काठमाण्डौ । सुरक्षित यात्राका लागि तपाईको सवारी साधनको टायरको अवस्थामा राम्रो हुन आवश्यक हुन्छ । नेपालको एकमात्र गोरखकाली टायर उद्योग बन्द भएको कैयन वर्ष बितिसकेको छ, तर भारतमा टायर उद्योगको सेयरमा जस–जसले लगानी गरे, केही वर्षको अन्तरालमा उनीहरुको आर्थिक अवस्थामा कायापलट भएको छ । तथ्यांकका अनुसार त्यहाँको टायर क्षेत्रको ४ कम्पनीको सेयर मूल्यमा पछिल्लो १५ वर्षको अवधिमा ५ हजार प्रतिशतले वृद्धि भएको छ । आउनुहोस्, कुन कुन कम्पनीमा लगानी गर्नेले कति कमाए सूचि हेरौं:

एकलाखको लगानी, ६ करोडको रिटर्न
टायर निर्माता कम्पनी बालकृष्ण इण्डष्ट्रिज(बीआईएल)को सेयरमा १५ वर्षअघि गरिएको १ लाख रुपैयाँको लगानीले अहिलेसम्म ६ करोड रुपैयाँ दिइसकेको छ । सन् २००२ को नोभेम्बर १५ मा ३ रुपैयाँ ४७ पैसाको सेयरको मूल्य बढेर १७ नोभेम्बर २०१७ मा २ हजार ८३ रुपैयाँ पुगिसकेको छ ।

एमआरएफमै उस्तै मुनाफा
भारतमा सेयरको मूल्यमा सबैभन्दा महंगो एमआरएफ समेत टायर उद्योगको क्षेत्रकै सेयर हो । यो कम्पनीको सेयरमा त झनै ८ हजार १ सय ३२ प्रतिशतको रिटर्न प्राप्त भएको देखिएको भारतीय मिडियाहरुले जनाएका छन् । सन् २००२ १५ नोभेम्बरमा यो कम्पनीको प्रति कित्ता सेयरको मूल्य ८४४ भारु थियो, जुन अहिले बढेर ६९ हजार ४ सय ७७ रुपैयाँको उचाईमा पुगिसकेको छ ।

सियाटमा पनि उस्तै वृद्धि
टिभिएस श्रीचक्र तथा सियाट कम्पनीको सेयरमा समेत उस्तै वृद्धि भएको छ । नोभेम्बर २००२ देखि नोभेम्बर २०१७ को बीचमा यी दुुई सेयरको मूल्यमा क्रमशः ७६७५ र ६१५९ प्रतिशतको वृद्धि भइसकेको देखिएको छ । 

अन्य कम्पनीका लगानीकर्ता पनि मालामाल
गुडइयर इण्डिया, जेके टायर, अपोलो टायर्सका लगानीकर्ता पनि मालामाल भएका छन् । यी तीन कम्पनीका लगानीकर्ताले यो अवधिमा क्रमशः २९९६, २६५८ र १७०१ प्रतिशतको रिटर्न पाइसकेका छन् ।