काठमाण्डौ । सरकारले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित बहालवाला मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । 

सेयर बजारलाई गतिशील बनाउने कुरा नीति तथा कार्यक्रममा समेट्ने सरकारका मन्त्रीहरु नै सेयर लगानीमा भने कमजोर देखिएका छन् । धेरै मन्त्रीको सेयरमा लगानी नै नरहेको देखिएको छ भने लगानी गर्नेले समेत थोरै परिमाणमा मात्र लगानी गरेका देखिएको छ ।

कसको सेयरमा लगानीको अवस्था कस्तो होला त ? हामीले सार्वजनिक सम्पत्ति विवरणबाट विश्लेषणको प्रयास गरेका छौ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले कहीँ पनि सेयरमा लगानी गरेका छैनन् । बरु, उनकी पत्नी राधिकाले राष्ट्रिय बचतपत्रमा २५ लाख बढी लगानी गरेकी छिन् ।

रक्षामन्त्री ईश्वर पोखरेलले पनि आफ्नो नाममा सेयरमा लगानी गरेका छैनन् । उनकी पत्नी मिराले वरुण हाइड्रो, कृषि विकास बैंक र मोडर्न कल्चर मल्टिपल कलेजमा लगानी गरेकी छिन् । 

गृहमन्त्री रामबहादुर थापा(बादल)की पत्नी नैनकलाको अपर तामाकोशीमा सामान्य लगानी रहेको छ भने परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली वा उनका परिवारले सेयरमा लगानी गरेका छैनन् । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले खोटाङको रुपाकोट सामुदायिक रेडियोमा ५ हजार लगानी गरेका छन्, अन्यत्र उनको लगानी छैन ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट पत्नी प्रतिभा श्रेष्ठले मेगा बैंकको २६५ कित्ता सेयर किनेकी छिन् भने कृषि विकास बैंकको ४९ कित्ता सेयर समेत उनीहरुसँग रहेको देखिएको छ । 

यस्तै, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले लालीगुराँस सहकारीमा १० हजार रुपैयाँ र हाम्रो नयाँ कृषि सहकारीमा ३ लाख रुपैयाँ लगानी गरेका छन् । 

सेयर तथा विभिन्न कम्पनीमा लगानीको मामलामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ निकै अगाडि रहेका देखिएको छ । उनले आफ्नी पत्नी जुलीकुमारी महतोको नाममा विभिन्न बैंक तथा कम्पनीमा लगानी रेका छन् । महतोले गुड्विल फाइनान्समा ७० हजार रुपैयाँ बराबरको लगानी गरेकी छिन् भने लक्ष्मी बैंकमा १ लाख ५० हजार बराबरको सेयर लगानी छ । महतोको नाममा महासेठले एनभीपीएल प्रालि नामको कम्पनीमा मात्रै ३७ करोड लगानी गरेका छन् । 

मौद्रिक अर्थशास्त्री समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडा र उनकी पत्नीको समेत सेयरमा खासै ठूलो लगानी छैन । सेयर बजारप्रति खासै सकारात्मक नदेखिने डा. खतिवडाले आफूले कमाएको पैसा बरु बैंकको मुद्धतीमा राखेका छन् । उनको नाममा सावल सहकारीमा ५ हजार कित्ता सेयर रहेको छ भने पत्नी कमलाको नाममा दुर्गा भवानीमा ५ हजार कित्ता नै सेयर रहेको छ । त्यसपछि उनीहरुले बाँकी कहीँ पनि सेयर लगानी वा लगानी गरेका छैनन् । 

सेयरमा लगानी गर्ने मामलामा पर्यटन मन्त्री रविन्द्र अधिकारी केही अगाडि देखिएका छन् । उनले गण्डकी विकास बैंकमा २६ हजार रुपैयाँ बराबरको सेयर लगानी गरेका छन् भने पानीखोला हाइड्रोपावर कम्पनीमा ३० लाख लगानी गरेका छन् । 

यस्तै, कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामांगको विभिन्न कम्पनीमा १५ लाख बराबरको सेयर रहेको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालको नेपाल इन्भेष्टमेन्ट बैंक, बैंक अफ काठमाण्डू, सानिमा र प्राइम कमर्सियल बैंकमा गरी १० लाख ३७ हजार लगानी रहेको छ । यी सबै बैंकको सेयर उनले दोश्रो बजारबाट खरीद गरेका हुन् ।

उर्जामन्त्री वर्षमान पुन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्मा, खानेपानीमन्त्री बिणा मगर वा तिनका परिवारको कसैको पनि कुनै पनि कम्पनीमा सेयर वा लगानी नरहेको वित्तीय विवरणमा उल्लेख गरिएको छ । 

यता, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले मेगा बैंकमा ९३३ कित्ता सेयर हालेकी छिन् भने उनको जनता टिभीमा १ लाख र अन्य सहकारीहरुमा ७५ हजार लगानी रहेको छ ।