवित्त समूहमा आएको छ। यो समूहमा ५१.३६ अंकको बढोत्तरी भयो। 

यसैगरी बैंकिङ समूहमा १.१९ अंक, व्यापार समूहमा १६.४३ अंक, विकास बैंक समूहमा ३.०८ अंक, जलविद्युत समूहमा १.६७ अंक, निर्जीवन बीमा समूहमा ४.५७ अंक, उत्पादन तथा प्रशोधन समूहमा १४.०३ अंक र म्युचुअल फन्ड समूहमा ०.२ अंकको बढोत्तरी भएको छ।

आज जीवन बीमा समूहमा सबैभन्दा धेरै ५४.४५ अंकको गिरावट आएको छ। त्यस्तै होटेल्स् समूहमा १६.५ अंक, वित्त समूहमा ३.९७ अंक र अन्य समूहमा ३.९ अंकको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये १८४ कम्पनीका ३७ लाख ३३ हजार ५०५ कित्ता सेयर १ अर्ब ८ करोड ८७ लाख १६ हजार ११८ रुपैयाँमा कारोबार भएको छ। 

आज प्रभु बैंकको संस्थापक सेयर र नेपाल पुनर्बीमा कम्पनीको कारोबार उच्च रह्यो। प्रभु बैंकको संस्थापक सेयरको १० करोड ७२ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको १० करोड २८ लाख रुपैयाँ बढीको कारोबार गरे। 

यसैगरी नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ५१ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ५ करोड ६८ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ४ करोड ७१ लाख रुपैयाँ, एनएमबी बैंकको ३ करोड ६१ लाख रुपैयाँ, छिमेक लघुवित्तको २ करोड ५४ लाख रुपैयाँ, नबिल बैंकको २ करोड ११ लाख रुपैयाँ, साना किसान लघुवित्तको २ करोड १० लाख रुपैयाँ र ग्रामीण विकास लघुवित्तको १ करोड ६६ लाख रुपैयाँ बढीको कारोबार भयो। 

धेरै कमाउने र धेरै गुमाउने

यो दिन ५ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लाग्यो। नेपाल सेवा लघुवित्त, एनआईसी एसिया लघुवित्त र सानिमा बैंकको डिबेन्चरमा १० प्रतिशत बढ्यो भने गुराँस लघुवित्त र सूर्योदय लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लाग्यो। आज मिथिला लघुवित्तको सेयरमूल्यमा पनि ९ प्रतिशत बढीको उछाल आयो। 

आज ओरियन्टल होटेल्सको सेयरमूल्यमा सबैभन्दा धेरै ६ प्रतिशत बढीको गिरावट आयो।