-हेमन्त बस्याल
पूँजीबजारको एक पक्ष नेपालको सेयर मार्केटको विगत केही महिनाको कारोबारको अवस्थालाई मध्यनजर गर्दा निर्वाचनको समयपछि करिब १४०० अंकको तहलाई परीक्षण गरिरहेको अवस्थामा अर्थमन्त्रीको रुपमा डा. खतिवडालाई ल्याउने संकेत पाएसँगै बजार थप तरङ्गित हुन पुगेको देखिन्छ ।

डा. खतिवडाको विगतको कार्यसम्पादनलाई मध्यनजर गर्दा उनी अर्थतन्त्रमा आउने सानातिना तरङ्गहरुलाई खासै चासो नदिई दीर्घकालीन उद्देश्य कायम गरी ती उद्देश्य प्राप्तिका लागि दीर्घकालीन रणनीति तय गरी अविचलित कार्य सम्पादन गर्ने प्रवृति देखाउँछन् । उनको यस्तो स्वभावलाई कतिपय अर्थविदहरुले उनलाई विश्लेषण गर्दा उनी एकहोरो, अरुको कुरा कम सुन्ने आदि जस्ता बिशेषणबाट उनको आलोचना गर्ने गरेको समेत पाइन्छ । तर, उनी त्यस्तो नभई आफ्नो उद्देश्य र रणनीतिमा अडिग र दीर्घकालीन सोंचका साथ अघि बढ्ने व्यक्तित्व हुन् । तसर्थ अल्पकालीन परिस्थितिमा उनले धेरै समय नखर्ची दीर्घकालमा अर्थव्यवस्थालाई चुस्त बनाउने प्रयत्न गर्दछन् भन्दा अतिशयोक्ति नहोला । 

डा. खतिवडाको कार्यसम्पादनलाई हेर्दा उनी जोखिम पक्षलाई बढी महत्व दिन्छन् । जसले गर्दा कुनै समय उनले गर्ने निर्णयहरुमा परिवर्तनलाई सहजै स्वीकार गर्न नखोज्ने व्यवस्थापकको रुपमा समेत चित्रण गर्न सकिन्छ । उनको यस्तो स्वभावले कहिलेकाही एनलिस्ट प्यारालाइसिसको अवस्था सिर्जना नहोस् भन्ने कुरामा उनी पक्कै पनि सजग र सचेत नै होलान् । 

उनको शालीन स्वभावको विश्लेषण गर्दा विशेष परिस्थितिजन्य अवस्थामा बाहेक उनले आफ्नो धारणालाई बाहिर ल्याइराख्ने र विभिन्न फरक धारका विश्लेषणको विवादमा उनी मुछिन चाहदैनन् । उनी टेक्नोक्र्याट हुन्, तसर्थ राजनीतिक नेतालेजस्तो उत्तेजित अभिव्यक्ति पक्कै पनि उनलाई सुहाउँदैन, तर अबका दिनमा उनी केबल टेक्नोक्र्याट भएर रहन सक्दैनन् । उनले आफूलाई राजनीति र त्यसका अवयवहरुमा घुलाउन सक्नुुपर्दछ । यदि उनी यस कार्यमा सफल रहे भने उनलाई भारतीय पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहसँग तुलना गरेर हेर्न सकिन्छ । जसरी डा. मनमोहन सिंहले ९० को दशकको भारतको नाजुक अर्थतन्त्रलाई पार लगाई विश्व अर्थतन्त्रमा एउटा महाशक्तिको रुपमा पुर्याउन सफल भए ।  जति बेला उनी पीभी नरसिंह रावको सरकारमा अर्थमन्त्री भए, सो समयमा भारतीय वैदेशिक मुद्रा सञ्चिति केबल ११ दिनको आयात धान्न मात्रै पुुग्ने अवस्थामा थियो । भारत–पाकिस्तानबीचको युद्धका कारण दिवालिया हुने अवस्थाको अर्थतन्त्रलाई हालको अवस्थामा ल्याईपुर्याउन भूमिका खेल्ने फाइनान्सियल इञ्जिनियरको रुपमा लिने गरिन्छ । जसको प्रतिफल स्वरुप २००४ देखि २०१४ सम्म दुुई कार्यकाल भारतको प्रधानमन्त्रीको रुपमा रहन सफल भए । 

नेपालको हालको परिस्थितिलाई हेर्दा नेपालको अर्थतन्त्र बित्तीय संकटको अवस्थामा छैन । अर्थतन्त्रका हरेक सूचकहरु खतराको तहभन्दा माथि नै छन् । करिब ११ महिनाको आयात धान्न पुुग्ने वैदेशिक मुद्राको सञ्चिती छ । राजनीतिक स्थिरताको सूत्रपात भएको छ । काम गर्ने जनशक्ति छ । मित्र राष्ट्र तथा अन्य दातृ राष्ट्रसँग सौहाद्रपूर्ण सम्बन्ध छ । राज्यको ढुकुटीमा कुल बजेटको २५ प्रतिशत बढीले खर्च हुन नसकी बचत छ । समस्या छ त केवल इच्छाशक्ति, व्यवस्थापकीय दक्षता, आर्थिक सन्तुलन र दिगो आर्थिक विकासमा । निजी क्षेत्र लगानीका लागि तयार भएर बसेको छ । समस्या केबल बित्तीय प्रणाली व्यवस्थापन र सरकारी संयन्त्रको परिचालनमा देखिएको छ । 

नेपालजस्तो सानो अर्थतन्त्रमा वृद्धि ल्याउन धेरै ठूला आर्थिक गतिविधिबिना आर्थिक समृद्धि संभव छैन भनिनु सरासर गलत तर्क हो । ६ महिनाको अवधिमा कुल शोधानान्तर घाटा ७ अर्बको छ । यदि अपर तामाकोशी आयोजना मात्रै पनि समयमा सम्पन्न गर्नसक्ने हो भने त्यसले प्रत्यक्ष विद्युत आयातमा करिब १५ देखि २० अर्ब बराबरले प्रतिस्थापन गर्न सक्दछ भने अन्य उर्जाको आयात प्रतिस्थापनलाई समेत गणना गर्ने हो भने सो रकम २० देखि २५ अर्बको हुन आउँछ । 

त्यस्तै, सरकार र निजी क्षेत्रले संचालन गरेका अन्य विभिन्न आयोजनाहरु जस्तै ःजलविद्युत, सिमेन्ट, कृषि क्षेत्र लगायतका अन्य उद्योगहरुले उत्पादन थाल्नासाथै शोधानान्तर बचतलाई धनात्मक बनाउन सहज हुनेछ । त्यसमा सरकारको भूमिका भनेको शान्तिसुरक्षाको प्रत्याभूति दिलाउने, अर्थतन्त्रमा सन्तुलन कायम गर्ने कार्य अहम् हुन्छ । फलतः आयोजना समयमै सम्पन्न हुनेछन् । उत्पादन सुरु हुनासाथ त्यसले आयात प्रतिस्थापन गर्नुको साथै थप उत्पादनको निर्यातले विदेशी मुद्रा समेत आर्जन गर्न सकिन्छ । 

अर्को, डा. खतिवडाले तत्कालै गर्नुपर्ने कार्य भनेको दक्षिणकोरिया जस्ता रोजगारीको गन्तव्य मुलुकमा नेपाली कामदारले आर्जन गरेको रकम नेपाल भित्र्याउन उनीहरुको पारिश्रमिक सोझै सोही देशको बैंक खातामा जम्मा गर्ने व्यवस्था गर्ने र दुुई देशका केन्द्रीय बैंकबीचको सम्झौताद्वारा सो रकम सम्बन्धित व्यक्तिको नेपालस्थित बैंक खातामा रियल टाइममा जम्मा हुने व्यवस्था गर्ने र ती कामदारहरुले कामको शिलशिलामा सोही देशमा खर्चने रकमको प्रयोजनका लागि २० देखि ३० प्रतिशत रकम पुल एकाउण्टको रुपमा सोही देशको बैंकमा राख्ने र उनीहरुलाई आवश्यक पर्दाको अवस्थामा खर्च गर्न मिल्ने व्यवस्था गर्ने, जसले गर्दा पसिना बेचेर कमाएको धन नेपालको अर्थतन्त्रमा भित्रिनेछ र तस्करहरु स्वतः बजारबाट विस्थापित हुनेछन् । औपचारिक अर्थतन्त्र चलायमान हुनेछ, अन्यथा हुण्डीको माध्यमबाट नेपाली अर्थतन्त्रमा भित्रिने वैदेशिक मुद्रा तस्करको हातमा पुुग्नेछ भने नेपाल सरकारले प्राप्त गर्ने राजश्व समेत गुम्नेछ ।

बाम गठबन्धनको सरकार बनेसँगै केही लगानीकर्ताहरु बजारप्रति त्रसित बनेको, निर्वाचनको समाप्ति पश्चात सरकारी पूँजीगत खर्च बढ्नसक्ने जनअपेक्षा बमोजिम सरकार क्रियाशील हुन नसक्नु, स्थानीय निकायको बजेट अझै सरकारी ढिकुटीमै(राष्ट्रबैंकको खातामा) थन्केर बस्नुु र विगतको डा. खतिवडाको मौद्रिक नीतिका कारण चम्केका केही व्यवसायीहरुमा खतिवडा फोबियाले काम गर्नु, कर सम्बन्धी अन्यौलता र सरकारको पूँजी बजारप्रतिको स्पष्ट धारणा आइनसक्नु, मुद्रा प्रदायमा आएको असन्तुलनका कारण बैंक वा बित्तीय संस्थाहरुले ब्याजदरमा वृद्धि गर्नु आदि लगायतका कारण पूँजीबजार प्रति सशंकित देखिएका छन् । सरकारले पूर्णता नपाएका कारण सरकारको गति र भविष्य आँकलन गर्न नसक्दा बजार केही हदसम्म तरङ्गित भएको अवस्थामा बजारलाई ढुकेर बसेका केही लगानीकर्ताहरुले खतिवडा फोबियालाई उत्तेजित तवरबाट प्रचार गरिनु र बजारलाई अस्थिर बनाई कमाउने सोंच बनाएर चलेका केही लगानीकर्ताहरुले खेल्ने मौका पाएका छन् । यसमा अर्थमन्त्रीको हैसियतले डा. खतिवडाले तत्कालै नीति तथा रणनीतिहरु निर्धारण गरी सरकारको धारणा सार्वजनिक गर्नुका साथै मातहतका निकायहरुलाई सोही बमोजिम परिचालित गर्न आवश्यक छ ।

मौद्रिक अर्थशास्त्री डा. खतिवडाको अर्थमन्त्रीको हैसियतले कार्यसम्पादनमा मुख्य चुनौति भनेको आर्थिक तथा मौद्रिक नीतिको सीमाहरुको पहिचान, ती सीमाहरुको स्पष्ट सन्तुलन कार्यसम्पादनमा ल्याउनु नै हो । यदि आर्थिक नीति तय गर्दा उनी मौद्रिक नीतिका अवयवहरुबाट प्रभावित हुन चाहे र केन्द्रीय बैंकको कार्यलाई आर्थिक नीतिबाटै सम्बोधन गर्ने प्रयत्न गरे भने अर्को एक कार्यकाल पनि नेपालले आर्थिक वृद्धिमा फड्को मार्न असंभव रहनेछ । यो कुरालाई मध्यनजर गर्दै बित्तीय व्यवस्था सन्तुलित पार्ने गरी लगानीको वातावरण सिर्जना गर्दै रोजगारी र राष्ट्रिय कुल उत्पादनमा सहयोग पुुग्ने नीति सरकारले अवलम्बन गर्न सक्नुुपर्दछ । अबको दिनमा सरकारले स्थापित व्यवसाय आफूले गर्ने नभई ती व्यवसाय संचालनका लागि निजी क्षेत्रलाई हस्तान्तरण गर्दै नयाँ भेञ्चरहरु जस्तै, जलाशययुक्त विद्युत आयोजना, खनिज पदार्थ तथा पेट्रोलियम पदार्थको उत्खनन्, अनुसन्धान तथा अन्वेषण कार्यहरुमा निजी क्षेत्रको सहकार्यमा अघि बढ्नुपर्ने हुन्छ । विगतको जस्तो संस्थानहरु आफैं चलाउने र घाटामा भएका संस्थानहरुलाई मात्रै निजीकरण नगरी नाफामा भएका संस्थानहरुको समेत निश्चित हिस्सा स्वदेशी र विदेशी लगानीकर्ताहरुलाई बिक्री गरी त्यसबाट आएको रकमबाट नयाँ सरकारी कम्पनीहरुको स्थापना गर्दै लगिनुपर्दछ, जसले गर्दा ठूला तथा जोखिमयुक्त क्षेत्र थप लगानीको वातावरण बन्दछ भने स्थापित व्यवसायमा निजी क्षेत्रले व्यवसायिक दक्षता प्रयोग गरी थप उत्पादकत्वमा वृद्धि ल्याउनसक्छ ।

ओली नेतृत्वको सरकारको प्रमुख एजेण्डा आर्थिक वृद्धि र समृद्धि भनिएको अवस्थामा बाम गठबन्धन समेत पुरातन कम्युनिष्ट नीतिलाई अवलम्बन गरी अगाडि बढ्ने अवस्थामा सरकारमा आसीन दलहरु छैनन् । पूँजीबजारको विकास र बिस्तारबिना थप लगानी वृद्धि असंभवप्राय छ र लगानी वृद्धिबिना आर्थिक समृद्धिको परिकल्पना समेत गर्न नसकिने हुँदा प्रधानमन्त्री केपी ओली, अर्थमन्त्री डा. युवराज खतिवडा पूँजी बजारको वृति र विकासको योजना नबनाई धरै छैन भन्ने कुरामा विश्वस्त छन् । तर, विगतमा जस्तो बजारमा सेयर बिक्री गरी घरजग्गा र घरजग्गा बिक्री गरी सेयर वा गाडी खरीद गर्ने अवस्था हुन भने पक्कै दिने छैनन् । जुन कुरा अर्थमन्त्रीको भनाईबाट पनि स्पष्ट झल्किसकेको छ । अबको अर्थतन्त्र भनेको सेयर तथा घरजग्गामा पैसा घुम्ने नभई ती क्षेत्रबाट कमाएको पैसा समेत उत्पादनमूलक व्यवसायमा लगाई त्यसबाट समग्र आर्थिक वृद्धि हासिल गर्न हुनेछ, जसले समग्र पूँजीबजारको चौडाई र गहिराईमा समेत वृद्धि भई बजारमा थप पूँजीको माग र पूर्तिलाई सन्तुलन प्रदान गर्ने हुनेछ । 

लगानीकर्ताले यो समयलाई यसरी बुुझ्नुुपर्दछ कि गमलामा लगाइएको बोटलाई अब खुल्ला मलिलो मैदानमा रोपिएको छ । रुखको जरा मैदानमा प्रवेश नगरुञ्जेल रुखका पात ओइलिए भन्दैमा रुख मर्ने हो कि भनेर त्रसित हुनुुभन्दा परिस्थितिगत सम्वेगलाई नियन्त्रणमा लिई लगानीको व्यवहार प्रस्तुत गर्नुपर्दछ । साथै, सो रुखलाई मलजल गरी धेरै फल लाग्ने अवस्थामा पुर्याउने मालीको कार्यभारको प्रमुख जिम्मेवारी चाहि डा. खतिवडाको रहन्छ ।
(लेखक लगानी तथा जोखिम बिश्लेषक हुन्।)