काठमाण्डौ । तपाई पनि पैसा कमाउने विषयमा सोचिरहनु भएको छ भने यसका लागि ठूलो रकम नै चाहिन्छ भन्ने अनिवार्य हुँदैन । सानो रकमलाई सही ढंगले लगानी गरेर पनि धनी बन्न सकिन्छ ।

कमाईका लागि हामीसँग उपलब्ध धेरै विकल्पमध्ये एउटा हो–सेयर बजार । बजारका केही आधारभूत नियममा ध्यान दिएर लगानी गर्ने हो भने धनी बन्ने  सपना धेरै टाढा नहुनसक्छ । 

हामी आज तपाईहरुलाई सेयरमा लगानी गर्ने यस्तो नियम बताउन गइरहेका छौ, जसलाई विश्वमा स्थापित सेयर लगानीकर्ताहरुले समेत पछ्याउँछन् ।

यही नियममा बाँधिएर लगानी गरेका कारण ती व्यक्ति आज सेयरबाट प्राप्त आम्दानीले संसारकै धनीमध्येमा समेटिन सफल बनेका छन् । 

यदि तपाई पनि शेयर बजारबाट राम्रो कमाउन चाहनुहुन्छ भने ८ मनी मन्त्र(पैसा कमाउने सूत्र)मा ध्यान दिनुपर्नेछ, यी ८ गोल्डेन सूत्रले कम समयमा तपाइको सानो लगानी रकमलाई करोडौंमा परिवर्तन गरिदिन सक्छन् । 

हामी आज तपाइहरुलाई यस्ता ८ मन्त्रको बारेमा बताउँछौ, जुन सेयरका बादशाह वारेन बफेट, भारतका चर्चित सेयर लगानीकर्ता राकेश झुनझुनवाला तथा नेपालकै समेत सफल लगानीकर्ताहरुले अपनाउने गर्छन्।

यही सूत्रको प्रयोग गरी लगानी गरेकै कारण ठूला लगानीकर्ताले लाखौंलाई करोडौंमा रुपान्तरण गरिरहेका छन् अर्थात अर्को भाषामा भन्ने हो भने सेयरमा लगानी गरेर मेसिन झै पैसा छापिरहेका छन् । 

आखिर सेयरबाट मालामाल बन्ने त्यस्तो ८ सूत्र के हो त ? हेरौं:

समय आउँछ भनेर नपर्खने 
वारेन बफेट भन्छन् कि मार्केटमा लगानीकर्ताका लागि हर कुनै समय सही समय हुन्छ । मार्केटमा सही समयको प्रतिक्षा गर्ने नाममा समय खेर फाल्नु हँुदैन । यदि कुनै राम्रो कम्पनीको सेयर सस्तो मूल्यमा पाइन्छ भने त्यसमा आँखा चिम्लिएर लगानी गर्दा हुन्छ । जस्तो: नेपालको सेयर बजारको सन्दर्भमा अहिलेको समय सेल लागेको समय हो, यस्तो बेलामा धेरै राम्रा कम्पनीको सेयर समेत सस्तो मूल्यमा बजारमा फालाफाल छ । यो बेला बजारमा प्रवेश गर्ने उपयुक्त अवसर समेत हो । त्यसकारण कुनै निश्चित समयको प्रतिक्षा गर्नुभन्दा बजार वा कम्पनीको अवस्था हेरेर आफूलाई उपयुक्त लागेको सेयरमा आजै लगानी गरिहाल्नुपर्छ ।

अरुलाई नपछ्याउने 
साथीभाई, छरछिमेकका कोही व्यक्तिले सेयरमा लगानी गरेर कुस्त कमाएको देखेर मात्र तपाई पनि लगानी गर्न जाँदै हुनुहुन्छ भने तपाईलाई यस्तो प्रवृतिले हानी मात्र हुनसक्छ । सेयर बजारमा सफल बन्ने एउटै सूत्र हो, तपाईले कसैलाई नपछ्याउने, बरु अरुले तपाईलाई पछ्याउन् । 

मूल्यमा नजानुहोस, भ्यालु हेर्नुहोस 
कुनै पनि स्टकमा लगानी गर्नुअघि यो स्टक राम्रो छ कि छैन, यो राम्रो हुनेछ भन्ने हिसाबले मात्र आँकलन वा विश्लेषण नगर्नुहोस् । धेरै पटक, ५० देखि १०० रुपैयाँ मूल्यको सेयर समेत भविष्यमा गएर अधिक मूल्यवान् हुनसक्छ । थोरै सेयर मूल्य भएर पनि त्यो कम्पनीको प्रर्दशन राम्रो छ त्यसमा लगानी गर्नु उपयुक्त हुन्छ । भारतीय सेयर बजारका ठूला लगानीकर्ता राकेश झुनझुनवाला भन्छन्–‘कि कुनै पनि स्टकमा लगानी गर्नुअघि कम्पनीको प्रर्दशनमा हेर्नुहोस । यदि कम्पनीको प्रर्दशन राम्रो छ भने सो कम्पनीको बजार मूल्य खासै धेरै अर्थ राख्दैन।’

लाभांश दिने कम्पनीमा विश्वास गर्ने 
विज्ञहरुले कुनै पनि कम्पनीको सेयरमा लगानी गर्नुअघि त्यस्ता कम्पनीको लाभांश इतिहास हेर्न आवश्यक हुन्छ । यदि कुनै कम्पनीले नियमित रुपमा लाभांश दिंदैछ भने त्यसको अर्थ हो सो कम्पनीसँग नगदको कुनै कमी छैन । क्यास(नगद) बढ्दै गएको कम्पनीको प्रदर्शन समेत राम्रो हुन्छ । यस्तो अवस्थामा यस्ता कम्पनीको सेयरमा गरिएको लगानीमा तपाईले नसोचेको रिटर्न पाउन संभव हुन्छ । 

कम ऋणमा रहेका कम्पनीको छनौट
लगानी गर्नुअघि कुन कम्पनीको ऋण कम छ भन्ने कुरा पनि हेर्नुपर्छ । जुन कम्पनीमा कर्जा कम हुन्छ, त्यहाँ नगदको बिषयमा कुनै दवाब हुँदैन । 

सबै रकम एकैपटक लगानी 
सेयर बजारमा उतारचढाव स्वभाविक र निरन्तर प्रक्रिया मानिन्छ । यस्तो अवस्थामा सेयरबाट पैसा कमाउने महत्वपूर्ण सूत्र: आफूसँग भएको सबै रकम एकैपटक लगानी नगर्ने । यदि तपाई कुनै कम्पनीको सेयरमा लगानी गर्न चाहनुहुन्छ भने आफूसँग भएको लगानीयोग्य रकमलाई धेरै हिस्सामा बाँड्नुहोस् र स्पष्ट रणनीति बनाएर क्रमैसँग लगानी गर्दै जानुहोस्, बिस्तारै । यस्तो रणनीतिले सेयर बजार घट्दा समेत तपाईले सस्तोमै पाइने सेयर उठाउन सक्नुहुन्छ । तसर्थ पहिला रणनीति बनाउनुहोस्, अनि लगानी गर्नुहोस् ।

लक्ष्यप्रति व्यवहारिक बन्ने
नेपाली बजारमा कतिपय सेयर यस्ता छन्, जसले एक वर्षमा राम्रो रिटर्न दिइनै रहेका छन् । मजबुत कम्पनीको सेयर मूल्यको बढोत्तरी समेत स्थिर ढंगले नै अगाडि बढिरहेको हुन्छ । यस्तो अवस्थामा बजारमा सुरक्षित मानिएको सेयरबाट कम समयमै ठूलो रिटर्नको संभावना कम हुन्छ । तर, यस्तो अवस्थामा जसले धेर्य गर्नसक्छ, उसैले कमाउँछ । 

अफवाहको पछि नलाग्ने
वारेन बफेटको अनुसार सेयरमा लगानी गरेपछि आफूले लगानी गरेको कम्पनीको सेयर मूल्य दैनिकजसो जाँच गर्नु गलत लगानी रणनीति हो । एकपटक सेयर किनेपछि निश्चित अवधिका लागि त्यसलाई छाडिदिनुपर्छ । सेयर बजारमा अफवाह खूबै चल्ने गर्छ । त्यसकारण यस्ता हल्ला वा अफबाहबाट बच्न आवश्यक छ । धेरै नाफाको लालचमा नफस्नुहोस्, यदि तपाईले कुनै कम्पनीमा लगानी गरी १५ देखि २० प्रतिशतसम्मको रिटर्नको संभावना देख्नुहुन्छ भने त्यस्ता कम्पनीमा लगानी गर्न सक्नुहुन्छ । 

एजेन्सीहरुको सहयोगमा

भावानुवाद: निस्ता धमला