नयाँदिल्ली । आजदेखि सन् २०१६ अन्त हुँदैछ । भारतमा यो वर्ष स्टक मार्केट, सुुन, प्रोपर्टी र बैंकको मुद्धती खातामा लगानीले निकै धेरै उतारचढावको सामना गर्नुपर्यो । मानिसहरुले सबैभन्दा धेरै पैसा लगानी गर्ने यी क्षेत्रमा कसले कस्तो प्रदर्शन गरे भन्ने एक रिपोर्ट भारतीय संचारमाध्यमहरुमा छापिएको छ । 

भारतको सेयर बजारको कुरा गर्ने हो भने सेन्सेक्सले २ प्रतिशतको रिटर्न दियो भने निफ्टीले ३ प्रतिशतको रिटर्न दियो । अटो क्षेत्रको सेयरले सबैभन्दा राम्रो रिटर्न दियो । यो क्षेत्रले ११ प्रतिशतसम्म रिटर्न दियो । तर निफ्टी आइटी र फर्मा सेक्टरमा लगानी गर्नेहरुले भने घाटा खानुुपर्यो । 

सेयर बजार खासै उत्साहजनक नभए पनि सुनमा लगानी गर्नेहरु भने मालामाल भए । सन् २०१६ मा सुनमा लगानी गर्ने भारतीयहरुले १४ प्रतिशतको रिटर्न पाए । सन् २०१५ डिसेम्बर ३१ मा भारतमा सुन प्रति १० ग्राम २४ हजार ९ सय ५० भारुमा कारोबार भएको थियो भने ३० डिसेम्बर २०१६ मा यो मूल्य प्रति १० ग्राम २८ हजार ५ सय भारु पुुगेको छ । 

उता, बैंकको मुद्धती निक्षेपमा पैसा राख्नेहरुले पनि खासै कमाएनन् । मुद्धती निक्षेपको रिटर्न सन् २०१६मा घट्यो । २०१५ डिसेम्बरमा भारतीय स्टेट बैंकमा विभिन्न अवधिको एफडीमा ७ देखि ७.२५ प्रतिशतसम्म ब्याज पाएका लगानीकर्ताले अहिले तिनै खातामा पैसा राख्दा ६.५० प्रतिशतदेखि ६.८५ प्रतिशतसम्म मात्र रिटर्न पाउने गरेका छन् । 

प्रोपर्टी सेक्टरलाई आम रुपमा लगानीको हिसाबले सुरक्षित र आकर्षित क्षेत्र मानिन्छ । तर सन् २०१६ मा यो क्षेत्रमा लगानी गर्नेहरु पनि निराश नै बन्नुपर्यो । भारतका अधिकांश ठाउँमा प्रोपर्टी सेक्टरको मूल्य अघिल्लो वर्षको ठाउँमै स्थिर रह्यो, यसको अर्थ हो लगानीकर्तालाई शून्य हात लाग्नु । केही विज्ञहरुले भारतको रियलस्टेट(घर, जग्गा) लगायतको क्षेत्रमा लगानी गर्दा सन् २०१७ मा घाटा व्यहोर्नुपर्ने चेतावनी दिन थालेका छन् ।