काठमाण्डौ । नेपाली भाषामा सेयर बजार, यसका प्राविधिक पक्ष तथा कारोबार सम्बन्धी किताब निकै कम प्रकाशन भएका छन् । सेयर बजारको किताबको कुरा गर्दा रविन्द्र भट्टराईको नाम पर्यायको रुपमा अगाडि आउँछ । उनले लेखेका दर्जन जति किताबले नेपाली लगानीकर्तालाई सेयर बजार, यसको प्राविधिक पक्ष लगायतको बिषयमा बुझ्न सजिलो बनाइदिएको छ । 

उनले लेखेका किताबहरुमध्ये पछिल्लो पटक प्रकाशित ‘सेयरबाट करोडपति’ले नयाँ–नयाँ रेकर्डहरु बनाइरहेको छ ।

नेपालको पुस्तक प्रकाशनको इतिहासमै सेयर सम्बन्धी किताब(गैरआख्यान) आख्यानलाई समेत उछिनेर हारालुछ बिक्री भई नयाँ रेकर्ड कायम भएको छ । फाइन प्रिन्ट प्रकाशक बनी बजारमा आएको ‘सेयरबाट करोडपति’को पहिलो संस्करण बजारमा आएको १० दिनमै सकियो । त्यसपछि बजारमा आएको दोश्रो संस्करण समेत लगभग बिक्री भइसकेको छ । 

‘दोश्रो संस्करणको रुपमा पनि हामीले पहिलो झै ५ हजार प्रति बजारमा ल्याएका थियौं ।’ फाइन प्रिन्टका प्रकाशक निरज भारीले भने–‘अब मुश्किलले २ सय किताब पनि बाँकी छैन, त्यही भएर एकदुई दिनमै तेश्रो संस्करण प्रेसमा पठाउँदैछौं ।’ तेश्रो संस्करण भदौ पहिलो साताभित्र बजारमा आइसक्नेछ ।

‘सेयरबाट करोडपति’ जेठ १२ गतेदेखि बजारमा आएको हो । करिब दुई महिनाको अवधिमा १० हजार प्रति किताब बिक्री भइसक्नुले प्रकाशक फाइन प्रिन्टलाई समेत गैरआख्यानसँग सम्बन्धित पुस्तक प्रकाशनका लागि उत्साहित बनाएको भारीले खुलाए । आख्यानका किताबहरुले राम्रो व्यापार गर्न नसकेर प्रकाशकहरु संकटमा परिरहेको बेला ‘सेयरबाट करोडपति’ जस्ता किताबले आफूहरुलाई बचाउने महसुस गराएको उनले बताए । ‘प्रकाशकहरुलाई टिकाइराख्न ‘सेयरबाट करोडपति’ जस्ता पुस्तक प्रकाशन गर्न पाए निकै सहज हुने रहेछ ।’ उनले भने–‘यही किताबको उत्साहप्रद बिक्रीकै कारण हामी आगामी दिनमा गैरआख्यान र जीवनउपयोगी किताबलाई समेत व्यवसायिक दृष्टिकोणले प्राथमिकताका साथ प्रकाशन गर्नेछौ ।’ 

भारीका अनुसार ‘सेयरबाट करोडपति’को तेश्रो संस्करणको आकार र सामाग्री समेत केही परिमार्जित हुनेछ । ‘साइज अहिलेको भन्दा ठूलो हुनेछ ।’ उनले थपे–‘अन्य बिषयवस्तुमा लेखकले समय सन्दर्भ अनुसार परिमार्जन गर्नुभएको छ ।’ 

भट्टराईका तीन किताबको प्याकेज आउने
भट्टराईले लेखेको किताबले बजारमा तहल्का मच्चाएर उत्साहित बनेको फाइन प्रिन्टले उनका पुराना थप दुई किताबलाई समेत फरक ढंगले प्रकाशन गरी बजारमा ल्याउने जमर्को थालेको छ । प्रकाशक भारीका अनुसार भट्टराईका यसअघि प्रकाशित ‘नेपालको सेयरबजार’ र ‘सेयरको आधारभूत विश्लेषण’ तथा अहिलेको ‘सेयरबाट करोडपति’ गरी तीनवटा पुस्तकलाई एउटै आकारमा प्याकेजको रुपमा प्रकाशनको तयारी थालिएको हो । 

‘तीनवटा किताब एउटा बक्समा प्याकेजको रुपमा आउनेछ । पाठकले यी तीनवटा किताब पढेपछि सेयर बजारलाई राम्ररी बुझ्नेछन् भन्ने हाम्रो ठम्याई हो ।’ भारीले बिजशालासँग भने–‘तीनवटा किताबको प्याकेज खरीद गर्दा छुट्टा–छुट्टै पुस्तक खरीदमा भन्दा निकै कम लगानी लाग्छ, यसले सेयरको बिषयमा बुझ्न खोज्ने पाठकलाई राहात प्रदान गर्ने विश्वास लिएका छौ ।’ तीनवटा पुस्तकको प्याकेज दशैंपछि बजारमा आउने उनले जानकारी दिए ।