-भक्तराज रसाइली
काठमाण्डौ । पूँजी बजारमा लगानी गरेर धेरै लगानीकर्ताहरुले कमाउने र गुमाउने प्रक्रिया चलिरहन्छ । यसलाई नियमित चक्र पनि मानिन्छ । 

नेपालको पूँजी बजारमा विशेषतः मारवाडी समुदाय, जागिरे, व्यापारी लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरुको सक्रियता रहँदै आएको छ। 

सेयर बजारबाट करोडपति भइने भन्ने मान्यतालाई पछ्याउँदै आजकल विद्यार्थी तथा युवाहरुको समेत बजारमा प्रवेश भइरहेको छ । आज हामी सेयर बजारको भीडमा यस्तै केही पात्रलाई प्रस्तुत गर्दैछौ, जसले सानो लगानी गरेर आफ्नो गर्जो टारिरहेका छन् र उनीहरु विद्यार्थी तथा युवाहरुका लागि प्रेरणाको स्रोत समेत बन्नसक्छन् ।

युवा अवस्थामा कुलत र दूव्र्यव्यसनीमा फस्नुभन्दा आर्थिक उपार्जनमा लागेका तिनै युवाहरुको प्रेरणादायी प्रयासले पाठकलाई केही सकारात्मक ऊर्जा मिल्छ भन्ने हाम्रो ठम्याई हो ।

यो भीडमा एक युवा तथा विद्यार्थीको प्रवेश हुन्छ । पशुपति मल्टीपल क्याम्पसबाट भर्खरै बीबीएस चौथो वर्षको परीक्षा दिएर बसेका सेयर बजारमा सक्रिय विद्यार्थी हुन्, कोवित भट्टराई । २३ वर्षीय भट्टराई ताप्लेजुङका स्थायी बासिन्दा हुन् । 

सेयर बजारमा लगानी गरेर नै उनले पढाइ खर्च, खानपिन र कोठाभाडा तिर्दै आएका छन् । 

हाल काठमाण्डौको कालोपुलमा बस्दै आएका उनी बीबीएस दोस्रो वर्षदेखि काठमाण्डौ आएका थिए ।  कलेजसँगै रहेको चिया पसल नजिकै ठूलाबडाले सेयरबारे गरेको वार्तालापले उनलाई बजारप्रति चासो बढाइदिएको थियो । उनले तिनीहरुलाई बुझ्ने प्रयास गर्दा बुझ्दैनौ भन्ने जवाफ आएपछि सेयर बजार बारे सोधखोजमा उनले सक्रियता जनाउन थाले ।

आजभन्दा ३ वर्षअघि उनले ईख लिएर नै पुतलीसडकस्थित एक तालिम केन्द्रमा ७ दिने तालिम लिए । सो तालिम लिएपछि छर्लङ्ग भएका भट्टराईले साथीसँग सापटी ५ हजार सापटी लिएर फरवार्ड लघुवित्तको सेयर भरेको सुनाए । सुरुमा लगानी गरेकै बेला उनलाई नभन्दै भाग्यले समेत साथ दियो र फरवार्डको १० कित्ता सेयर हात पारे । अहिले पनि बोनस बापतको ८ कित्ता सेयर आफूसँग भएको र यो सेयर जीवनकै पहिलो सेयर भएकाले नबेच्ने उनी बताउँछन् ।

दश कित्ता सेयर ३२ सयमा बेचेर साथीको ऋण तिरिसकेपछि बाँकी पैसा उनले विगत १ वर्षदेखि दोस्रो बजारमा समेत लगानी सुरु गरे । सुरुमा उनले दोस्रो बजारमा सानिमा बैंकको ५० कित्ता ३ सय १० प्रतिकित्ताका दरले किनेको विगत कोट्याए ।

सेयर बजारबारे ज्ञान हासिल गरेपछि उनले इच्छुक धेरै साथीहरुलाई बुझाए । यत्तिकैमा आफ्नो साथी शीतल बुढाथोकीसमेतलाई उनैले बजार प्रवेश गराएको बताए । 

विगत ३ वर्षदेखि आइपीओ भरेर पारेका सेयरहरु दोस्रो बजारमा बेचेर पुनः दोस्रो बजारमा नै पुनर्लगानी गरेका उनै भट्टराईले अहिले ५ लाखसम्मको पोर्टफोलियो बनाएका छन् । एउटा विद्यार्थीले सानो लगानीबाट आफ्नो गर्जो टारी छोटो समयमै ५ लाखको पोर्टफोलियो बनाउनु सामान्य कुरा होइन । 

रकम थोरै होला तर बुझ्नुपर्ने कुरा हिजोका दिनमा खाली हात आएका उनले १ हजारदेखिको सेयर यात्रामा ५ लाख पुर्याउनु र बिना जागिर राजधानीजस्तो ठाउँमा जीवन गुजार्दै अध्ययनलाई निरन्तरता दिनु कम चाहिँ पक्कै होइन । 

हालसम्म पनि कतै जागिर नगरी अध्ययन र सेयर बजारको लगानीमा अभ्यस्त भट्टराई भविष्यमा पूँजी बढाउँदै लैजाने योजनामा छन् । प्लस टू अध्ययन गर्दा उनलाई बिदेश जान खुब भूत सवार भएको थियो, तर अहिले सेयर बजारमा प्रवेशपछि बाहिर जाने भूत नै हराइसकेको उनको भनाइ छ।

सेयर बजारमा मनग्यै आम्दानी भएमा कुनै अत्याधुनिक कृषि फार्म वा  व्यवसायमा आफू होमिने र सेयर बजारलाई पार्टटाइमका रुपमा अगाडि बढाउने योजना समेत सुनाए ।

नेप्सेमा सूचीकृत कम्पनीहरुले प्रकाशित गर्ने त्रैमासिक रिपोर्ट, विगत ५ वर्षदेखिको नाफा, पूँजीका बारेमा अध्ययन विश्लेषण गरेर मात्र लगानी गरिरहेका भट्टराईले हालसम्म पनि घाटा बेहोर्नु नपरेको दाबी गरे । सूचनालाई अनिवार्य मेरुदण्ड ठान्ने उनले बजेट, मौद्रिक नीति लगायत सरकारी पहलकदमी बारे पनि चासो लिनुपर्ने बताउँछन् ।

सेयर बजारको यात्रामा उनको थालनी १ हजारबाट सुरु भएको थियो । अहिले लाख पुग्यो र अब करोडको यात्रामा पुगेर अर्बको यात्रासम्म पुग्ने उनको अपेक्षा र दाबी छ ।

सूचना तथा जानकारीका आधारमा मात्र सेयरमा लगानी गर्नुपर्ने भट्टराईको सुझाव छ । लहैलहैमा लागेर लगानी गर्नेको सेयर बजारमा जहाज डूब्ने उनको ठम्याई छ ।

रबिन्द्र भट्टराईलाई आफूले गडफादरका रुपमा लिएको उनको भनाइ छ । 

उनको सेयरमा लगानीलाई क्षमता र धैयर्ताले  नै सक्सेस बनाउने ठम्याइ छ ।

यस्तै, एक अर्का विद्यार्थी हुन् इटहरी ५ सिमरबनाबाट करियर बनाउने क्रममा राजधानी छिरेपछि जीविकोपार्जनका लागि सेयरमा लगानी गरिरहेका दीपक पौडेल । 

उनले दैनिक गुजारा र पढाइ खर्चसमेत सेयरकै लगानीबाट सम्भव भइरहेको बताए ।  स्नातक अध्ययन सकाएर एलएलबी भर्ना हुने तरखरमा रहेका पौडेललाई सरोज भट्टराईले सेयर बजार प्रवेश गराएका थिए । उनै सरोज भट्टराई,  रबिन्द्र भट्टराईका पुस्तकबाट प्रेरित हुँदै डेढ वर्षअघि बजार छिरेका उनले सुरुमा ग्रामीण विकास बैंकको लघुवित्त भर्न सरोज भट्टराईबाट ५ हजार सापटी लिई सुरु गरेका थिए । 

दोस्रो बजारमा चाहिँ अढाई महिना अघि प्रवेश गरेको उनै पौडेलले एक हजारको लगानी अढाई लाख पुर्याइसकेका छन् ।

लगनशीलता र मार्केट अपडेटलाई नै सेयर बजारको सक्सेस मन्त्र ठानेका पौडेल भविष्यमा राम्रो पदमा पुग्ने र सेयरमा गरेको थोरै लगानीलाई  बृहत पूँजी बनाउने उनको धोको छ ।

बुढेसकालको सहारा समेत बनाउन सेयरमा लगानी गरिरहेका उनले अबको ५ वर्षपछि न्यूनतम ६० लाखको पोर्टफोलियो बनाउने लक्ष्य रहेको सुनाए ।

नेपालको सेयर बजारमा बढ्दै गएको युवाहरुको आकर्षणले युवाहरु पनि देश निर्माणका लागि पूँजी निर्माण र आर्थिक गतिविधिमा सक्रिय हुन थालेको देखिन्छ । मोजमस्ती र बिदेश जाने क्रमलाई रोक्दै स्वदेशमा नै आफ्नो भविष्य खोजिरहेका भट्टराई र पौडेलबाट अरुले पनि सिक्नुपर्छ ।

सानो पूँजीबाट नै सेयर बजारमा प्रवेश गर्न सहजै मिल्ने भएकाले समेत नेपालको सेयर बजारको भविष्य उज्जवल देखिन्छ । यी युवाहरुको आँट र पाइलाहरुले सबैलाई प्रेरणा मिलोस् र मुलुकले देखेको समृद्धिको सपना पूरा होस्, हाम्रो पनि शुभकामना ।