काठमाण्डौ । मात्र २९ करोबार दिनमा १२० प्रतिशतले सेयर मूल्य बढेपछि शिवम सिमेन्टको सेयर होल्ड गर्ने लगानीकर्ता मालामाल भएका छन् । 

यो कम्पनीको सेयर मूल्यमा उछाल आई बीचको केही समय सुस्ताए पनि पुनः बढ्न थालेको छ । नजानिँदा पारामा यो कम्पनीको मूल्य बढिरहेको छ । 
अप्रील २४ को दिन शिवम सिमेन्टको अन्तिम बिक्री मूल्य प्रतिकित्ता ३०७ रुपैयाँ मात्र थियो । अप्रीलको अन्तिम दिन मूल्य बढेर ३२८ पुगेको यो कम्पनीमा मे महिनामा भने तीव्र बढोत्तरी देखियो । 

यो महिनामा शिवम सिमेन्टको सेयरमा प्राकृृतिक भन्दा बढी कृत्रिम खेल देखिए । कतिपय ब्रोकर र लगानीकर्ताहरुले सुनियोजित ढंगले यो कम्पनीको सेयर मूल्य बढाए । सेयर कर्नरिङको तीव्र खेल भयो(जुन अझै जारी छ), यो विषयले नेपालको सेयर बजारमा कर्नरिङको बहस नै छेडियो। 

केही समूहले गरेको सेयर कर्नरिङको फाइदा लुट्ने लगानीकर्ता समेत देखिए । बढेको मौका छोपेर बिक्री गर्ने र घटेको मौकामा खरीद गरी पुनः बढाएर बिक्री गर्ने खेल समेत राम्रैसँग खेलियो । तीव्र सेयर कर्नरिङ हुँदा समेत यसमा संलग्नहरुमाथि नियामक वा सम्बद्ध निकायले कारबाहीको डण्डा चलाउन नसक्दा उनीहरु समाचार आएपछि केही दिन सुस्ताए पनि पुनः जागे र शिवमको सेयरलाई माथि लैजाने काममा लागि नै रहे । 

गिरोहको यो खेलका फाइदा अरु लगानीकर्तालाई पनि भयो । लामो समयसम्म शिवमको सेयर होल्ड गरेर बसेका लगानीकर्ताहरुले यो अवधिमा १२० प्रतिशतको रिटर्न पाइसकेका छन् । बीचका केही समय उतारचढावबाट गुज्रिएको शिवमको सेयर मूल्य मंगलबार बढेर ६७५ प्रतिकित्ता पुगेको छ ।

यसअघि मे २९ मा ६७९ रुपैयाँ प्रतिकित्ता पुगेको थियो । मे ३० मा घटेर ६६१ रुपैयाँमा सीमित भएको मूल्य यो साताको सुरुवात दिन नै बढेर ६७१ पुग्यो । सोमबार सामान्य घटेर ६५५ मा सीमित शिवम सेयरको मूल्य बढेर मंगलबार ६७५ रुपैयाँको उचाईमा पुगेको हो । 

अप्रील २४ को दिनको मूल्यसँग दाजेर हेर्ने हो भने मंगलबार कायम मूल्य १२० प्रतिशतले बढी हो । अर्थात नडगमगाई शिवमको सेयर होल्ड गर्नेहरुले १२० प्रतिशतले सम्पत्ति बढाएका छन् । 

शिवमबाट २९ वटा कारोबार दिनमै पाएको बम्पर रिटर्नबाट दोश्रो बजारमा लगानी गरी होल्ड गर्नेहरु सधैं मालामाल हुन्छन् भन्ने नजिरको पुनः नवीकरण भएको छ । तर, यसको अर्थ शिवम मूल्य जसरी बढाइयो, त्यो सही थियो(छ) भन्ने चाहि होइन । सेयर कर्नरिङ गरी मूल्य बढाउनु एक गैरकानूनी अभ्यास हो । बजार वा कम्पनीको सेयरको मूल्य प्राकृतिक हिसाबले बढे मात्र त्यो दिगो हुन्छ ।