– भक्तराज रसाइली

काठमाण्डौ । दिनपछि रात र रातपछि दिन हुुने प्रकृति नियमझैँ व्यक्तिको जीवनमा पनि उत्तारचढाव हुन्छ । यद्यपि जिगर दह्रो बनाई अघि बढ्ने व्यक्ति नै सफल भएका छन् । यस्तै आँट र जोखिम मोलेर नेपाली सेयरबजारमा बादशाहका रुपमा सुपरिचित नाम हो, निर्मल प्रधान ।

करिब ६५ वर्षअघि तनहुँ को बन्दीपुुरस्थित चण्डेनी टोलमा जन्मेका प्रधानको पितापूूर्खा बन्दीपुुर र नारायणगढका अग्रणी तथा प्रख्यात व्यापारी थिए । किराना र कपडा व्यापारमा प्रख्यात प्रधान परिवारको माहिलो छोराका रुपमा जन्मेका निर्मलले कहिल्यै पनि जागिर खानै परेन । राजनीति, यातायात व्यवसायी, चलचित्र व्यवसायी र सेयर बादशाहको परिचय बनाएका प्रधानले वीरेन्द्र क्याम्पसबाट प्रमाणपत्र तह र त्रिचन्द्र कलेजबाट अर्थशास्त्रमा स्नातक उत्तीर्ण गरेका छन् ।

कुरा २०३७ सालतिर हो । जतिबेला प्रधानले बन्दीपुर, छिम्बेश्वरी, देउराली, धरमपानी र आँबुखैरेनी गरी ५ पञ्चायतको क्षेत्रीय अध्यक्ष भएर सेवा गरे । तनहुँ जिल्ला विकास सचिवालयको क्षेत्रीय अध्यक्ष भएर राजनीति सुरु गरेका प्रधान २०३५–३६ सालताका काठमाण्डौ–वीरगन्ज रात्रिबस सञ्चालन गर्ने आफू पहिलो व्यक्ति भएको दाबी गर्छन् । उनका अनुुसार उक्त रात्रिबस ‘बिग बस’ को नामले गुड्दथ्यो ।

राजधानी आउने–जाने क्रम प्रधानको चलिरह्यो । उनी २०४८ सालबाट भने सपरिवार काठमाण्डौ ज्ञानेश्वर बस्न थाले । उनी २०४० सालमा ‘कान्छी’ चलचित्र निर्माण गरेका नेपाली रजतपट प्रवेश गरे । चलचित्र निर्माता, प्रदर्शक र वितरकका रुपमा समेत स्थापित प्रधान नेपाल चलचित्र संघमा १४ वर्ष विभिन्न पदमा बसेर सक्रिय भए ।

एक दिन ज्ञानेश्वरबाट चलचित्र संघ रहेको कार्यालय भोटेबहाल जाँदैगर्दा कमलपोखरीको दाहिनेतिर रहेको एनआईडीसी (हाल सनराइज क्यापिटल) मा ठूलो जमातमा प्रधानको आँखा पुग्यो । अनि त्यो भीडलाई बुझ्न प्रधानमा कौतुहलता जाग्यो । यो घटना २०५५–५६ सालतिरको रहेछ । त्यहाँ पुगेर उक्त कार्यालयका हाकिमलाई सोधेपछि सेयर किनबेच गर्ने ठाउँ रहेछ भन्ने प्रधानले बुुझे । त्यसपछि प्रधानले परिवारका सबै सदस्यको नाममा १–१ लाख रुपैयाँको आईपीओ भर्न १० वटा फर्म लगे ।

त्यहीँबाट प्रधान सेयरयात्रा सुरु भयो । पहिलो आईपीओमै प्रधानकी श्रीमती रुक्मिणी र छोरा नितेशको नाममा २५० कित्ताका दरले पर्यो । त्यो सेयर एनआईसी बैंकको रहेको उनको भनाइ छ ।

सुरुमै ३८० रुपैयाँमा कारोबार खुलेको एनआईसीको सेयर एक हप्तामै ४५० रुपैयाँ पुुगेपछि प्रधान दंग परे । पछि त्यही सेयर ८५० रुपैयाँसम्म पुग्यो ।

अचानक सेयरबजारमा प्रवेश गरेका प्रधानलाई यसबारे भने कुुनै ज्ञानै थिएन । उनले सेयर कारोबारबारे कौतुहलता मेटाउन साथीभाइसँग बुझ्दै हिँड्न थाले । त्यसपछि न्युरोड पाकोमा २६ नम्बर ब्रोकरकहाँ विजय खेम्कालाई भेट्ने साथीभाइको सल्लाहबमोजिम उनी पनि उतै हानिए ।

२०५६ सालतिर प्रधानको उमेर ४५ वर्ष थियो । ४५ वर्षको उमेरसम्म कमाएको ३ करोड रुपैयाँ लिएर दोस्रोबजारमा धमाकेदार इन्ट्री मारेका प्रधान आक्रमक रुपमै लागे । उनले एनआईसी बैंकको १ हजार कित्ता ४०० रुपैयाँ प्रतिकित्ताका दरले, एभरेस्ट बैंकको ५०० कित्ता ९५० रुपैयाँ प्रतिकित्ता, बीओके १५ हजार कित्ता प्रतिकित्ता १ हजार ५५० रुपैयाँ, नेपाल बंगलादेश बैंक ५० कित्ता प्रतिकित्ता २ हजार ९५० रुपैयाँलगायत गरी धितोपत्रमा ३ करोड रुपैयाँ खन्याए। ३ करोड रुपैयाँ त लगानी गरे तर प्रधानको पोर्टफोलियो ४५ दिनमै झ्वाम हुन पुग्यो ।

दुई–तीन महिनासम्म त बजार बढ्दै थियो तर त्यसपछि भने बजार घटेपछि प्रधानले एनआईसीको ४०० रुपैयाँ र बीओकेको १ हजार ५५० रुपैयाँमा किनेको सेयर क्रमशः १८५ रुपैयाँ र २५० रुपैयाँ प्रतिकित्तामा कौडीकै भाउमा बेचे । ‘म के गरुँ ?’ यही प्रश्न प्रधानको मनमा खेल्यो । अब त अन्य क्षेत्रसमेत बन्द भइसकेको थियो, कारण नयाँ इन्ट्रीका लागि ।

स्कुले जीवनमा प्रधान चलचित्र भनेपछि हुरुक्कै हुन्थे । उनी चलचित्र हेर्नैका लागि भारतसम्म पुुगेको घटना पनि रहेछ । भारतको मुजहफ्फपुरमा उनले एकैदिन बिहान ९ बजेदेखि राति १ बजेसम्म ५ वटा फिल्म हेरेको विगत कोट्याए । ‘गीत’, ‘भिक्टोरिया नम्बर २०३’, ‘मेरा नाम जोक्कर’ र ‘ताजमहल’ उनले फरर भने ।

सुरुआती अवस्थामै प्रधानलाई बजारले निकै गलाएको थियो । ३ करोड रुपैयाँ जिरोमा परिणत भए पनि उनलाई ‘शोेले’ फिल्ममा भएको एउटा डायलग याद आउँछ । ‘लोहा लोहेका काट्ता है, हीरा हीरेका काट्ता है’ यही डायलग नै सम्झन पुगेका प्रधानले अब भने सेयरबाट गुमाएपछि सेयरबाटै कमाउने निधो गरे । जुन क्षेत्रमा गुमेको छ त्यही क्षेत्रमा कमाउन सकिन्छ भन्ने बुझाइ प्रधानको छ ।

प्रधानले यही सिद्धान्तमा आधारित भएर एउटा अठोट लिँदै पुुनः सेयरबजारमा नै केही कमाउने सोचे । प्रधानले मान्दै आएका उनका गुुरु जीवन बस्नेतले भनेछन्, ‘अब बजारमा लगानी गर्ने भए एभरेस्ट बैंकमा पैसा खन्याउनु, दुई–चार वर्षका लागि निर्धक्क लगानी गर्नू ।’

त्यसपछि प्रधानले ज्ञानेश्वरको घरजग्गा, ठमेलको जग्गालगायत बैंक अफ काठमाण्डूमा धितो राखे । त्यतिबेला ज्ञानेन्द्र ढुंगाना उक्त बैंकमा अफिसर र कम्पनीसचिव थिए । प्रधानले व्यक्तिगत नाम र लिगल ऋणस्वरुप नै ३ अर्ब ऋण लिन सक्षम बने । यद्यपि ऋण रकमलाई थेग्ने पैतृक सम्पत्ति र ब्याकअप भएर नै प्रधानले ऋण लिने जमर्को गरेको जिकिर गरे । एनएचपीसी, एनसीसीबी, एभरेस्ट, स्टान्डर्ड चार्टर्डको क्रमशः २० लाख कित्ता, २० लाख कित्ता, १० लाख कित्ता र १ लाख कित्ता सेयरलगायत बजारबाट सेयर उठाउँदा १ करोड सेयर थुपारे ।

बस्नेतले दाबी गरेझैं पछि एभरेस्ट बैंकको सेयर मूल्य ३६ सय रुपैयाँ प्रतिकित्तासम्म पुग्यो । जब कि प्रधानले एभरेस्ट बैंकको सेयर प्रतिकित्ता ३२५ रुपैयाँदेखि १ हजार ७५० रुपैयाँसम्म सेयरबजारबाट उठाएका थिए । एभरेस्ट बैंकको ३० प्रतिशत पब्लिक सेयर ७ लाख २० हजार कित्तामध्ये ५ लाख कित्ता प्रधानले नै थुपारेका थिए । पछि खुलेका कुमारी र लक्ष्मी बैंकका आईपीओ लाखौं कित्ता प्रधानले आवदेन दिन्थे । ‘आईपीओ किन्ने लगानीकर्ता नै थिएनन्’, प्रधान भन्छन् ।

त्यतिबेला बैंक तथा फाइनान्सबाट ९० प्रतिशतसम्म ऋण पाइन्थ्यो । राष्ट्रिय वाणिज्य बैंकबाट ५० करोड ५.२५ प्रतिशत ब्याजदर नेपाल बैंकबाट ३० करोड ६ प्रतिशत ब्याजदरमा लिमिटलाई प्रधानले अवसरका रुपमा सदुपयोग गरे ।

एकैदिन १ रुपैयाँमात्र बढ्दा पनि उनको पोर्टफोलियो करोडौं बढ्थ्यो । उनले एकैदिन २० रुपैयाँ बढ्दा २० करोड कागजी नाफा देखिने गरेको प्रधान सम्झन्छन् ।

त्यत्ति धेरै सेयर थुुपारेका प्रधान हिसाबकिताब भने हालसम्म पनि आफैं हातले गर्दा रहेछन् । आजसम्म पनि कुनै बैंकमा डिफल्ट नभएको जिकिर गरेका प्रधानसँग रहेको सेयरको ३ वर्षमै ३ अर्बको बजारमूल्य १६ अर्बसम्म पुगेको दाबीसमेत गर्छन् ।

उसो त प्रधानसँग १२–१३ रोपनी जग्गासमेत रहेछ । उनी भन्छन्, ‘कि पूर्वराजा ज्ञानेन्द्रसँग जग्गा थियो कि मसँग ।’

कुुनै एक समारोहमा नेपाल आर्मीका पूूर्वप्रधानसेनापति रुक्मागंद कटवालसँग प्रधानको भेटघाट भयो । भेटघाटमा कटवालले ‘के गर्नुहुन्छ’ भनेर प्रधानसँग जिज्ञासा राखे । प्रधानसँगै गएका शशि खेतानले ‘उहाँले ५ सय करोड सेयरमा गुुमाउनुभएको छ’ भन्ने जबाफ दिए । ‘खेतानले यत्ति भन्दा नै पूर्वप्रधानसेनापति कटवालले आफ्नो जीवनभर कहिल्यै यति ठूलो रकम नदेखेको भन्दै आश्चर्य माने’, प्रधानले सुनाए ।

प्रधान हाल ६५ वर्षको हुुँदा पनि सेयरबजारमै सक्रिय छन् । दिमाग र शरीरले भ्याएसम्म अन्तिम घडीसम्म नै सेयरमा लगानी गरिनै रहने उनी बताउँछन् ।

लगानीकर्तालाई प्रधानको एकमात्र सुझाव छ, ‘धैर्यता, धैर्यता र धैर्यता ।’ सेयरमा कमाउन धैर्यता नै चाहिने जिकिर गरेका प्रधान जति सेयरबजार क्र्यास भए पनि ऋण क्षमताले सम्हाल्न सक्ने हुनुपर्नेमा जोड दिन्छन् ।

ऋणलाई सम्भार गर्न सके र धैर्यता गर्न सके सेयरबाट अर्बपति हुन सकिने प्रधानको ठम्याइ छ । सेयरबजारमा छिटो कमाइ नहुने उनको भोगाइ छ ।

हुन पनि ३ करोड झ्वाम भई जीरोमा आउँदा ३ अर्ब सेयरमा लगानी गरी १६ अर्ब रुपैयाँसम्म बनाउन सफल प्रधानको सफलताको रहस्य भनेकै पर्खाइ वा धैर्यता नै हो भनेर खुट्याउन गाह्रो नपर्ला ।

नेपालको सेयरबजार ६-७  वर्षको साइकल हुने गरेको प्रधानको बुझाइ छ । नीति नियम वा अर्थमन्त्री वा नियामकको कुनै पनि हात नहुने तर यसैलाई बजारका खेलाडीले स्लोगन बनाउने गरेको उनको आरोप छ । ‘बूल आएपछि बियर आउने र बियर आएपछि बूल अवश्य आउने गर्दछ’, प्रधान भन्छन्, ‘यो सेयरबजारमा मात्र हैन, व्यापार, घरजग्गा, राजनीतिलगायत धेरै क्षेत्रमा अपडाउन भई नै रहन्छ । यो मेरो व्यक्तिगत विचार हो ।’

प्रधानले सेयरबजारमा लगानी गर्दा बैंकिङ सेक्टरमै लगानी गर्न सुझाएका छन् । नेपाल राष्ट्र बैंकको नियमन हुने र अन्य क्षेत्रभन्दा अधिक पारदर्शी हुने सेक्टर बैंक भएकोले समेत बैंकको सेयरमा लगानी सुुरक्षित हुने प्रधानले तर्क सारे ।