-भक्तराज रसाइली
काठमाण्डौ । नेपाली सेयर बजारमा सही समयमा बजार प्रवेश गरे सेयरकै लगानीबाट करोडपति हुने एक सामान्य महिलाको सक्सेस स्टोरी यस साता बिजशालामा पस्कन गइरहेका छौं । 

सोलुखुम्बु जिल्ला सदरमुकाम सल्लेरीमा जन्मेर हाल काठमाण्डौ–३२ पेप्सीकोलाकी बासिन्दा प्रमिला राजभण्डारी नेपालको पूँजीबजारमा महिला सक्रिय लगानीकर्ताका रुपमा चिनिन्छिन् । 

बीएड अध्ययन गरेकी उनले सुरुवाती करिअरमा शिक्षण पेशा अँगालेकी थिइन् । काठमाण्डौमा बिहे गरेर आएपछि उनी एक स्याटेलाइट फोन कम्पनीमा मासिक २० हजार रुपैयाँमा जागिर भइन् । 

उनका पति डम्बर श्रेष्ठले कहीँ कतै बाहिरबाट सेयर बजारका बारेमा थाहा भएकाले प्रमिलालाई सेयरमा लगानी गर्नका निम्ति प्रेरणा दिएको उनी सम्झिन्छिन् । उनले काम गर्ने कार्यालयमा बसेका साथीभाइबाट समेत थोरबहुत सेयर बजारका विषयमा जानकारी हासिल गरेको विगत सुनाइन् ।

वि.सं.२०६८ सालमा चिलिमे हाइड्रोपावरबाट प्राथमिक बजारमा हात हालेको बताउने उनले त्यत्तिबेला १० कित्ता सेयर पारेकी थिइन् । कार्यालयको काम गर्र्दै  प्राथमिक बजारमा पनि हात हालेकी उनले लगानीकै क्रममा २०६९ सालबाट दोस्रो बजारमा समेत लगानी थालिन् ।

त्यतिबेला एभरेष्ट बैंकको ७० कित्ता २ हजार १ सय ७० रुपैयाँ प्रतिकित्ताका दरले किनेको उनले सुनाइन् । प्राथमिक बजारमा मात्र नभई दोस्रै बजारमा सुरुमा ३/४ लाख लगानीबाट उनले सुरु गर्दा नेप्से इण्डेक्स बढ्दो क्रममा थियो । 

अफिसको काम भ्याउँदै दोस्रो बजारमा २ लाखको सेयर किन्दा हप्तामै २५ हजार नाफा कमाउन संभव भएपछि उनलाई सेयर बजारप्रति बिछट्टै आकर्षण बढ्यो । कार्यालयमा १० बजेदेखि ५ बजेसम्म खटिएरभन्दा सेयर बजारमा ३ घण्टा(तत्कालीन कारोबार समय १२ बजेदेखि ३ बजे) खट्दा मनग्यै आम्दानी हुने देखेपछि आफूलाई सेयर बजारमै सक्रिय हुन मन लागेको उनले बताइन ।

परिवारले बैंकको मुद्धती खातामा २० लाख रुपैयाँ राखेर त्यसको वार्षिक ब्याज बढीमा ७० हजारसम्म आउने गथ्र्यो । प्रमिलाले त्यो पैसालाई सेयर बजारमा लगानी गरी थप पैसा फलाउने निर्णय गरिन् । उनको निर्णयमा परिवारले समेत साथ दियो । दोश्रो बजारबाट तीव्र रुपमा सेयर उठाउन थालिन् ।

उनको योजनाले साकार रुप पाउँदै गयो । हेर्दा हेर्दै सेयरमा गरिएको लगानीबाट उनले राम्रो आम्दानी लिन सकिन् । सेयर बजारबाटै मालामाल हुन थालेपछि उनले जागिर छाडिन् र बजारको फूलटाइमरको रुपमा आफूलाई सक्रिय बनाइन् । 

नेप्से इण्डेक्स ८ सय हुँदा प्रवेश गरेकी उनले १० लाख लगानी गरेर ५ लाखसम्म रिटर्न लिएको दाबी गरिन् ।

आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज प्रा.लि. का ब्रोकर रामचन्द्र भट्टराईबाट विभिन्न समयमा धेरै राम्रा सल्लाह र सहयोग पाएकोमा उनले कुराकानीको क्रममा कृतज्ञता प्रकट गरिन् ।

लगानीकर्ता साथीहरु र पुराना अनुभवी लगानीकर्ताहरुकै उचित सल्लाहले आफूलाई सेयर बजारमा स्थापित गरेको उनको भनाई छ । 

कुनै एकबेला आफूले शिखर इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता २ हजार ४ सय ६० मा किन्दा महिला लगानीकर्ताहरुले हेयको दृष्टिले हेरेको, तर केही समयमा नै त्यो सेयर आफूले ३ हजार ६ सय ६० मा बेचेपछि तिनै महिलाहरु आफूसँग सल्लाह लिन आएका रोचक स्मरण समेत उनले सुनाइन ।

‘सोही बेला अरु साथीहरुले ३ हजार ४ सयमा किनेर ५ हजार पुग्छ भन्दै हल्ला गरे, तर मैले बेलैमा बुद्धिमतापूर्ण तरिकाले बेचें।’ उनले भनिन्–‘मुनाफा कमाउनलाई सेयरमा लगानी गर्ने हो, आफ्नो लक्षित मुनाफा आएपछि बेच्न सक्नुपर्छ ।’ 

यसैगरी उनले किनेका केही कम्पनीहरु घाटामा गएमा तुरुन्तै बेच्ने र अर्को सेयर किनेर जोखिम मोल्दै घाटालाई पुर्ने गरेको उनको रणनीति सुनाइन् । ‘सेयरमा घाटा हुँदा समेत चलाउन जान्नुपर्छ।’ आत्मविश्वासका साथ उनले थपिन् ।

राम्रा कम्पनीका सेयरहरुबाट बोनस प्रतिफल लिएर पनि नाफा गर्न सकिने उनको बुझाई छ । 

ब्रोकर अफिस दिनहँु आउने, पत्रपत्रिका, अनलाइन मिडियाहरु हेर्ने र नयाँ नयाँ विषय जान्न इच्छुक उनले सेयर मार्केट आफ्ना लागि राम्रो फिल्ड भएको सुनाइन् ।

घरपरिवार आफन्तलाई पर्याप्त समय दिन पनि मिल्ने, घरखर्च पनि थेग्ने भएकाले समेत महिलाहरुलाई सेयर बजारमा आउन उनको आग्रह छ । बियरिस अवस्थामा रहेको बेलामा समेत परनिर्भर हुनु नपरेकोमा उनले खुशी व्यक्त गरिन् ।

उनको लगानी पोर्टफोलियोमा जग्गामा पनि लगानी रहेको र सेयर बजारमा करोडसम्मको लगानी भएको बताउने प्रमिलाले खरिद गरेका लघुवित्तमा भन्दा इन्स्योरेन्सबाट नै मनग्यै कमाएर नेप्से १८ सय ८१ विन्दू चूम्दा सेयरबाट भएको कमाइले पेप्सीकोलामा घरजग्गा अनि जडीबुटीमा ४ तले डेढ करोड मूल्य पर्ने घर समेत किनेको उनको दाबी छ । 

जडीबुटीको घर किन्दा भने परिवारबाट समेत केही सहयोग रहेको उनले सुनाइन् ।

जग्गाबाट समेत डबल नाफा र नेप्सेले अलटाइम हाइ चूम्दा बेचेर घर किन्ने एउटी महिला लगानीकर्ताको अदम्य साहस देखिन्छ । प्रमिला भन्छिन्–‘बजार घटेको छ, तर पनि म हिम्मत हार्दिन । म सेयर बजारमा नै मेरो जीवन रहुञ्जेल लगानी गरिनै रहन्छु।’

सेयरमा लगानी गर्दा अन्धाधुन्धमा लगानी नगरी धेरै विषय बुझेर, ज्ञान भएका अनुभवी व्यक्तिहरुसँग सोधखोज गर्दै सेयरमा लगानी गर्न उनको सल्लाह छ। 

कम्पनीका त्रैमासिक प्रतिवेदन, समाचार, अध्ययन अनुसन्धान गरेर मात्र सेयर खरिद गरेको खण्डमा सफल भइने उनको बुझाइ छ । अर्काको लहैलहैमा भन्दा पनि आफ्नै सुझबुझमा लगानी गर्न उनले सुझाइन् ।

उच्च आत्मबलका साथ सेयर बजारमा सक्रिय प्रमिला सेयरबाट करोडपति हुन् । ‘लगानी नगरी करोडपति कहाँ भइन्छ ?’ उनले प्रश्न तेस्याइन्–‘त्यसका लागि त सेयरमै लगानी गर्नैपर्छ । हाइ रिस्क हाइ गेन ।’

पूँजीबजारमा महिलाहरुलाई राम्रो अवसर भएको उनको टिप्पणी छ । घरको चौघेरामा मात्र सीमित नराखी श्रीमानको कमाइमा परनिर्भर नभई पनि सेयरमै लगानी गरौं भन्दै उनले महिलाहरुलाई बजारमा आउन आह्वान समेत गरिन् ।

धैर्य धारण गरे डुब्ने सम्भावना एकदमै कम हुन्छ, तर अवश्य करोडपति भइने उनको दाबी समेत छ । बैंकको मुद्दतीमा राखेर निश्चित ब्याज खानभन्दा मार्केट बढे प्रफिट बढ्ने अनि राम्रो प्रतिफल पाइने भएकोले सेयर बजारले मात्र करोडपति बनेको सपना देख्नेहरुलाई सहयोग गर्ने उनको ठम्याई छ । 

आफ्नो व्यक्तिगत खर्च पनि जुट्ने, श्रीमान्लाई समेत सहयोग हुने बरु फेसबुकमा महिलाहरु २४ सै घण्टा झुम्मिनु भन्दा सेयरमा लगानी गर्नुपर्ने उनको धारणा छ ।

नियामक धितोपत्र बोर्डले बनाएका नियम कार्यान्वयन हुन जरुरी रहेको भन्दै प्रमिलाले भनिन्–‘नेप्सेले बोनस सेयर मूल्य समायोजन बुक क्लोज नै नगरी बेला बेलामा गरिदिँदा अन्यौलता भएको छ । अनलाइन सफ्टवेयरकै गडबडीका कारण मैले मार्केट बढेका बेला २–३ पटक सेयर बेच्न पाइँन, यो दुःखद पक्ष हो ।’

प्रमिलाजस्ता एक सामान्य लगानीकर्ता जो पूँजी बजारमा सक्रिय रुपमा लगानी गरेर नै घरजग्गा जोड्दै करोडपति भएका उदाहरणहरु प्रशस्त छन्। 

सेयरमा गरिएको लगानीले देशको पूँजी निर्माणमा सहयोग हुने भएकै कारणले हाल बियरिस अवस्थामा रहेको बजारमा राम्रा कम्पनीका सस्तो मूल्यमा सेयर किन्ने सुनौलो मौका नयाँ लगानीकर्ताहरुलाई रहेको छ । प्रमिलाजस्तै उच्च जोखिम मोलेर सस्तो मूल्यमा सेयर किनेर तपाईँ पनि करोडपति बन्न सक्नुहुन्छ ।