-सन्दिप पौडेल
विश्वमा जति पनि लगानीयोग्य वित्तीय उपकरणहरू उपलब्ध छन्, तीमध्ये उच्च प्रतिफल पाउने लगानीको क्षेत्र भनेको सेयरबजार हो । जति सेयरबाट नाफा आर्जन गर्न सकिन्छ, त्यति नै सेयरमा लगानी गर्दा जोखिम बहन गर्न सक्नुपर्छ । सेयर र समग्रपोर्टफोलियोको उचित ढंगले सुरक्षा गर्न जान्नुपर्छ । लगानीका क्षेत्र, कम्पनी, ब्यवसाय  आदिमा लगानी गरेअनुसार नीतिनियमबद्ध भई आफ्नो पोर्टफोलियोको ब्यवस्थापन गर्न सिक्नुपर्छ । यसको साथसाथै कम्पनीको वित्तीय, गैरवित्तीय आदि पक्षहरूको राम्रोसँग खोजबिन गरी सही समयमा सही निर्णय लिन जान्नुपर्छ । सेयरमा लगानी गर्दा धेरै आधार र सूचकांकहरूमा ध्यान दिनुपर्छ । यसरी सोचीबुझेर, अध्यय गरेर तुलनात्मक विश्लेषणहरूमा केन्द्रित रही सेयरमा लगानीयोग्य कम्पनीहरू छानेर मात्र सेयर खरिद गर्न सकिन्छ । पूँजीबजारमा लगानी गर्दा लगानीको पूर्ण सुरक्षाको प्रत्याभूति वा ग्यारेण्टी नै नभए पनि जोखिमको भार भने कम गर्न सकिन्छ । यसका लागि पोर्टफोलियो ब्यवस्थापनको सहयोग लिनुपर्छ । 

पोर्टफोलियो ब्यवस्थापनको मुख्य उद्देश्य भनेकै लगानीको सिस्टेमेटिक व्यवस्थापन गर्ने र समग्रमा जोखिम कम गर्ने हो । रणनीतिक आधारमा पोर्टफोलियो निर्माण नगरी सेयर किन्नु भनेको अधिक जोखिम निम्त्याउनु हो । त्यसैले सही प्रकिया तय गरी रणनीतिक योजना बनार्इ कुन समयमा सेयर खरिद गर्नु उचित छ, कस्ता सेयरमा लगानी गर्दा बढी लाभदायी हुन्छ, कति बर्ष वा महिनाका लागि होल्ड गर्ने, र कस्तो समयमा नाफा आर्जन गरी सजिलै बजारबाट बाहिरिने, आदि कुराहरूमा गहन अध्ययन गरी, सही बुझार्इ र मानसिकताको साथ बजारमा लागि पर्नु पर्दछ । सबै आवश्यक लगानीको औपचारिकताहरु पूरा गरेपछि अनि समयानुसार बजारमा टिक्नसक्नु नै लगानीकर्ताका लागि चुनौतिको बिषय हुन्छ । 

सेयरबजारको आफ्नै चक्र रहेको छ, जुन सामान्य रुपमा सबैलाई थाहा भएकै कुरा हो । बजार घट्ने र बढ्ने , घटेपछि बढ्ने र बढेपछि घटने । जुन सेयरबजारको प्राकृतिक नियम हो । यसरी घटने चक्र र बढने चक्रमा लगानीकर्ताहरूले समय र परिस्थिति अनुसार सफल निर्णय लिनु पनि चुनौतीपूर्ण छ । यस्ता चुनौतिको सामाना गर्दै लगानीकर्ताहरूले मजबुत मनोबलको साथ घटेको बजारमा सेयर खरिद गरी धैर्यताको साथ होल्ड गरी बढेको बेला आफूले योजनामा स्पष्ट पारेको मूल्यको सीमामा केन्द्रित रही सेयर बेच्नुपर्दछ । बढ्दो बजारमा अर्थात सेयरको बढने चक्र चलिरहेको बेला जस्तो कम्पनीको पनि सेयर मूल्य सोचेको भन्दा बढी बढ्न जान्छ र यो समय भन्ने गरिन्छ।, विद्यार्थी, गृहणी मात्र नभर्इ साधुसन्त समेत सेयरबजारमा लगानी गर्न थाल्छन्, बजारको उत्कर्ष देखेर । यस्ता समयमा सबैभन्दा बढी मानिसको मानसिकतामा प्रभाव पर्दछ । मान्छे होस्, बेहोस गरी, शिवजीको तीन नेत्र भनेजस्तै अत्तालिदै सेयरमा आक्रामक रूपमा ध्यान नै नदिर्इ सेयर खरिद गर्दै जान्छन् । जसका कारण बुल चक्रको समयवधि फेरिनु लगत्तै उसले धेरै वित्तीय समस्याहरू झेल्नुपर्दछ । हो यस्तो प्रकारको अस्थिर इमोसनबाट लगानीकर्ताहरू सधै टाढा बस्नुपर्छ । भावनालार्इ नियन्त्रण गर्नुनै एक असल र सफल लगानीकर्ताको राम्रो गुण हो ।  

सेयरबजारका बाद्शाह वारेन बफेटले भनेका छन्-'अरु डराएको बेला तिमी लोभी बन र अरु लोभी बनेको बेला तिमी डराऊ(Be greedy when other are fearful and be fearful when other are greedy) । जसले स्पष्ट पार्छ कि लगानीकर्ताले सही समयमा प्रदर्शन गर्नुपर्ने मानवीय व्यवहार । तर नेपाली पूँजीबजारमा भने ठयाक्कै यो दर्शनको उल्टो गतिमा कुद्ने गरेको छ ।  त्यही भएर एक सफल लगानीकर्ताहरूले सेयरबजारमा अरू ब्यक्तिहरूको मनस्थिति समेत बुझ्न जरुरी छ । 

यही क्रममा लगानीकर्ताहरूले सेयर लगानीमा जोखिम ब्यवस्थापनको चुनौतिलाई सामना गर्न निम्न कुराहरुमा ध्यान दिन आवश्यक छ:

१.भीडको निर्णय र मानसिकताबाट टाढा रहनुहोस(Avoid Herd Mentality)
सेयरबजारमा विशेषगरी नयाँ लगानीकर्ताहरूले लगानी गर्दा सामान्यतः ब्रोकर कार्यालयमा प्रचलित सल्लाह र भीडभाड र होडबाजीको भरमा गर्ने गर्दछन् । कतिपय लगानीकर्ताहरूले त ब्रोकर कार्यालयको सुझावकै भरमा नजानिकनै सेयर खरिदबिक्री गर्ने गर्दछन् । यसरी लगानी गर्दा अधिक जोखिम र घाटा हुने सम्भावना एकदम धेरै हुने गर्दछ र यस्ता कुराहरूबाट लगानीकर्ता सधै सचेत र टाढा रहनुपर्छ । 

२.सूचनाका आधारमा निर्णय लिनुहोस्(Take Informed Decision)
कुनै पनि सेयरमा लगानीगर्नु भन्दा अगाडि पर्याप्त अनुसन्धान र खोजी गर्न एकदमै जरूरी छ । सबै पक्षहरूले सही ढङ्गले खोजपार्ताल गरेपछि मात्र सेयर किन्ने कि नकिन्ने भन्ने  निर्णय लिनुपर्दछ ।

३.आफूले बुझ्ने ब्यवसायमा मात्र लगानी गर्नुहोस(Invest in Business you understand)
हरेक लगानीकर्ताले सेयरमा पैसा लगाउनुभन्दा अगाडि आफूले जान्ने र बुझ्ने ब्यवसायमा मात्रै लगानी गर्नुपर्छ । सेयरमा भन्दा पनि ब्यवसायमा लगानी गर्नुहोस । आखिरमा ब्यवसायको सुधार, प्रगति वा दुर्गतिकै भरमा सेयर मूल्यांकन हुने गर्दछ ।

४.अनुशासित लगानीको सूत्र पछ्याउनुहोस्(Follow a disciplined investment approach)  
लगानीको पनि आफ्नै अनुशासन हुने गर्दछ । सेयरको तथ्य र विश्लेषणको आधारमा केन्द्रित रही हरेक लगानीकर्ताले लगानी गर्दा अनुशासन, मर्यादा र नीतिनियमहरू पालना गर्नुपर्छ ।

५.पोर्टफोलियोमा विविधिकरण गर्नुहोस्(Create Diversified Portfolio)
सेयरमा विविधताको स्तर प्रत्येक लगानीकर्ताले जोखिम लिने क्षमतामा निर्भर गर्दछ । जोखिमलार्इ न्यूनिकरण गर्ने महत्वपूर्ण औजार भनेकै पोर्टफोलियोमा विविधिकरण गर्नु हो । त्यही भएर हरेक क्षेत्रमा राम्रो र ख्यातिप्राप्त कम्पनीको सेयरमा लगानी गर्दा फाइदामूलक हुन्छ ।

६.योजनाबद्ध रणनीति तयार गर्नुहोस्(Make Strategic Plan)
योजना र सही रणनीतिबिना कुनै काम सफल हुँदैन । सेयरबजारमा पनि हरेक क्षणमा योजना अनुसार चल्न जरूरी छ  र समग्र पोर्टफोलियोको राम्रोसंग रेखदेख गर्न योजनाबद्ध रणनीति तयार गर्नुपर्छ ।
(लेखक सेयरबजारका युवा लगानीकर्ता हुन् ।)